सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन

काठमाडौँ–नियामक नेपाल धितोपत्र बोर्डले पाँच कारोबार दिन बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ । बोर्डले सोमबारदेखि लागु हुनेगरी सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

उनले सेयर बजार अर्को साता मंगलबार मात्रै खुल्ने बताए । अध्यक्ष ढुंगनाले नेप्से बजार सुचारु गर्ने पक्षमा रहे पनि सेयर लगानी कर्ता र स्टक ब्रोकरहरु केही दिन बजार बन्द गर्नुपर्ने पक्षमा रहेको बताए ।

उनका अनुसार विवाद र अन्यौलता कायम रहेको बेला बोर्डले बजार पाँच दिनका लागि बन्द गर्न उचित हुने निष्कर्षमा पुगेको हो । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सेयर कारोबार गर्ने या नगर्ने विषयमा लगानीकर्ता, स्टक ब्रोकर र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच विवाद भइरहेको थियो ।

यस्तै विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण सम्बन्धमा नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्ला निर्णय, नेपाल सरकारबाट हाल भइरहेको प्रयासहरु तथो हालको परिस्थिति सम्बन्धमा दिएको ज्ञापनपत्रहरु तथा बजार प्रतिको चासोलाई दृष्टिगत गरी लगानीकर्ताको हित प्रवद्र्धनका लागि धितोपत्र बजार बन्द गर्ने बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता निरज गिरीले धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेन्ज लि. सँग परामर्श गर्दा कोरोना भाइरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबार सहभागिता घट्दो क्रममा रहेको पाइएकाले कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइ दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको विज्ञप्ती मार्फत जानकारी दिए ।

विज्ञप्तीमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ) मा बोर्डको विशेष अधिकार अर्न्तगत लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको उल्लेख छ । ।

चैत १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्