मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ

सांकेतिक तस्बिर।

जनकपुरधाम – जनकपुरधाममा कालोबाजारी गर्ने चारजना पक्राउ परेका छन् । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएपछि कालोबाजारी गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ ।

जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाबाट संयुक्त रुपमा खटेको अनुगमन टोलीले पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित सुस्मिता मेडिकलबाट सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ८ का संजय साह, सम्पूर्ण मेडिकलबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का ३२ वर्षीय संजय साहलाई मास्कको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

त्यस्तै जनकपुरधाम ८ भमरपुरा चौक स्थित अटल फार्मेसीबाट लक्ष्मीनिया गाउँपालिका वडा नं. ३ का २६ वर्षीय अनिल यादव र महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ६ का ३० वर्षीय प्रभन्स चौधरीलाई सेनिटाइजरको कालोबाजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।

चैत ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्