भारतकाे क्वारेन्टाइनबाट भागेका दुई नेपालीका लागि नाकामा कडा निगरानी

फाइल फोटो।

नेपालगञ्ज – नेपालगञ्ज नाकामा प्रहरीले दुईजना नेपालीको कडा निगरानी गरिरहेको छ । दाङका विष्णु चौधरी र भरत चौधरी नाकाबाट भित्रन सक्ने भन्दै प्रहरीले निगरानी गरेको हो ।

चौधरीद्वय भारतको केरला क्वारेन्टाइनबाट भागेको प्रहरीलाई सूचना आएको छ । केरलाबाट उनीहरु कुन नाकाबाट नेपाल प्रवेश गरे खुल्न सकेको छैन ।

प्रहरीले कृष्णनगर र रुपैडिहा नाकामा निगरानी गरेको छ । कोरोना आशंकित भएकाले उनीहरुलाई केरला क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरु त्यहाँबाट भागेर हिडेको नेपालमा सूचना आएको छ । प्रहरीले नाकामा फेला परेमा क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले उनीहरु यो नाकाबाट नआएको बताए ।

नेपालगञ्ज नाकाबाट दैनिक एक हजार मानिस नेपाल प्रवेश गरिरहेका छन् । प्रवेश गर्नेमा प्रायः नेपालीहरु नै छन् । भारतको विभिन्न ठाउँमा काम गर्न गएका उनीहरु उद्योग, पसल बन्द भएपछि फिर्ता भइरहेका छन् ।

नाकाबाट ठूलो संख्या फिर्ता भइरहदा यहाँ तापक्रम नाप्नेमात्रै काम भइरहेको छ । तत्काल ज्वरो नदेखिएकाहरु मज्जाले आउन पाइरहेका छन् । संक्रमित ठाउँबाट आएका छन् भने तत्काल ज्वरो नदेखिए पनि उनीहरु जोखिम रहने भएकाले केही दिन क्वारेन्टाइनमा राख्नु पर्ने भेरी अस्पताल, नेपालगञ्जका डाक्टर राजन पाण्डे बताउँछन् । यो नाकामा त्यस्तो हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको टास्कफोर्सले आइसोलेसन र क्वारेन्टाइनका लागि खाली ठाउँ अस्पतालको व्यवस्था गर्ने प्रयास गरिरहेका छन् । खजुराको क्यान्सर अस्पताल, आइएनएफको साइनिङ अस्पताल, लायन्सको डेन्टल अस्पताललाई हेरिएको छ । भेरी अस्पतालमा ६ वटा बेड आइलोसेनका लागि छुट्याइएको छ ।

भेरीले ओपिडी बन्द गरेर फिबर क्लिनिक चलाइरहेको छ । भेरीलाई नै आइसोलेन बनाउने कि भन्ने छलफल पनि चलेको छ । लायन्सको डेन्टल अस्पताललाई खाली गरेर ४० वटा बेटको आइसोलेसन कक्ष बनाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

नेपालगञ्जमा अत्यावश्यक बाहेक पसल बन्द गर्ने, उद्योग धन्दा बन्द गर्ने निर्णय गरिएको छ । भारतबाट आउनेबाट नै जोखिम बढेकाले नाका बन्द गर्नुपर्ने दबाब बढिरहेको छ ।

चैत ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्