धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी र अत्तरिया तथा कञ्चनपुरको महेन्द्रनगर बजार सोमबार बिहानैदेखि बन्द रहेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै सीमा नाकासँग जोडिएका यी शहरहरुमा आवात–जावत देखि हिँडडुलमा कडाई गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला भीड अनियन्त्रित भएकाले जिल्लाभर कर्फ्यू आदेश जारी भएको बताए ।

सोमबारदेखि सार्वजनिक यातायात सेवा पनि पूर्ण रुपमा बन्द भएका छन् । यातायात व्यवसायीहरुले लामो दूरीमा बाहेक आन्तरिक सवारी साधन चलाउने बताए पनि बन्द गरिएको सुदूरपश्चिमका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले बताए । उनले बिहान १० बजे भित्र भारतबाट फर्किएकाहरुलाई गन्तव्यमा लगिने भएपनि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी साधन चल्न नदिने जानकारी दिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सरकारको पछिल्लो निर्णयले गौरीफन्टा र खक्रौला नाका पनि बन्द भएको जानकारी दिए। बोहराले सीमानाका बन्द भए पनि दैनिक उपभोग्यका समाग्रीको आयात–निर्यात भने नरोकिने बताए ।

भारतसँगको सहमतिमा कैलालीमा गौरीफन्टा र खक्रौला बाहेकका सबै सीमा नाका स्थानीय प्रशासनले यसअघि नै बन्द गरेको थियो । यस्तै कञ्चनपुरको गड्डाचौकी नाका पनि बन्द भएको छ ।

कैलाली उद्योग वाणिज्य संघले अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्न आह्वान गरे सँगै सुदूरपश्चिमको हालको राजधानी धनगढी बजार बन्द छ ।

कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया बजार पनि सोमबारदेखि भएको छ । गोदावरी नगरपालिकाको कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लागु हुने गरि अत्तरिया बजारलाई बन्द गर्ने निर्णय गरेको थियो ।

धनगढी उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन धनगढी उप–महानगरपालिका नगरकार्यपालिका तथा १९ वटै वडाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन भएका अत्यावश्यक सेवा बाहेकका व्यक्तिगत घटना दर्ता‚ विभिन्न प्रकारका सिफारीसहरु र घर नक्सा आदि लगायतका अन्य सेवाहरु मिति चैत १० गते देखि २१ सम्म बन्द गर्ने निर्णय भएको छ ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू