विमानस्थलमा आइतबार भेटिएका दुई विदेशी जो घर फर्कन पाएनन्

तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- बेलायती लिसा अझै पाँच साता नेपाल बस्न चाहन्थिन्। अस्ट्रेलियामा रहेका आफ्ना प्रेमी र साथीसँग त्यहाँ एक साता बिताएर २१ दिनअघि मात्र उनी त्यहाँबाट नेपाल आइपुगेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चैत ९ देखि १८ गतेसम्म नेपाल आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरिएको घोषणा गरेसँगै लिसामा छटपटी सुरु भयो।

‘हुन त यो दुई साता (९ दिन) को मात्र कुरा थियो। तर, दुई सातापछि खुलिहाल्छ भन्ने निश्चित थिएन। कोरोनाका कारण चीनमा ३ महिना अन्तर्राष्ट्रिय उडान बन्द छ’, आइतबार त्रिभुवन विमानस्थलमा घर फर्कन पुगेकी लिसा भन्दै थिइन्, ‘नेपालका रेस्टुरेन्ट र होटलहरु बन्द हुन थालेका छन्। यस्तै अवस्था लामो समय कायम रहे निकै अप्ठेरो हुन्छ। बरु लक डाउन नै भएपनि आफ्नै देशमा गएर बस्नु बेस। मेरो परिवारले पनि आइदियोस् भन्ने चाहनु भएको छ।’  तर, कतार एयरवेजमार्फत दोहा हुँदै लन्डन पुग्ने उनको योजना सफल हुन सकेन। ‘फ्लाइट क्यान्सिल’ भएपछि उनी निराश भइन्।

यस्तै अवस्था थियो अमेरिकी टिम मन्सुरको पनि। दुई साताअघि ११ जनाको टोलीसाथ नेपाल आइपुगेका मन्सुरको स्वदेश फर्कने टिकट अप्रिल ३ तारिखको थियो। अमेरिकाले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन भनेपछि उनले १३ सय डलर थप खर्च गरेर मे २४ तारिखका लागि टिकट ‘सारे’।

उनका टोलीका केही साथीहरु शनिबार नै स्वदेश फर्किए। तर सबैले मे २१ तारिखको टिकट पाएनन्। केहीको  टिकट २४ मेका लागि तय भयो। छुटेका साथीहरुसहित उनी आइतबार त्रिभुवन विमानस्थल पुगेका थिए, टिकट पाउने आशासहित। तर कसैले पनि टिकट पाएनन्। ‘ म त अमेरिकामा एक्लै बस्छु। तर मेरो टोलीका केही साथीहरु परिवारसँग भेट्न चाहन्थे। उनिहरुका लागि मात्रै भएपनि टिकटको प्रयाश गर्‍यौँ तर सफल हुन सकेन’, निराश मन्सुर भन्दै थिए।

मन्सुरलाई एउटै कुराको चिन्ता छ, नेपालमा संकट आउला र कुनै हिंसात्मक गतिविधि होला। ‘अब केही साता यतै घुमेर बस्ने हो। सावधानी अपनाएपछि कोरोनासँग पनि जुधिएला। तर यहाँ आपूर्ति बन्द भएर हिंसा भयो भने के होला भन्ने मात्र चिन्ता छ’, मन्सुर भन्दै थिए। करिब २०/२५ को संख्यामा खासगरि युरोप र अमेरिकाका यात्रुहरु आइतबार दिनभर त्रिभुवन विमानस्थलमा तनावमा देखिन्थे। सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापानबाट आउने  र ती मुलुकका ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई शुक्रबार मध्यरातदेखि लागू हुने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि यात्रु बाहिर लैजान, मालबाहक जहाज, उद्धार र हवाइ एम्बुलेन्सजस्ता विशेष संकटकालीन अवस्थामा भने उडान प्रभावित नहुने उल्लेख छ।

 

चैत ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्