आर्सनलका प्रशिक्षक आर्तेता कोरोना भाइरसको संक्रमणबाट मुक्त

इंग्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्तेता कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। स्पेनिस आर्तेतालाई मार्च १२ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

३७ वर्षका उनी कोरोना भाइरसबाट संक्रमित हुने प्रिमियर लिगका पहिलो प्रशिक्षक हुन् । आर्तेताले भनेका छन्, ‘संक्रमण देखिएको तीन वा चार दिनपछि मलाई निको हुन थाल्यो । अहिले पूर्ण रुपमा निको भएको छु, कुनै पनि लक्षणहरु छैनन्, थप उर्जावान महसुस गरेको छु ।’

उनले स्पेनिस टेलिभिजनसँग भनेका छन्, ‘म अहिले निकै राम्रो छु र लाग्दै छ कोरोना भाइरसको संक्रमण अन्त्य भयो।’

१४ दिनको आइसोलेसन समय बिताएपछि आर्सनलका खेलाडीहरु मंगलबारदेखि प्रशिक्षणका लागि आफ्नो अवस्था जानकारी गराउँदै छन् ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्