कोरोना भाइरसको त्रासले निम्त्याएका मानसिक रोगहरु

कोरोना भाइरसको त्रासले निम्त्याएका मानसिक रोगहरु

घटना १

आइटी चौथो वर्ष पढ्दै गरेका एक युवा गएको साता पाटन अस्पतालमा आए। उनको उमेर २१ वर्षका छन्। केही दिनदेखि उनी कोरोना भाइरस सम्बन्धी खबरहरुका बारेमा एकदमै अपडेट थिए। बिस्तारै उनको आनीबानी परिवर्तन हुन थाल्यो। उनले घरको सामान एकाएक फाल्न थाले। उनी कयौँ रात सुतेका थिएनन्।

‘उनलाई लाग्यो भाइरस उनको घरभरी छ, उनले बिस्तारै घरको सामानहरु फ्याँक्न थाले। घरमा असहज वातावरण भयो। अनि परिवारले अस्पताल ल्याउनुभयो,’ पाटन अस्पतालका मनोचिकित्सक रवि शाक्य भन्छन्, ‘उसलाई भ्रम भएको हो। यो अवस्थालाई ‘साइकोसिस’ भएको भनिन्छ।’

(साइकोसिस भनेको वास्तविकता र अवास्तविक कुराहरु छुट्याउन नसक्ने अवस्था हो।)

६ दिनको उपचारपछि उनको अवस्था फेरिएको छ। उनी अहिले ‘कोरोना लागेपनि मलाई केही हुँदैन भन्ने सोचिरहेका छन्। म कमजोर छैन’ भनेर विश्वास गर्छन। चिकित्सकीय भाषामा यसलाई ‘मेनिया’ भएको भनिन्छ।

‘मेनिया भन्नाले मानिसमा देखिने असामान्य उत्तेजना हो। यो सकारात्मक वा नकारात्मक हुन सक्छ। यसमा प्रकृतिले रुप फेरेजस्तै मानिसको मुडमा परिवर्तन आउँछ।’

अस्पताल भर्ना भएको बेलामा पनि वरपर भएका मानिसलाई मलाई नछोऊ भन्ने भन्ने गरोका थिए। उनको अवस्थामा अहिले सुधार आइसकेको छ।

घटना २

‘सरकारले फागुन ४ गते चीनबाट उद्धार गरेर ल्याएको १७५ जना विद्यार्थी, जो क्वारेनटाइनमा बसेका थिए, त्यो समूहकी एक चिकित्सको निगरानीमा पुगेकी छन्। उनले आफू तर्सिने, सुत्न नसक्ने, आत्तिने भएकी छन्। उनलाई खत्तम भयो जस्तो लाग्छ। कोरोना भाइरस संक्रमणबारे उनलाई चीनमा हुँदा नै डर लाग्न थालेको थियो। नेपाल आएर क्वारेनटाइनमा बसेर घर फर्किसक्दा पनि उनलाई डर लागि नै रहेको छ।

घटना ३

टेकु अस्पतालमा आफूलाई कोरोना भएको आशंका लागेर गएका एक बिरामीलाई अस्पतालले जाँच पछि मौसमी फ्लू भएकोले नआत्तिन भन्दै घर फर्कायो। उनी पाटन अस्पतालमा रुँदै पुगिन्। त्यहाँ जाँच गरेपछि पनि उनलाई विश्वास लागेन तर गइन्।

मान्छेहरु टेस्ट गर्दा नेगेटिभ छ भने पनि ढुक्क हुने नभएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा रवि शाक्य बताउँछन्। कोरोना भाइरसको संक्रमणको त्रासले मानिसमा ‘एन्जाइटी’को समस्या बढेको उनले बताए।

मानिसलाई डर लाग्नु सामान्य हो। डर लागेपछि मानिसले समाधान खोज्छ। तर डरले मानिसलाई घाटा लगाइदियो भने त्यो समस्या हुन्छ। शाक्यका अनुसार मानिस धेरै डरायो भने निम्न किसिमका समस्या आउन सक्छन् –

१, ‘एनजाइटी डिसअर्डर’ – यो अवस्थामा मानिसलाई आफूलाई रोग लागिसक्यो भन्ने लाग्छ।
२, ‘साइकोसिस’
३, ‘मेनिया’
४, ‘एडजस्टमेन्ट डिसअर्डर’

यी अस्वाभाविक चिन्ताका रोगहरु हुन्। यो अवस्था बढ्दै गयो भने अवस्था खतरनाक हुन सक्छ। शुरुमा एनजाइटी डिसअर्डर हुन्छ, अनि बढ्दै गए साइकोसिस हुन सक्छ।

किन हुन्छ ?

मानिसलाई लगातार केही विषयमा तनाव भइराख्यो भने यो समस्या आउन सक्छ। कोरोना भाइरस संक्रमणको जोखिमका विषयमा आइरहेका खबरले मानिसलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ।

यस्तै मानिसलाई आफूसँग भएको स्रोतहरु पर्याप्त छ वा छैन भन्ने कुराले पनि तनाव दिइरहेको हुन्छ। लगातार तनाव भएमा मानिसहरुलाई नकारात्मक प्रभाव पर्न सक्छ। अहिलेको अवस्थामा कोरोना लागिहाल्यो भने पनि मानिसमा उपचार पाइन्छ पाइँदैन भन्ने डर छ। अहिले कोरोना आयो भने ‘खत्तम हुन्छ’ भन्ने धारणा छ।

यदि यो अवस्था रहिरह्यो भने मानिसमा कन्भर्जन डिसअर्डर हुन सक्छ। कहिलेकाहिँ थामिनसक्ने अवस्था हुन्छ।

हिजोआज अस्पतालमा मानिसको चाप बढ्दो छ। अस्पतालमा भर्ना भएका बिरामी डिस्चार्ज हुने बेला नभएका बिरामी चाँडै घर जान खोजिरहेका छन्। भर्ना हुन मानेका छैनन्। यस्तै बिरामी जो दिर्घ रोगीहरुले औषधि नपाइने भन्दै धेरै महिनाको लागि औषधि लिइरहेका छन्।

समाधान

मानिसलाई समस्याको बारेमा जानकारी मात्र दिने हैन, समाधानतर्फ पनि जागरुक गराउनुपर्छ।

परिवारका ठूला सदस्यले साना सदस्यलाई आफूसँग भएको स्रोत र साधनको बारेमा जानकारी गराउनुपर्छ।

समाचारले नकारात्मक प्रभाव पारेको छ भने कम समाचार हेर्ने।

सरकारले पनि यसबारेमा नागरिकलाई स्पष्ट रुपमा कहाँ कहाँ सेवा पाइन्छ, कसरी सेवा पाइन्छ भनेर जानकारी दिनुपर्छ।

डा. शाक्य भन्छन्, ‘ चिन्ता गर्‍यो भने झन अवस्था बिग्रन सक्छ। जस्तो भारतमा कोरोना भयो कि भनेर आशंका गर्दा एक जना बिरामीले आत्महत्या गरेका थिए। म मर्छु भन्ने डर त सबैलाई हुन्छ। तर आफू र आफ्नो वरपरका मानिसहरुलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा जानकार हुन आवश्यक छ। आत्मविश्वास हुनुपर्छ।’

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू