‘सुरक्षित भइन्छ कि भनेर गाउँ आएको, गाउँ जानेको लर्को हेर्दा झनै असुरक्षित लाग्यो’

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चार सय क्वारेन्टाइन निर्माण थालिएको छ। वीरेन्द्रनगर नगरपालिमा रहेको खुल्लामञ्चमा क्वारेन्टाइन निर्माण थालिएकाे हाे।

शुक्रबार बसेको कर्णाली प्रदेश विपत् व्यस्थापन परिषद् र कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यान्वयन समितिको सयुक्त बैठकले गरेको निर्णय अनुसार खुल्लामञ्चमा क्वारेन्टाइन निर्माण गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री तथा विपत् व्यवस्थापन कार्यान्वयन समितिका संयोजक दल रावलले जानकारी दिए।

उनले हालका लागि चार सय बेड क्षमताको मात्रै क्वारेन्टाइन निर्माण गर्ने र संक्रमणको अवस्था हेरी थप ६ सयसमेत निर्माण गर्ने बताए। मध्यपश्चिमाञ्चल विश्वविद्यलयको केन्द्रीय कार्यालयको क्षेत्रमा अवस्था हेरी थप ६ सय क्वारेन्टाइन्को निर्माण गर्ने तयारी गरेको उनले बताए। जुनसुकै क्षेत्रबाट आएको भए पनि कर्णालीमा प्रवेश गर्नेहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उनले बताए।

‘समितिको आज बसेको बैठकले वडा स्तरसम्म क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ’, उनले भने, ‘आजै पालिका तथा वडा स्तरसम्म निर्देशन गरीसकेका छौँ।’

 

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पालिका र वडास्तरको समिति निर्माण गरी गाउँमा समेत क्वारेन्टाइन निर्माण गर्न अनुरोध गरिएको मन्त्री रावलले बताए। गाउँमा संक्रमण देखिएको खण्डमा वीरेन्द्रनगरमा निर्माण गरिएका क्वारेन्टाइनमा समेत राखिने उनले बताए।

रावलका अनुसार आइतबार बसेको कर्णाली प्रदेश विपत् व्यवस्थापन उच्चस्तरिय समितिको बैठकले क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनाका पितृनापति सरोजप्रताप रानाको संयोजकत्वमा दिएको छ।

यातायात व्यवस्थाका लागि पूर्वाधार उपसचिवको संयोजकत्व, मेडिकल सामाग्रीको व्यवस्थाको लागि सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्व र शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयोजकत्वमा उपसमिति गठन गरिएको उनले बताए।

कोरोनाको त्रासले दैनिक ६ हजार कर्णालीबासी फर्किए


कोरोनाको त्रासले दैनिक ६ हजारभन्दा बढी नागरिक कर्णाली भित्रिएका छन्। भारतमा रोजगारीको शिलशिलामा गएका वा अध्ययनका लागि कर्णाली छोडेका करिब ६ हजारभन्दा बढी नागरिक दैनिकजसो कर्णाली भित्रिने गरेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले जानकारी दिए।

उनका अनुसार प्रदेश ५ र कर्णाली प्रदेशको सीमानाका बबईबाट मात्रै दैनिक ६ हजारभन्दा बढी मानिसहरु भित्रिने गरेका हुन्। वाग्लेले हेल्थ डेस्क सुरु गर्दा दैनिक २ हजारदेखि ३ हजारको हाराहारीमा मानिसहरु भित्रिने गरेको भएपनि हाल ६ हजार भन्दा बढी मानिसहरुको कर्णालीमा आवागमन भएको बताए।

नाकाहरुमा विशेष निगरानी गरेको भन्दै उनले बाहिरबाट आएका कसैलाई पनि ज्वरो नआएको बताए। केही बिरामीलाई निगरानीमा समेत राखेको उनले बताए।

रोजगारीका लागि गएको दुई महिनामै कोरोनाको त्रासले गाउँ फर्किन बाध्य भएकाे भैरवी गाउँपालिका ५ दैलेखका गुरुप्रसाद उपाध्ययले बताए।

‘बाहिरबाट आएकाहरुलाई नाकाहरुमा चेक त भएको छ’, उनले भने, ‘तर अझै सरकारले उच्च सर्तकता अपनाउनु पर्ने थियो।’ संक्रमण अब शहरमा भन्दा गाउँमा बढ्ने उनले बताए।

हालसम्म आफू स्वस्थ भएपनि कोरोना भाइरस छ कि भन्ने त्रास भने यथावत रहेको उनले बताए। डुङ्गेश्वर गाउँपालिका–४ की कल्पना मगरसमेत कोरोनाको त्रासकै कारण भारतबाट फर्किएको बताइन्। अध्ययनका लागि भारत पसेकी उनी कोरोनाको त्रासमा अनिश्चितकालका लागि घर फर्किएकी हुन्।

‘गाउँमा केही सुरक्षित भइन्छ कि भनेर आएको हो’, उनले भनिन्, ‘तर गाउँ जानेको लर्को देख्दा गाउँमा असुरक्षा बढेको छ।’

कर्णाली प्रदेश सरकारले स्थानीय तहहरुसँग समेत समन्वय गरी विशेष निगरानी गर्नुपर्ने उनले बताइन्।

भारतबाट आएका सबै गाउँमा, को बस्ला राजधानीको क्वारेन्टाइनमा?


भारतबाट आएका कर्णालीका नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नेगरी कर्णाली प्रदेश विपत् व्यस्थापन परिषद् र कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यान्वयन समितिको सयुक्त बैठकले शुक्रबार निर्णय गरे पनि कर्णालीका प्रायजसो नागरिक भने सबै गाउँपसिसकेका छन्।

एकहजार बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको तेस्राे दिन आइतबारबाट मात्रै क्वारेन्टाइन निर्माण गर्न सुरु गरिएको छ।

भारतसँग जोडिएका बाँकेका सबै सिमानाकाहरु आइतबार सिल भएका छन्। दैनिक दश हजारभन्दा बढीको हाराहारीमा नेपालीहरु भित्रिने क्रम बढेपछि बाँकेको जिल्ला प्रशासन कार्यालयको अगुवाईमा केही कडाई गरिएको थियो।

आइतबारसम्म करिब ३ हजारभन्दा बढीको आवागमन हुन थालेपछि सिमा नाकाहरु सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उदयराज उपाध्ययले जानकारी दिए। उनले हाल एक हप्ताको लागि अत्यावश्यक बाहेकका सबै आवागमन रोकिएको बताए।

भारतमा रहेका कर्णालीका सबै नागरिकहरुलाई ज१० दिनभित्र आइसक्न शुक्रबार बसेको कर्णाली प्रदेश विपत् व्यस्थापन परिषद् र कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यान्वयन समितिको सयुक्त बैठकले आह्वान गरेपछि कर्णाली प्रदेश सरकारले निर्णय गर्नु अगाबै कोरोनाको त्रासले भारतमा रहेका नेपाली फर्किसकेका थिए।

गाउँमा समेत संक्रमण फैलिएको खण्डमा राजधानीको क्वारेन्टाइन आवश्यक पर्ने सामाजिक विकास मन्त्री दल रावलले बताए। उनले स्थानीय तहलाई क्वारेन्टाइन निर्माण गर्न अनुरोध गरेको भन्दै अपुग भएको खण्डमा वीरेन्द्रनगरका क्वारेन्टाइनको प्रयोग हुने बताए।

गाउँमा कोरोना फैलने त्रास


दैनिक ६ हजारको हाराहारीमा नागरिकहरु गाउँ पसेपछि कोरोनाको त्रास गाउँमा फैलिएको छ। भारत लगायतका विभिन्न क्षेत्रबाट नागरिकहरु गाउँ पसेपछि गाउँमा कोरोनाका त्रास फैलिएको हो। गाउँमा सुरक्षित छौँ भन्दै लापरबाही बढेको गुराँस गाउँपालिका–३ की निरु मल्लले बताइन्।

उनले गाउँमा विशेष निगरानी गर्नुपर्ने भन्दै अब शहरमा भन्दा गाउँबाटै कोरोना फैलने डर भएको बताइन्।

‘गाउँमा भिडभाड गर्ने र जुवातास खेल्ने गरेको भेटिन्छ’, उनले भनिन्, ‘बाहिरबाट आएकाहरुलाई सिधै गाउँमा पस्न दिँदा ठूलो समस्या आइलाग्ने डर भएको छ।’

वीरेन्द्रनगर नगरपालिका १५ की खगीसरा थापाले समेत भारत लगाएतका नेपालकै विभिन्न क्षेत्रमा रहेकाहरु गाउँमा पसेपछि आफूहरुलाई त्रास बढेको बताइन्। सरकारले शहरी क्षेत्रमा मात्रै नभई ग्रामिण क्षेत्रमा समेत विशेष निगरानी राख्नु पर्ने उनकाे भनाइ छ।

क्वारेन्टाइनका लागि एकल महिला समूहले भवन दिने


एकल महिला समूह सुर्खेतले क्वारेनटाइनका लागि आफनो कार्यालय भवन दिने बताएको छ। कोरोना संक्रमणको रोकथाममा सहयोग पुगोस् भन्ने उद्देश्यले क्वारेनटाइनका लागि कार्यालय भवन उपलब्ध गराउने जनाएको हो।

संस्थाकी पूर्व अध्यक्ष शितलसिंह राठोरले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगर नगरपालिकालाई यसबारे जानकारी गराइएको बताइन्।

उनले कार्यालयको काम घरबाटै गर्ने र क्वारेन्टाइनका लागि कार्यालय भवन उपलब्ध गराउने जानकारी दिएकी हुन्।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू