कोरोना महामारी, तीन दिनमा एक लाख संक्रमित थपिए

कोरोना भाइरस संक्रमतिको संख्या विश्वभर तीन लाख नाघ्यो

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै १३ हजार पुगेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा १२ हजार ९७३ जनाको मृत्यु भएको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङ्ग (सिएसएसई), जोन हप्किन्स विश्वविद्यालयले जनाएको हो ।

चीन बाहिर १० हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण हुने देशहरु इटाली, स्पेन, अमेरिका, जर्मनी, इरान र फ्रान्स हुन् । कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी हुने देश अहिलेसम्म चीन रहेको छ ।

तर यसका कारण इटालीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा चार हजार ८२५ जनाको मृत्यु भएको छ ।

पछिल्लो तीन दिन भित्रमा विश्वमा कोरोना संक्रमितको संख्या एक लाखले बढेको हो । अहिलेसम्म १६० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चैत ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्