फोटो फिचर

सुनसान छ काठमाडौँ, रित्ता छन् सडक (तस्बिरसहित)

काठमाडौँ-  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबारदेखि देशभर ‘लकडाउन’ गरेको छ। कसैमा भाइरसको संक्रमण भए त्यसलाई फैलन नदिन नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गर्दै एक साताका लागि लकडाउन गरिएको हो।

सरकारको पछिल्लो निर्णयपछि मंगलबार काठमाडौँ उपत्यका सुनसानजस्तै छ, सडक रित्ता छन्। छिटफुट मोटरसाइकल कुदेपनि प्रहरीले निगरानी उच्च बनाएको छ।

सडकमा देखिएका छिटफुट पैदल यात्रीलाई पनि प्रहरीले सम्झाएर घर पठाउने गरेको छ।  सरकारी कार्यालयदेखि निजि क्षेत्र सबै ठप्प छन्। तरकारी बजारदेखि पान पसल, चिया पसल पनि अधिकांश बन्द छन्।

नेपालमा हालसम्म दुई जनामा कोरोना संक्रमण देखिएकामा एक जना निको भइसकेका छन्।  एक जनाको उपचार भइरहेको छ। दुवै जना विदेशबाट नेपाल फर्किएका हुन्।

सरकारले कोरोना भाइरस रोक्नका लागि आइतबारदेखि नेपाल आउने सम्पुर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। सोमबारदेखि देशभित्रका सबै लामो दूरीका सवारी साधन बन्द गरिएको थियो। नेपालका चौतर्फी नाका पनि बन्द गरिएका छन्।

दबाबपछि परिचय पत्र भएका नेपालीलाई सिमाबाट नेपाल छिर्ने व्यवस्था गरिएको छ।  मंगलबारदेखि घरेलु हवाई उडान पनि एक सातालाई बन्द गरिएको छ। अत्यावश्यक काम पर्दा सवारी कुदाउन जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिनुपर्ने व्यवस्था गरिएको छ।

कोरोनाको संभावित जोखिमसँग जुध्न सरकारले विभिन्न ठाउँमा आइसोलेसन वार्ड र क्वारेन्टाइन धमाधम तयार गरिरहेको छ।

तस्विरहरु – सुलभ श्रेष्ठ

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू