बाँकेमा कर्फ्यूः मुख्य सडक सुनसान, भित्र चहलपहल

नेपालगञ्ज – स्थानीय प्रशासनले लगाएको ‘कर्फ्यू’ले गर्दा नेपालगञ्जमा मुख्य सडक सुनसान देखिएका छन् । फाटफुट हिँडेका यात्रीलाई प्रहरीले रोकिरहेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाँके प्रशासनले जनता कर्फ्यू लगाएको हो । ठूलो संख्यामा प्रहरी परिचालन गरेर जनतालाई बाहिर निस्किन दिइएको छैन ।

मुख्य सडकमा प्रहरी केन्द्रित भइरहँदा भित्री सडकहरुमा चहलपहल देखिएको छ । मानिसहरु भित्री सडकमा हिँडिरहेका छन् ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जनतालाई सडकमा आउन र जम्मा हुन नदिएको बताए ।

प्रहरीले सडकमा हिँडडुल गर्न नदिएपछि मानिसहरु रमिते बनेर सडकपेटीबाट हेरिरहेका देखिएका छन् । आफ्नो, परिवार र समाजका लागि घरभित्रै बसिदिनुस् भन्दा मानिसहरु बाहिर के भइरहेको छ भन्दै सडक छेउछाउमा रमिते बनेका छन् ।

मुख्य सडकमा मात्रै प्रहरी देखिँदा भित्री सडकहरुमा मानिसहरु जम्मा हुँदै कोरोनाकै चिन्ता गरिरहेका छन् ।

सरकारले लकडाउन गर्नु अघि नै बाँके प्रशासनले कर्फ्यू घोषणा गरिसकेको थियो । विशेष गरेर भारतबाट ठूलो संख्यामा दैनिक मानिस भित्रिरहेपछि र सडकमा भीडभाडका साथै पसलहरु खुल्ला भइरहेपछि कर्फ्यू लगाउनु पर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले घर बाहिर ननिस्किनुस् भनेर सम्झाउँदा नमानेपछि कर्फ्यू लगाउनु परेको बताए ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू