रिपोर्टर्स डायरी

लकडाउन: मैले बुटवलमा जे देखेँ

बुटवल – बिहानको १० बज्यो। अरु बेला गाडी र कोलाहलको आवाज आउने बुटवलमा आज बिहानै चराहरुको चिरबिर आवाज पनि सुनियो। छिमेकीहरु भेला भएर गफ गरिरहेको आवाज पनि सुनेँ।

उनीहरु आफन्तलाई भेट्न जाने कुरा गरिरहेका थिए। अरु केही काम नभएकाले साथीभाइकहाँ पुगेर गफगाफ हुने र रमाइलो पनि हुने बताइरहेका थिए। तर, मलाई घरबाहिर निस्कन डर लागिरहेको थियो। किनकी घरबाहिर निस्कनु कोरोनालाई निम्तो दिनु पनि त हुनसक्छ।

लकडाउन एकअर्काको सम्पर्कबाट भाइरस फैलन सक्छ भनेर एकअर्काका भेटघाट, भीडभाड बन्द गर्नका लागि गरिएको थियो। तर मान्छेले बुझेनन् कि। लकडाउन सरकारका लागि गरिदिएजस्तो उनीहरुलाई लागिरहेको मैले उनीहरुबीचको कुराकानीका क्रममा सुनेँ।

सुरक्षाका लागि घरबाहिर निस्कनु हुन्न। यो चेत मैले बोकेपनि मेरो पेशाको जिम्मेवारी पूरा गर्नु थियो। बुटवलको अवस्था कस्तो रह्यो भन्ने समीक्षा गरेर सरकारी अधिकारीहरुले थप कडा निर्णय लिन सक्छन्। आम मानिसहरु घर बाहिर निस्कन बन्द गर्न सक्छन्। बुटवल प्रदेश ५ को राजधानी भएकाले पनि यहाँबाट प्रवाह हुने सन्देशले पूरा प्रदेशलाई नै मार्गदर्शन गर्न सक्छ। सचेत गराउँन सक्छ।

यसैले म बाहिर सावधानीपूर्वक निस्केँ। पेशागत जिम्मेवारी सामान्य अवस्थामा त्यति ख्याल हुँदैन। तर संकट र महामारीमा म कुन पेशा अंगालेको छु र कस्तो जोखिम मोल्नुपर्ने हुनसक्छ भन्ने कुरा बारम्बार दिमागमा आउँदो रहेछ। म घरबाहिर निस्कनुअघि यस्तै कुरा सोँचेँ। म एकजना घरबाहिर निस्केको देखेर अरु पनि केही नहुँदो रहेछ भन्ने ठानेर निस्कने पो हुन् कि? मलाई यस्तो कुराको डर थियो। त्यसकारण म एक्लै र एकदमै सावधानीपूर्वक एकदमै छोटो समय त्यसरी घरबाहिर बिताउँछु भनेर निस्केँ।

म बुटवलको अन्य समयमा अति व्यस्त हुने मिलनचोक पुगेँ। मेरो बसाइ रहेको स्थानभन्दा ३/४ मिनेटको दूरीमा छ मिलनचोक। बाक्लो बस्तीबीचबाट पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग गएकाले पनि यहाँको अवस्था बुझ्दा प्रतिनिधिमूलक हुनसक्छ भन्ने मलाई लाग्यो। पूरा सावधानी अपनाएँ। परिचय पत्र बोकेँ। क्यामेरा बोकेँ। गोजीमा स्यानिटाइजर पनि बोकेँ। अनि सडकमा निस्केँ।

म घरको गेट खोल्दा पनि सावधानीपूर्वक खोलेँ। कतै यो गेट कोही संक्रमितले छोएर त गएको छैन ? गेट खोलेर बाहिर गइसकेपछि तुरुन्त हातमा स्यानिटाइजर लगाएँ।  तर मानिसहरु त निर्बाध हिँडिरहेका छन्। सबेरै मर्निङवाकमा गएकाहरु पनि फर्किरहेको देखेँ। मास्क लगाएर मानिसहरु खुलमखुला हिँडिरहेका छन्। मानौ यसरी कि उनीहरुलाई यो संसारमा के भइरहेको छ भन्ने थाहै छैन।

राजमार्ग निस्कनुअघि चोकमा दूध डेरी छ। डेरीमा करीब ५०–६० वर्षका ५–६ मानिसहरु चिउडोमा मास्क राखेर गफ गरिरहेका थिए। ओहो , यो त भयानक गल्ती भइरहेको रहेछ। टाढैबाट मैले त्यसो नगर्न सुझाव दिएँ। उनीहरुले आफ्ना छिमेकीहरु पनि आफन्त भेट्न गएको र त्यसरी बस्दा केही नहुने बताए। यसरी एकदुईजना ‘हुँदैन केही हुँदैन’ भन्ने गलत सन्देश फैलिरहेको रहेछ। यसलाई कसरी रोक्न सकिन्छ ? जबकी शिक्षित परिवारका बौद्धिक वर्गहरु नै यसरी बाहिर निस्केर गफ चुटेर बस्ने हो भने कोरोनाको संक्रमण बिहेको निम्तोकार्ड बाँडेझै गाउँ टोलछिमेकमा फैलिनेछ।

म मुख्यसडकमा जाँदै गर्दा पनि धेरै लापरबाही गरेको पाएँ। मानिसहरु चोकचोकमा जम्मा भएर कोरोना, लकडाउन र सरकारको निर्णयका विश्लेषण गरिरहेको सुनेँ। मलाई असुरक्षित हुनु थिएन। म भीडदेखि टाढैबाट मुख्यसडक पुगेँ। मुख्यसडक पुग्दैगर्दा ट्राफिक प्रहरीहरु सडकमा यताउता गरिरहेका निजी गाडी, मोटरसाइकललाई बाहिर ननिस्कनुस् घरै फर्किनुस् भनेर अनुरोध गरिरहेका थिए। तर उनीहरु ‘उ त्यहीँ पुग्ने हो फर्किहाल्छु’ भन्दै अटेरी गरेर अघि बढे।

यो गतिविधिको भिडियो मैले टाढैबाट खिचेँ। यत्तिकैमा मुख्यसडकमा पनि मोटरसाइकलहरु देखिए। ट्राफिक प्रहरीले सडकमा नआउन भन्दै थिए। मोटरसाईकलमा आएका व्यक्ति ब्याडमिन्टन खेलेर आएका रहेछन्। उनको ब्याग र पोशाकले यस्तै जनाउथ्यो। उनी त ट्राफिक प्रहरी भएतिर आए। हात पो मिलाए उनले। अनि एकछिन कुरा गरे। अनि हात हल्लाउँदै फेरि मोटरसाइकलमा चढेर अघि बढे। हामीले यसरी हात मिलाएर हात हल्लाउँदै अघि बढ्दा हामीलाई सधैको लागि हात हल्लाउने बनाउन सक्छ है ।

यो ज्यान लिन सक्ने हानिकारक भाइरस हो। सावधानी नअपनाए ज्यान जान पनि सक्छ। मैले केहीदिन अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्शन डा सुदर्शन थापासँग भएको कुराकानी सम्झेँ।

अहिले महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। यो भाइरस चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको हो। कोभिड १९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो, जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।

कोरोना भाइरस अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो। तर, यसले मानिसलाई निकै घातक अवस्थामा पुर्‍याउँछ र यसबाट मानिसको ज्यान पनि जानसक्छ। यो भाइरस चिसोको कारण लाग्दछ। यसले मानिसको नाक र घाँटीमा आक्रमण गर्छ। तर, सबै कोरोना भाइरस खतरनाक हुँदैनन्। सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो। सन् २०१२ मा कोरोना भाइरसकै एउटा प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स) बाट करीब ८ सय ५८ जनाको ज्यान गएको थियो।
त्यस्तै सन् २००३ मा चीनमा यसकै अर्को प्रकार सार्स भाइरस देखिएको थियो।

यो भाइरसबाट ७ सय ७४ जनाको ज्यान गएको थियो। अहिले चीनमा पाइएको भाइरस नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो। यो भाइरसबारे मसँग लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पनि यस्तै बताएका थिए। यसबाट जोगिने उपाय र अचुक औषधि भनेकै आत्मसुरक्षा हो। यसको मतलब सकेसम्म एकअर्काबीच टाढै बस्नु।

चिकित्सकहरुले केहीदिन अघि भेट हुँदा भनेका थिए र विश्व स्वास्थ्य संगठनले प्रत्येक दिन गर्ने ब्रिफिङमा पनि भनिरहेको छ कि ‘कृपया घरबाहिर ननिस्कनुस् भीडभाड नगर्नुस्।’

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले पनि यसै भनेका थिए कोरोनाका लक्षणबारे– कोरोना संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सुक्ष्म थोपाहरूबाट तथा भाइरसबाट संक्रमित वस्तुहरू छुँदा यो भाइरस सर्छ। कुनै पनि स्थान तथा वस्तुहरुमा कैयौं घण्टासम्म कोरोना भाइरस जिवित रहन सक्दछ। तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।

जस्तो कि कोरोना भाइरसले संक्रमित कुनै वस्तु छोइयो भने राम्रोसँग साबुनपानीले हात धुने हो भने भाइरस मर्छ। २० सेकेन्डसम्म राम्रोसँग हात धुने हो भने भाइरस टुक्रिएर सक्रिय हुन सक्दैन। यो भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्न सक्ने भएता पनि हालसम्म बालबालिकाहरूमा कोभिड १९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र पाइएको छ। हालसम्म कोभिड १९ का कारण मृत्यु भएको संख्या एकदमै न्युन छ, जसमा पहिल्यै देखि स्वास्थ्य सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन्।

त्यसैले उमेर धेरै भएका व्यक्तिहरु अरु सजग हुनुपर्छ। म केही तस्बिर र भिडियो लिएर ३/४ मिनेटभित्रै घर फर्केँ। फर्किरहँदा पनि दूधडेरीमा उस्तै भीड थियो। असावधानीपूर्वक भेला भएको भीड। कतिपय भने सतर्क रहेछन् । कोरोना संक्रमणको जोखिम नहटनुन्जेल दूधडेरीबाट घरमै दूध नल्याइदिन अनुरोध गरिसकेका रहेछन्। यो भने राम्रै उपाय लाग्यो। कसलाई संक्रमण भएको छ भन्ने के थाहा ? दूध डेरीबाट लैजाने दूधको पोकासँगै भाइरस घरमा लग्नु त भएन नि। सामान किन्दा पनि यस्तै सतर्कता अपनाउनुपर्‍यो।

विश्व स्वास्थ्य संगठनले भनिरहेको छ– श्वासप्रश्वाससम्बन्धी अन्य रोगहरूमा जस्तै कोभिड–१९ मा पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ। मानिसले एकपटक खोक्दा मुखबाट ३ हजार थोपा (थुकको छिटा) निस्कन्छ।

ती थोपाहरू अन्य मानिसहरू वा लुगा वा वरपरका सतहरूमा अड्किन सक्छन् र केही साना थोपाहरू हावामै रहन पनि सक्छन्। मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ। हामीले मुखमा मास्क लगाएर वा हातमा स्यानिटाइजर लगाएको लगायै गरेर मात्रै पनि त सुरक्षित नभइदो रहेछ। शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ। त्यसैले सावधानी त हरेक ठाउँमा अपनाउनुपर्दोरहेछ।

तपाइँहामीसँग तीनवटा विकल्प छन्।
१)घरभित्रै बस्ने।
२)अस्पतालमा बस्ने
३)फोटोको फ्रेमभित्र माला लगाएर बस्ने।

मैले फेरि डा सुदर्शन थापाको कुरा सम्झेँ । उनले मसँग भनेका थिए –कोरोना भाइरसको संक्रमणबाट बच्न सबै भन्दा पहिला सरसफाइमा ध्यान दिनुपर्छ। यस भाइरस शरीरमा प्रवेश गर्ने भनेको नाक, मुख, कान तथा आँखाबाट हो। त्यसैले शरीर सफा राख्ने तथा राम्रोसँग साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ।

हात धुँदा बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने गर्नुपर्छ।

रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुपर्छ। आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुपर्छ।

मसँग इमेलमा मनोविद् ओम बानियाँसँग पनि कुरा भयो। उनले यसको महामारी भन्दा पनि त्रास बढेको बताए। उनले मसँग भनेका थिए– हामीले यस्तो बेलामा मानसिक तनाब लिनुहुँदैन। अर्को महत्वपूर्ण कुरा रोग प्रतिरोधक क्षमता बढाउने खालको जीवनशैली अपनाउनुपर्छ। फास्टफुड, जंकफुड तथा बजारिया खानेकुरा होइन कि प्राकृतिक वनस्पतिजन्य खानेकुरा, व्यायाम, स्नान, तथा तनावरहित सकारात्मक सोचबाट नै मानिसको इम्युनिटि शक्तिशाली हुन्छ।

म घरभित्र प्रवेश गरेँ। गेट खोलेर लगाएपछि मैले साबुनपानीले २० सेकेन्डभन्दा बढी समयसम्म मिचिमिची हातखुट्टा धोएँ। अनि कोठामा प्रवेश गरेँ। अब मलाई यी सबै कुरा लेख्नु थियो। म कसरी सडकमा निस्कने भीड रोक्न प्रेरित गर्ने होला भन्ने सोँच्दैथिएँ। म एउटा नागरिक एकजना पत्रकारको हैसियतमा के गर्न सक्छु ?

म लेख्न सक्छु। सही र तथ्यपूर्ण कुरा। आधिकारिक व्यक्तिको आधिकारिक भनाईसहितको जानकारी। सामाजिक सञ्जालमा फैलिएका भ्रम र हल्लाहरुलाई चिर्न र सही कुरा जानकारी दिन सक्छु।

यत्तिकैमा गुल्मीमा स्थानीय प्रशासनले सर्वसाधारणले लकडाउन उल्लंघन गरेको भन्दै एकहप्तासम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेछ। हाम्रा गाउँमा सुरक्षित हुनभन्दै विदेश भएका दाजुभाई, दिदीबहिनीहरु आएका छन्। शहरबाट गाउँ फर्किएका छन्।
तर के उनीहरु सुरक्षित छन् ?

नहुनसक्छन्। उनीहरु घर पुग्दैगर्दा कतै संक्रमितसँग सम्पर्कमा रहेका हुनसक्छन्। उनीहरुले अरुलाई भाइरस सार्न सक्छन्। यसैले उनीहरुले आफ्ना प्रियजनहरुलाई प्रेम गर्दछन् भने उनीहरु १४ दिनसम्म अलगै बस्नु र सावधानी अपनाउनु राम्रो हुन्छ। कसैलाई संक्रमणको शंका लागेको छ वा जहाजबाट, रेलबाट वा बसबाट आउँदा सँगै आएको साथी संक्रमित भएको कुरा सुन्नुभएको छ भने स्वास्थ्यसंस्थामा जानकारी गराउनु राम्रो हुन्छ। स्वास्थ्य परीक्षण गराउनु राम्रो हुन्छ।

तपाइँका लागि र तपाइँका प्रियजनका लागि पनि।  मैले यत्तिकैमा सामाजिक सञ्जालमा एउटा सन्देश फेला पारेँ। त्यो सन्देश अलि ठट्यौली शैलीको थियो। तर पालना गर्न चाहिँ उपयुक्त नै लाग्छ कि भन्ने लाग्यो।
लेखिएको थियो–तपाइँहामीसँग तीनवटा विकल्प छन्।
१)घरभित्रै बस्ने।
२)अस्पतालमा बस्ने
३)फोटोको फ्रेमभित्र माला लगाएर बस्ने।

यी विकल्पलाई ख्याल गरेर घरभित्रै बसौं। आफ्ना लागि र आफ्ना प्रियजनका लागि।

म त घरभित्रै बसेको छु। म आज घरबाहिर निस्किन्नँ। मलाई ३/४ मिनेटको अनुभवले हामी बिनाकाम सडकमा निस्केर लापरबाही गरिरहेका छौं भन्ने लागेको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यकबाहेकका व्यक्ति कृपा गरी घरबाहिर ननिस्कनुस्।

हामी सञ्चारकर्मी घरमै बसेर टेलिफोन र इन्टरनेटबाट देशबिदेशमा के भइरहेको छ सूचना दिन्छौं। सामाजिक सञ्जालमा मनलाग्दी राखिएका सूचनाहरु पनि नपत्याउनुस्। आराम गर्नुस्। परिवारलाई समय दिनुस्। साथीभाईलाई पछि भेटौला। अहिले आफू र आफ्ना प्रियजनका लागि मात्रै समय दिउँ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्