पाउलो डिबाला र इटालीका पूर्व कप्तानलाई कोरोना भाइरसको संक्रमण

इटालियन सिरी ए फुटबल क्लब युभेन्टस तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका स्टार स्ट्राइकर पाउलो डिबालालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

डिबालासँगै इटालीको राष्ट्रिय टिमका पूर्व कप्तान पाओलो माल्दिनीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।

डिबालाले इन्स्टाग्राम मार्फत आफू र प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको तर स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका हुन् ।

२६ वर्षका डिबालाले लेखेका छन्, ‘ओरिएना र म दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । खुशीको कुरा हामी राम्रो अवस्थामा छौँ ।’

हाल सिरी ए क्लब एसी मिलानका प्राविधिक निर्देशक रहेका माल्दिनी र उनका छोरा डानिएललाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

दुवैजनाको स्वास्थ्य अवस्था राम्रो रहेको एसी मिलानले जारी गरेको वक्तव्यमा उल्लेख छ । १८ वर्षका डानिएल माल्दिनी एसी मिलानबाट खेल्नका लागि प्रशिक्षणमा थिए ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्