कोभिड -१९ परीक्षणको दयनीय अवस्था

अत्तालिएका प्रयोगशालाहरु ‘किट’ र ‘पीपीई’मा ताक्दैछन् सरकारको मुख

काठमाडौँ- कोभिड -१९ को रोकथामका लागि यसको परीक्षणको दायरा बढाउनुको विकल्प नभएको भन्दै त्यसका लागि सरकारमाथि चौतर्फी दबाब बढेको छ।

छिमेकी मुलुक भारतमा समेत कोभिड -१९ बाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा र नेपालमा पनि संक्रमितको संख्या दुई पुग्नुले यसको परीक्षण सेवा विस्तार गर्नु पर्ने दबाब सरकारमाथि परेको हो।

तर तत्कालिन क्षमताबारे अध्ययन र पर्याप्त छलफलनै नगरी सरकारले कोभिड -१९ परीक्षण विस्तारका लागि निर्देशन दिएपछि प्रयोगशालाहरु भने अत्तालिन पुगेका छन्।

देशकै ठूला अस्पतालमा सञ्चालित भएपनि पूर्वाधार, उपकरण, सामाग्री र जनशक्तिका मामिलामा कमजोर मानिएका प्रयोगशालाहरुमा कोभिड -१९ को परीक्षणको जिम्मेवारी थपिएपछि तनाव बढेको हो।

कोभिड -१९ को रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले यही चैत्र ७ गते टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानको बीर अस्पताल, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल र काठमाडौँ विश्व विद्यालयको धुलिखेल अस्पतालका प्रयोगशालाहरुलाई पनि कोभिड- १९ को परीक्षणका लागि तयार पार्न सहजिकरण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको थियो।

उक्त निर्देशनसँगै अस्पताल तथा प्रयोगशालाका प्रमुखहरुले हतारहतार आन्तरिक बैठकहरुको संख्या बढाइरहेका छन्। ‘के गर्ने, कसो गर्ने ’ भन्ने ?मा छट्पटी चलेको छ उनीहरुमा।

र, आफ्ना प्रयोगशालाका लागि चाहिने अत्यावश्यक ‘किट’, उपकरण, परीक्षणका बेला चिकित्सक तथा स्वास्थ्यकर्मीले लगाउनै पर्ने व्यक्तिगत सुरक्षा कवज ‘प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट’ ‘पीपीई’ लगायत सामग्री तथा आवश्यक तालिम प्राप्त जनशक्तिको सूची बनाएर टेकुस्थित स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनि प्रदेश सरकारलाई समेत पठाउन थालेका छन्।

सरकारसँग माग गरिएको अत्यावश्यक यस्ता सामग्री उपलब्ध नभएसम्म यी प्रयोगशालाहरु कोभिड १९ को परीक्षणका लागि तयार नहुने देखिन्छन्।

सरकारले आफ्ना मागबमोजिम जतिसक्दो छिटो सामग्री  पठाओस् भन्ने यी प्रयोगशालाहरुको चाहना छ। तर विभागको व्यवस्थापन महाशाखासँग प्रयोगशालाका लागि अत्यावश्क सामग्री निकै कम मात्रामा मौज्दात छ।

कोभिड -१९ को परीक्षणका लागि बल्ल सुरु भएको ‘किट’ र ‘पीपीई’ खरिद प्रक्रिया टुंगिने मिती निश्चित छैन। यस्तै तालिमप्राप्त दक्ष जनशक्ति जुटाउन स्वास्थ्य मन्त्रालयलाई कठिन भएको छ।

२० हजार नमूना परीक्षण गर्ला त जनस्वास्थ्य प्रयोगशालाले?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सरकारको एक मात्रै राष्ट्रियस्तरको प्रयोगशाला हो। यसले मात्रै हाल कोभिड १९ को परीक्षण गरिरहेको छ।

निकै कम संख्यामा कोभिड १९ परीक्षणको गरिरहेको र ‘केस’ समेत लुकाएको अराोप यो प्रयोगशालामाथि लाग्दै आएको छ।  कोभिड -१९ को परीक्षणको दायरा बढाउनु पर्ने विषयलाई लिएर प्रयोगशालाकी निर्देशक डा. रुना झा यतिबेला तनावमा छिन्।

तर, कोभिड-१९ को फैलावटको अवस्था पत्ता लगाउन कम्तिमा २० हजार नमूना परीक्षणका लागि तयार रहन भन्दै आएको उच्चस्तरीय निर्देशन कार्यान्वयन सम्भव रहेको झाको दाबी छ। उनी आपतकालीन अवस्थामा परीक्षणका लागि आफूहरुसँग ६ वटा ‘प्ल्याटफर्म’ लाई प्रयोग गर्न सकिने दाबी गर्छिन्।

उनी भन्छिन्, ‘हामी सरकारले दिएको निर्देशनलाई लिएर डराएका छैनौँ। किन भने हामी त्यो कार्यान्वयन गर्न सक्षम छौँ । तर ‘पिपिई’ र ‘किट‘को व्यवस्थापन हाम्रो लागि चुनौति हो । संसारभरी नै यसको माग बढेको छ।’

तर डा. झाले दाबी गरेजस्तो प्रयोगशाला कोभिड -१९ परीक्षणका लागि ६ वटा ‘प्ल्याटफर्म’लाई प्रयोग गर्न सक्ने अवस्थामा छैन।

प्रयोगशालामा हाल तीन वटा ‘प्ल्याटफर्म’ मात्रै सञ्चालित छन्। त्यो पनि अन्य परीक्षण स्थगित गरेमा मात्रै कोभिड- १९ को परीक्षणको संख्या बढाउन सकिन्छ। गत माघ यता करिव ६ सय मात्रै नमूना परीक्षण गर्न सक्षम भएको छ, यो प्रयोगशाला।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला । तस्बीरहरु- दीपा दाहाल /देशसञ्चार

प्रयोगशालामा निर्मित अत्याधुनिक ‘बिएसल थ्री’ ल्याबमा २ वटा ‘रियल टाइम पिसिआर मेसिन’ सञ्चालित छन्। एउटा मेसिनले एक पटक ९६ वटा नमूना परीक्षण गर्न सक्छ भने अर्को मेसिनले ३६ वटा परीक्षण गर्ने क्षमता राख्छ।

यी दुई मेसिनले एक साइकलमा कम्तिमा १२० नमूना परीक्षण गर्ने क्षमता राख्छन्। एक साइकल परीक्षण गर्दा करिव ४ देखि ५ घण्टा लाग्न सक्छ। दैनिक दुई साइकल चलाउन सकिने देखिन्छ। नमूना परीक्षणका क्रममा सबैभन्दा पहिले जेनरल कोरोना भाइरस परीक्षण गरिन्छ। त्यसपछि मात्रै कोभि -१९ को परीक्षण गरिन्छ।

यस्तै प्रयोगशालामै रहेको नेशनल इन्फ्लुयञ्जा सेन्टरमा पनि ‘रियल टाइम पिसिआर मेसिन’ छ। त्यसबाट पनि कोभिड -१९ को परीक्षण गर्न सकिन्छ।

प्रयोगशालाकै एचआईभी, हेपाटाइटिस लगायत परीक्षणका लागि सञ्चालित ‘मोलिक्युलर’ मेसिन पनि सञ्चालित छ। यहाँ कुनै पनि भाइरस परक्षण गर्न सकिने त्यहाँका प्राविधिकहरु बताउँछन्।

तर कोभिड- १९ परीक्षण आफैमा जटिल र जोखिमपूर्ण मानिन्छ। त्यसका लागि दक्ष जनशक्तिको ‘टिम’ आवश्यक पर्छ। सरकारको यो प्रयोगशालामा आवश्यकता अनुसार दक्ष प्राविधिक जनशक्ति अपुग नै भएको डा. झा स्विर्काछिन्।

टेकुस्थित बीएसल थ्रि ल्याब।

मेसिन र जनशक्ति भएपनि ‘किट’ को जोहो गर्ने विषय प्रयोगशालाका लागि टाउको दुखाई बनेको छ। विश्व नै कोभिड -१९ बाट आक्रान्त बनेका बेला यसको परीक्षणका लागि नेपालले पर्याप्त मात्रामा ‘किट’ पाउन मुस्किल पर्ने देखिन्छ।

कोभिड -१९ परीक्षणका लागि चाहिने ‘किट’ नेपालमा बन्दैन। यसअघि डेंगु लगायत रोगको परीक्षणमा पनि ‘किट’को अभाव झेल्नु परेको थियो तर त्यसबाट सरकारी संस्थाहरुले कहिल्यै पाठ नसिकेको स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन्।

उनी भन्छन्, ‘हामीले जोहो गर्न कहिल्यै सिकेनौँ। रोग नियन्त्रणको पूर्व तयारी निकै कमजोर छ । यसको परिणाम अहिले हामीले भोग्नु परेको छ।’

गत माघमा प्रयोगशालालाई सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपालले दिएको ‘किट’ले काम चलिरहेको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताकाअनुसार प्रयोगशालामा हाल करिव १५ सय ‘किट’ मौज्दात छ।

आवश्यक थप १० हजार ‘किट’ डव्लुएचओको सहयोगमा खरिद प्रक्रिया अघि बढाइएको गुप्ताको भनाई छ। २० हजार नमूना परीक्षणका लागि तयार हुन कम्तिमा ३० हजार ‘किट’ ‘ब्याकअप’ मा राख्नु पर्ने विज्ञहरु बताउँछन्।

यस्तै प्रयोगशालाले स्नात्तक या स्नात्तकोत्तरमा ‘माइक्रोबायोलोजी’ गरेर प्रयोगशालामा संक्रमणको क्षेत्रमा काम गरेका जनशक्तिको पनि ‘ब्याकअप’ राख्न जरुरी छ। त्यसका लागि काम भइरहेको डा. झाको दाबी छ।

आपतमा परेको वीर अस्पताल

सरकारले वीर अस्पताललाई पनि कोभिड- १९को परीक्षणका लागि तयार रहन निर्देशन दियो। तर अचानक त्यो निर्देशन आएपछि अस्पतालका निर्देशक डा. केदार सेञ्चुरी लगायत अन्य पदाधिकारी आत्तिएका छन्। ‘मोलिक्युलर जेनेटिक्स ल्याव’मा ‘रिलय टाइम पिसीआर मेसिन’ सञ्चालित छ।

तर यो ल्याब इन्फ्लुयञ्जा, बर्डफ्लु या कोभिड -१९ जस्ता परीक्षणका लागि बनाइएको होइन। कोभिड -१९ परीक्षणका लागि चाहिने कनुै पनि ‘किट’, अन्य सामाग्री ल्याबमा छैन। कोभिड -१९ को नमूना संकलन गर्ने लगायतको कामका लाग जनशक्ति पनि अपुग छ।

हाल यो ल्याबमा दुई जना विज्ञसहितको पाँच जनाको टिमले काम गरिहेको छ। यो ल्याबमा कम्तिमा संत्रमणको क्षेत्रमा काम गरिरहेका अन्य तीन जनालाई तालिम दिएर ‘ब्याकअप’ मा राख्नु पर्ने देखिन्छ। हालै अस्पतालले २५ वटा ‘पीपीई’ अनुदानमा पायो। तर त्यो अपर्याप्त छ।

अस्पतालले कोभिड -१९ परीक्षणका बेला लगाइने २ सय वटा ‘पीपीई’ माग गरेको छ। यसैले प्रयोगशालाका लागि अत्यावश्यक यी सबै सामाग्री उपलब्ध गराउन आफूहरुले स्वास्थ्य सेवा विभागलाई पत्र लेखिसकेको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरी बताउँछन्।

उनी भन्छन्,‘ कोभिड -१९ परीक्षणका लागि हामीसँग जनशक्ति छन्। केही अपुग होला की भनेर त्यसको तयारी पनि गरिरहेका छौँ । तर अत्यावश्यक ‘किट’, पीपीई लगायत उपलब्ध गराउन अनुरोध गरेका छौँ । विभागबाट जतिसक्दो छिटो यी आउँछन् त्यति छिटो हामी नमूना जाँच्न सक्षम हुन्छौँ।’

धरान पनि सरकारी सहयोगको प्रतिक्षामा

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि सरकारले कोभिड १९ परीक्षणका लागि तोकेको छ। प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा मोलिक्युुलर ल्याब छ।

ल्याबमा कोभिड १९ परीक्षणका लागि रियल टाइम ‘पीसीआर मेसिन’ र दक्ष जनशक्तिमा समस्या छैन। तर ल्याबको स्तरवृद्धिको जरुरी भएको त्यहाँका चिकित्सक बताउँछन्।

मोलिक्युलरमा काम गर्नका लागि ५ जनाको टिम पनि निर्धारण गरिएको छ। त्यहाँबाट केही दिन अघि कोभिड १९ को परीक्षणका लागि नमूना संकलन गरेर टेकु ल्याइएको थियो।

तर अव कोभिड १९ परीक्षणमा अर्कौ कार्यक्रमका लागि ल्याइएको ‘बायो सेप्टी मेसिन’ जडान गर्न थालिएको छ। यहाँ पनि कोभिड १९ परीक्षणका लागि ‘किट’ कै समस्या छ । माइक्रोबायोलोजी विभागको प्रमुख एवं प्रोफेसर डा. बसुदा खनाल भन्छिन्,‘सरकारले हामीलाई प्राथमिकता दिएको छ। हाम्रा लागि यो अवसर र चुनौति दुबै हो। किट मगाएका छौँ । किट आउनासाथ हामी परीक्षण सुरु गछौँ।’

काभ्रेस्थित काठमाडौँ विश्वविद्यालयको धुलिखेल अस्पतालको ल्याबको अवस्था पनि खासै फरक छैन। आफ्नो ल्याबमा कोभिड- १९ को परीक्षण गर्ने तयारी स्वरुप आवश्यक ‘किट’  खोज्दै धूलिखेल अस्पतालका कर्मचारी टेकु धाइरहेका छन्।

‘परीक्षणको दायरा नभए अवस्था भयाभह हुने’

मुलुकभर कोभिड १९ को परीक्षणको दायरा बढाउनु पर्ने व्यापक दबाब आउन थालेपछि एक साता अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सरकारी अस्पताल, विश्वविद्यालयका अस्पताल, निजी अस्पता, सामुदायिक अस्पतालका रिसर्च सेन्टरका ए र बि क्षमताका प्रयोगशाला कति छन्? उपकरण र जनशक्तिको अवस्था कस्तो छ भन्नेबारे बुझ्न केही दिन अघि मात्रै बैठक बोलायो।

तर सरकार निजी क्षेत्रले सञ्चालन गरिरहेका ए र बि क्षमताका प्रयोगशालाको अवस्था पहिचान गरेर कोभिड १९ को परीक्षण गर्न अनुमति दिन भने सकेको छैन। तत्कालै यी प्रयोगशालाको अवस्था पहिचान गरी सक्षम प्रयोगशालालाई कोभिड १९ को परीक्षणको अनुमति दिन सरकारले सकेको छैन।

त्यसबाट सरकार गम्भीर नभएको पुष्टी विज्ञहरु बताउँछन्। जनस्वास्थ्य वैज्ञानिक समिरमणी दिक्षित सामाजिक सञ्जालमा भन्छन्,‘ व्यक्ति आफै होम क्वारेन्टाइनमा बस्नु सबैभन्दा ठूलो बच्ने उपाय हो। तर परीक्षणको दायरा पनि बढाउनु पर्ने उत्तिकै खाँचो छ हाम्रो मुलुकको सन्दर्भमा।’

यो बेला प्रयोगशालाको सेवा विस्तार र त्यसको गुणस्तरमा पनि उत्तिकै ध्यान दिनु पर्ने देखिन्छ। तर ‘किट’ या ‘पीपीई’को अभावमा परीक्षण रोकिएमा लज्जास्पद हुनेछ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू