प्रियजनलाई नभेट्नू, स्वास्थ्य प्रणाली नै ‘ध्वस्त’ हुन सक्छ: बेलायती प्रधानमन्त्री

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मदर्स डेमा आफ्ना प्रियजनसँग भेटघाट नर्गन सुझाव दिएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिएका बेला हुने भेटघाटका कारण संक्रमण थप उच्च हुन सक्ने र त्यसपछिको अवस्था नेशनल हेल्थ सर्भिस (एनएचएस) थेग्न नसक्ने चेतावनी प्रधानमन्त्री जोन्सनले दिएका हुन् । बेलायतमा आइतबार मदर्श डे (मातृ दिवस) मनाईँदै छ ।

उनले सबै नागरिकलाई सुझाव दिए अनुसार सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । उनले बहादुरीपूर्ण तथा एकीकृत प्रयासका लागि सबै नागरिकसँग आग्रह गरेका छन् ।

बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म २३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बेलायतमा पाँच हजार नाघेको छ । एनएचएसले बेलायतका उच्च जोखिममा रहेका १५ लाख मानिसलाई सचेत बनाउन पत्र पठाउने तयारी पनि गरेको छ ।

उच्च जोखिमका रहेका ती व्यक्तिहरुले एनएचएसले १२ हप्तासम्म बाहिर ननिस्कन दिइएको सुझावसहितको पत्र वा म्यासेज प्राप्त गर्ने छन् ।

अंग प्रत्यारोपण गरेका, स्वासप्रस्वास सम्बन्धी गम्भीर समस्या भएका, क्यान्सरका बिरामी, रक्तचाप तथा बोनम्यारोका समस्या भएकाहरु उच्च जोखिमको सूचिमा छन् । प्रधानमन्त्री जोन्सनले शनिबार बेलुका राष्ट्रका नाममा गरेको सम्बोधनमा भनेका छन्, ‘संक्रमितको संख्या चिन्तायुक्त छ, बढीरहेको छ ।’

उनले भने, ‘इटालीको स्वास्थ्य प्रणाली अति राम्रो थियो । तर पनि त्यहाँ डाक्टर तथा नर्सको माग अति बढेको छ । कोरोनाका मृत्यु हुनेको संख्या त्यहाँ अत्याधिक भएको छ । जबसम्म हामीले एक भएर काम गर्दैनौँ, तबसम्म संक्रमण दर रोकिने छैन । र एनएचएस पनि समस्यामा आउने छ।’

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू