कैलाली–कञ्चनपुरमा कोरोनाको सन्त्रास: सीमा नाकादेखि बजार व्यवसायसमेत बन्द

धनगढी– भारतमा कोरोना भाइरस (काेभिड–१९) संक्रमण बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा संक्रमण रोक्न सीमा नाका र बजारसमेत बन्द गर्ने सम्मका निर्णय गरिएको छ।

पछिल्ला केहीदिन यता भारतमा रोजगारी गरिरहेका नेपालीहरु कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकाबाट दैनिक हजारौंको संख्यामा नेपाल भित्रिएपछि कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै विभिन्न सावधानी अपनाउन थालिएकाे हाे।

कञ्चनपुरको गड्डाचौकी नाका चैत ११ गतेदेखि पूर्णरुपमा बन्द


कञ्चनपुरको गड्डाचौकी नाका मंगलबार (चैत ११ गते)देखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार उक्त निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको अध्यक्षतामा आइतबार बसेको बैठकले गड्डाचौकी नाका चैत ११ गते बिहान ७ बजेदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय भएको बताए।

प्रशासनले आज राति १२ बजेपछि लागु हुने गरी भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक यातायात, सम्पूर्ण बजार, पसल,व्यवसाय, उद्योग र कलकारखाना पनि बन्द गर्ने निर्णय गरेको छ।

कैलाली उद्योग वाणिज्य संघद्वारा व्यवसाय बन्द गर्न आह्वान


कैलाली उद्योग वाणिज्य संघले अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्न आह्वान गरेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न संघले आइतबार सबै व्यवसायीलाई आह्वान गरेको हो।

उद्योग वाणिज्य संघका महासचिव ओम विष्टद्वारा जारी सूचनामा बजार व्यवसाय बन्द गरी कोरोनाविरुद्धको लडाईमा सहयोग गर्न अपिल गरिएको छ। तर अत्याआवश्यक वस्तु खाद्यान्न र औषधीको आपूर्ती भने नरोक्न आग्रह गरिएको छ।

अत्तरिया बजार सोमबारदेखि बन्द


कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया बजार सोमबारदेखि बन्द हुने भएको छ। गोदावरी नगरपालिकाको कार्यालयमा आइतबार बसेको सर्वपक्षिय बैठकले भोलि अर्थात सोमबारबाट लागु हुने गरी अत्तरिया बजारलाई बन्द गर्ने निर्णय गरेको हो।

बजार क्षेत्रमा रहेका अत्यावश्यक पसलहरु बाहेकका अन्य सबै व्यवसाय भोलिदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताए।

अत्यावश्यक व्यवसाय खाद्यान्न, होटल, ग्यास र मेडिकल सेवा बन्द नहुने उनले बताए।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्