कोरोनाको सकारात्मक प्रभाव

कोरोना संक्रमण प्रकृतिका लागि बरदान

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जनजीवन विश्वभर प्रभावित भएको छ । लकडाउन भएका क्षेत्रमा मानिसहरु घरबाटै काम गरिरहेका छन् भने बजार बन्द छन् ।

अत्यावश्यक बाहेकका कामका लागि मानिसलाई घर बाहिर ननिस्कन भनिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर प्रभाव परेको छ । तर कोरोना भाइरसका कारण मानवीय गतिविधि घर भित्रै सीमित हुँदा वातावरणमा भने सकारात्मक प्रभाव परेको छ ।

समुद्री किनार तथा ठूला पर्यटकीय गन्तव्यहरु सुनसान हुँदा पानी संग्लिएको छ भने जलचरहरु स्वतन्त्र रुपमा विचरण गर्न पाएका छन् ।
यसको ज्वलन्त उदहारण बनेको छ भेनिस क्यानल (भेनिसमा रहेको पानी सप्लाइ गर्ने क्यानल) ।

मानवीय गतिविधि घर भित्रै सीमित हुँदा भेनिस क्यानलको पानी स्वच्छ बनेको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुले भेनिसको पानी यति सफा पहिलोपटक देखेको बताएका हुन् । भेनिसका बासिन्दा सर्गुइ मिचचेन्कले भनेका छन्, ‘क्यानलको पानी स्पष्ट रुपमा सफा देखिएको छ । पानी निकै स्थीर छ । डुंगाहरु छैनन्, ट्राफिक छैन । पानी वास्तवमै सफा भएको छ ।’

त्यहाँ डल्फिन, माछासहितका जलचरको गतिविधि बिस्तारित भएको छ । पछिल्लो केही दशक यता पहिलोपटक माछाका हुलहरु किनारसम्मै स्वतन्त्र रुपमा आउन पाएका छन् । ठूलो आकारका क्रुज सिप तथा कार्गो सिपहरु बन्द हुँदा समुद्री जनावरको जीवन स्वतन्त्र भएको हो ।

यस्तै पर्यटकीय क्षेत्रहरुमा मानवीय गतिविधि कम भएपछि जंगली जनावर तथा पक्षीहरु स्वतन्त्र रुपमा विचरण गर्न थालेका छन् । कतिपय चरा तथा साना जनावरहरु सुनसान शहरका सडकमा पनि देखिएका छन् । कोरोना भाइरसको महामारीका कारण वातावरणमा परेको यो पक्कै पनि एक मात्र सकारात्मक प्रभाव हो ।

विश्वका अधिकांश शहरहरु खाली भएका छन् । सवारी साधनको प्रयोग लगभग शून्य जस्तै छ । उद्योगहरु बन्द भएका छन् । अधिकांश उडानहरु स्थगित भएका छन् । यसले वातावरणमा रहँदै आएको दबाब अति कम भएको छ । पानीसँगै हावा पनि सफा भएको छ।

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासा र युरोपियन स्पेस एजेन्सीले लिएको स्याटेलाइट तस्बिरमा चीनमा कोरोना भाइरसको महामारीपछि वायु प्रदुषण कम भएको देखिएको छ । चीनका अधिकांश शहरहरु लकडाउन भएपछि त्यहाँको वायुमण्डलमा निट्रोजेन डाइअक्साइडको मात्रा कम भएको देखिएको हो ।

यस्तै प्रभाव कोरोनाका कारण अति प्रभावित भएको इटालीको उत्तरी क्षेत्रमा पनि देखिएको छ । यस्तै अमेरिकाको न्यूयोर्कको वायुमण्डलमा पनि कार्बनडाइअक्साइडको उत्सर्जन कम भएको छ । कोलम्बिया विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार न्यूर्योकमा यो हप्ता ट्राफिकको मात्रा ३५ प्रतिशतले कम हुँदा कार्बनडाइअक्साइडको उत्सर्जन पाँचदेखि १० प्रतिशतले कम भएको छ ।

तर यो वातावरणीय सकारात्मक प्रभाव भने छोटो अवधिको हो । चीनको हुबेई प्रान्तका उद्योगहरु यो हप्तादेखि सञ्चालनमा आउन सुरु भएका छन् । कोरोना भाइरसको नयाँ संक्रमण नदेखिएपछि हुबेईसहितका शहरमा बन्द रहेका उद्योगहरु खुल्ने क्रम सुरु भएको हो । तर पनि मानवीय गतविधि सीमित हुँदा वातावरण भने राहत मिलेको देखिएको छ ।

कोरोना भाइरसको महामारी विश्वले अहिले भोगिरहेको तत्कालको ठूलो समस्या रहेको तर यो संकट केही समयमा टर्ने भए पनि जलवायु परिवर्तन विश्वले खेपिरहेको दीर्घकालीन महामारी रहेको विज्ञले बताएका छन् ।

कोरोनाको संक्रमण सकिएसँगै जलवायु परिवर्तनको प्रभाव कम गर्नका लागि वातावरणमा मानवीय गतिविधिको प्रभाव सीमित बनाउन विश्व समुदाय लाग्नु पर्नेमा वातावरणविदले जोड दिएका छन् ।

(यो सामग्री द गार्डियन, बिबिसी, फ्रान्स २४, फर्च्युनसहितका अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको हो ।)

चैत ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्