ग्रामिण बृद्धासँग भएको हिरा लुट्न हतियारसहित राजधानीबाट पुगेको प्रहरी टोली

काठमाडौँ- आइतबार अपरान्ह ५ बजे इलाका प्रहरी कार्यालय पालुङलाई स्थानीयले आँत्तिदै खबर गरे-  चार जनाको समूहमा गाडीमा आएका मानिसले हतियार देखाएर हामीसँग भएको हिरा भर्खरै लुटेर लगेका छन्। लुटेरालाई खोज्न स्थानीय प्रहरीको टोली तत्कालै ‘मुभ’ भयो।

करिब एक घण्टापछि  प्रहरीले गाडिसहित चारै जनालाई नियन्त्रणमा लियो। उनीहरुसँग नेपाल प्रहरीले प्रयोग गर्ने पेस्तोल र सन्चार सेट थियो। अनुसन्धानका क्रममा थाहा भयो पक्राउ परेकामध्ये तीन जना महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत सादा पोसाका प्रहरी रहेका छन्। बाँकी एक जना आफुलाई पत्रकार बताउने सुजन आचार्य थिए।

‘ पिडितले दिएको सुचनाअनुसार पक्राउ परेकाको साथबाट ६१.३ क्यारेटको १२.२६ ग्राम हिरा बरामद भएको छ। प्रारम्भिक अनुसन्धानबाट उनिहरुले हिरा लुटेकै देखिन्छ’, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विकाश तामाङले भने।

पक्राउ पर्ने प्रहरीहरुमा सुर्खेतको बीरेन्द्र नगरका २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोटको शिवालय गाउँपालिकाका २७ वर्षीय बीर बहादुर बस्नेत र दाङको सिजुवा गाउँपालिकाका २८ वर्षीय हिमाकान्त पुन मगर छन्। बसेल प्रहरी सहायक निरिक्षक-असई हुन् भने बाँकी दुवै जवान हुन्। १९ वर्षीय आचार्य ललितपुरको भैँसेपाटी निवासी हुन्।

प्रहरीका अनुसार मकवानपुरको कैलास गाउँपालिका निवासी ७० वर्षीया धनलक्ष्मी गुरुङसँग भएको हिरा लुटेर उनिहरु फर्कँदै थिए। उनिहरु सवार फोर्डको प्रदेश ३.०१.०२२ च ३३६२ नं.को कार आचार्यको हो।  प्रहरीले डाँका कसुरमा उनिहरुलाई म्याद थपेर अनुसन्धान गर्ने तयारी गरेको छ।  डाँका कसुरमा  ७ बर्ष देखी १४ बर्ष सम्म कैद र ७० हजार देखी १ लाख ४० हजार सम्म जरीवाना हुने कानुनी व्यवस्था छ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्