ग्यासको आपूर्ति सहज बनाउन काठमाडौँका विभिन्न स्थानमा अतिरिक्त डिपो

काठमाडौँ – कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएसँगै नेपालमा पनि संक्रमण फैलिने जोखिम उच्च भएपछि अत्यावश्यकीय सामग्रीको माग बढेको छ ।

मानिसहरुले ग्याससहितका सामग्रीहरु जोहो गर्न थालेपछि माग बढ्दा अभाव सिर्जना भएको छ । तर नेपाल आयल निमगले आइतबारदेखि काठमाडौँका विभिन्न स्थानमा खाना पकाउने ग्यासका अतिरिक्त डिपोहरुबाट ग्यास वितरण गर्ने भएको छ ।

एलपी ग्यास उद्योगसँगको सहकार्यमा निगमले निम्न तथा मध्यम वर्गका उपभोक्तालाई राहत दिन भन्दै अतिरिक्त डिपो सञ्चालन गर्न लागेको हो । उच्च तथा उच्च मध्यम वर्गका उपभोक्ताले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूलो संख्यामा ग्यास सञ्चित गर्दा बजारमा अभाव सिर्जना भएको निगमले जनाएको छ ।

आइतबार बिहान १० देखि बेलुका पाँच बजेसम्म विभिन्न २२ कम्पनीका ग्यास सिलिन्डरहरु वितरण गरिने भएको हो । दोब्बर परिमाणमा ग्यासको आपूर्ति गरेको निगमले जनाएको छ ।

साबिकका डिपो, डिलर र बिक्री केन्द्र यथावत राखी अत्यावश्यक परेकाहरुलाई राहत दिनका लागि नयाँ बिक्री केन्द्रहरु तोकिएको निगमको भनाई छ । तोकिएका केन्द्रबाट उपभोक्ताले खाली सिलिन्डर लगेर तत्काल भरिएको नयाँ सिलिन्डर लैजान सक्ने जनाइएको छ ।

उपत्यकामा ग्यास वितरण गर्ने उद्योगका लागि भनेर ३८ बुलेट ग्यास शनिबार ल्याइएको निगमले जनाएको छ।

विभिन्न १८ उद्योगका ग्यास वितरणका लागि नयाँ बिक्री केन्द्र तोकिएको हो । नेपाल ग्यास अनामनगर स्टोर, बालाजुमा रहेको बिएमसी कर्नर र सातदोबाटोको एसएन स्टोर, सगर र चण्डी ग्यास जडिबुटीको बिक्री डिपो, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको कालिमाटीमा रहेको केन्द्रीय कार्यालय र जडिबुटीमा रहेको गोदाम, ओम ग्यास थलीमा रहेको आदर्श स्टोर र नैकापमा रहेको उत्सव खड्का स्टोरबाट बिक्री हुने व्यवस्था छ ।

यस्तै बाबा, श्री र लुम्बिनी ग्यास कपनमा रहेको भद्रा फ्यूल सेन्टर र धुम्बाराहीमा रहेको इलाइट सिल, एचपी ग्यास असिम किचेन एण्ड ग्यास सप्लायर्स, सिद्धार्थ ग्यास इमाडोलमा रहेको केसी एलपी ग्यास सप्लायर्स, श्रीमाया ग्यास सतुंगलस्थित डिपो, लोकप्रिय ग्यास नैकापमा रहेको भान्जा ट्रेडर्स, राजधानी ग्यास सीतापाइलास्थित बिक्री डिपो, सूर्य ग्यास जगातीमा रहेको जोशी भीमसेन स्टोर्स, गीत ग्यास धुम्बाराहीमा रहेको टोयोटा सोरुम अघि, हिमाल ग्यास भगवती बहालमा रहेको प्रयास ट्रेडर्स एण्ड सप्लायर्स र मनहरा कागेश्वरीमा रहेको कुमार स्टोर्स, भानु ग्यास गोंगबुस्थित लीला ग्यास डिपोबाट बिक्री गरिने छ ।

यस्तै एभरेस्ट र सुगम ग्यास सिफलस्थित ग्यास एण्ड अक्सिजन ट्रेड तथा श्रीराम हरिसिद्धिमा रहेको सेल्स डिपोबाट बिक्रीको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्