विश्वकै प्रतिष्ठित र पुरानो फिल्म फेस्टिभलमा ‘जुनुको जुत्ता’

काठमाडौँ – विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ को ६६ औँ संस्करणमा नेपाली चलचित्र ‘जुनुको जुत्ता’ छनौट भएको छ। केदार श्रेष्ठ निर्देशित छोटो चलचित्र ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२० को संस्करणमा छनौट भएको हो ।

विश्वभरीबाट आवेदन गरेको ६५ सयभन्दा बढी चलचित्रहरुबाट उत्कृष्ट एक सय चलचित्र छनौट हुँदा एसियाबाट १९ चलचित्र छनौटमा परेका छन्। यी नै १९ मध्येमा जुनुको जुत्ता पनि परेको हो । यो चलचित्रले नेपालमा भएका विभिन्न चलचित्र महोत्सवहरुमा पुरस्कार पाइसकेको छ।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ मा जर्मनी प्रतिस्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा एक सय चलचित्र छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो।

यस महोत्सवको लागि हरेक वर्ष झण्डै सात हजार फिल्महरुको आवेदन पर्ने गरेको छ । छनौट भएको सय फिल्म, जर्मनी प्रतिष्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा झण्डै पाँच सय चलचित्रहरुको प्रदर्शन गरिन्छ। महोत्सवमा ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म मेकरहरुको जमघट हुने गरेको छ ।

सिंगापुर फेस्टिभलमा पनि ‘जुनुको जुत्ता’

त्यस्तै जुनुको जुत्ता अर्को प्रतिष्ठित महोत्सव ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ छनौट भएको छ । ‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस महोत्सवको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो ।

जुनुको जुत्ताबारे

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी चलचित्रमा प्रस्तुत छ ।

यस फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा नेपाल पनोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो भने गत माघमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ लिएको थियो ।

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन् । विभु पौडेल क्रियटिभ प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी छ ।

विप्लपराज पोखरेल सम्पादित फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, शुशीला अधिकारी, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।
चलचित्रमा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्