गरीबहरुकाे भाेकभाेकै मर्ने दिन नआउला र?

‘नो डाउट’ र ‘विदाउट एनी कमेन्ट’ ओली सरकारले  कोरोना संक्रमण फैलिन रोक्ने दिशामा गरेका सबै प्रयास प्रशंसनीय छन्। यो मेरो व्यक्तिगत समस्या  हो कि उनको पहिलो गृहमन्त्रीको कार्यकालपछिका दिनहरुमा म उनको प्रशंसक रहन सकिन। त्यसपछि म उनको आलोचक नै भइरहे। आलोचकको अर्थ विरोधी अथवा शत्रु हुनु होइन। तर उनको आत्मबल र इच्छाशक्तिको म मनमनै कायल नभएको होइन।

म सामान्य रुघाले ग्रस्त हुँदा पनि ‘सर्वकर्मान परित्यज स्वयमेव शरणम कुरु’ को असहाय अवस्थामा  सीमित हुनपुग्छु  भने अर्कोतिर ओलीजी हुनुहुन्छ जसले अति गम्भीर अवस्थामा पनि राजकाज अन्तर्गतका सम्पूर्ण दायित्व निर्वाह गरिराख्नु भएको छ।’ हैट्स अफ यू मिस्टर प्राइमिनिस्टर’ , यस आलोचकको तर्फबाट धेरै धेरै शुभकामना।

सारा संसार कोरोनाको भयले संत्रस्त एवं भयभीत भएको  तात्कालिक अवस्थामा नेपाल पृथक रहने सम्भावना नै हुन्न। तपाईँ भगवान्‌को  सत्तामा विश्वास गर्नुस्/नगर्नुस् त्यो तपाईँहरुको (आशय समस्त नेपालीजन) व्यक्तिगत स्वतन्त्रताको कुरा हो, तर आजका मितिसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमै रहेकोमा (भर्खर एक जना संक्रमित देखापरे)  भगवान् पशुपतिनाथको वन्दना नगरी रहन सकिँदैन । हे पशुपति, हे समस्त पशुहरुका पति! नेपाल देशभित्र रहेका केही पशुजनको अपराध क्षमा गर्दै नेपाललाइ संक्रमणको विभीषिकाबाट मुक्त राखी राख्ने यस क्षुद्र भक्तको प्रार्थना स्वीकार गर्नुहोस्।

चिन्ता आजको गर्ने कि भोलिको गर्ने? यस विषयमा जति छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न सकिँदैन। वर्तमानको महत्वलाई अस्वीकार गर्ने धृष्टता मुर्खले पनि शायदै गर्छ होला। आज बाँचिए मात्रै भोलिको सूर्योदय हेर्न पाइन्छ। ध्रुव सत्य कुरा हो यो, यसमा कसैको विमति नहोला।

तर, यस ध्रुव सत्यका साथसाथ हामी यो नबिर्सौँ, आज बाँचियो भने भोलिमा प्रवेश हुनु सुनिश्चित हुन्छ। संसारले विगतका केही शताब्दीदेखि बाँच्नका लागि जुन प्रकारको ढाँचा र रवैया अपनाएको छ त्यसमा सर्व साधारणलाइ  बाँच्न सजिलो छैन। ‘लकडाउन’ लम्बिएमा  ‘लकडाउन’ गरिएका गरीब देशका गरीब बासिन्दाको हालत के हुने हो त्यसको कल्पना मात्रैले जिउ सिरिङ्ग हुन्छ? अझ स्थिति सामान्य भएपछि ती गरीबहरुको भोकभोकै मर्ने दिन नआउलान्  र? स्थिति अहिले नै नियन्त्रणभन्दा बाहिर गइसकेको छ, समस्या लम्बिएमा नेपालको हालत के हुने हो,अनुमान गर्न पनि गाह्रो छ। अहिलेसम्म परेकै प्रभाव  २-३ महिनापछि देशमा कोलाहल मच्चिने सम्भावना देखिसकिएको छ। नेपालीको अर्थतन्त्र धान्ने रेमिट्यन्स  शून्य नै हुन बेर छैन। पर्यटनले हावा खाइसक्यो,आउने दिन यसका लागि झनै प्रतिकूल हुने निश्चित नै भइसकेको छ।

मानिलिउँ, कोरोना नियन्त्रण गर्न तपाईँ पूरै देशलाई ‘लकडाउन’ गरेर स्थिति नियन्त्रणमा लिन सफल बन्नुहुन्छ। त्यसको प्रतिकूल प्रभाव स्वदेशी अर्थतन्त्रमा पर्छ। २-३ महिनापछि देशमा हाहाकारको स्थिति सिर्जना हुन्छ।

यस्तो प्रतिकूल अवस्थामा नेपालले चाल्ने  प्रत्येक पाइला अत्यन्त सावधानीका साथ उठाउनुपर्ने देखिन्छ।

हुन त यो लेख लेख्दालेख्दै एक जना फ़्रान्सबाट फर्किएको युवतीमा कोरोना संक्रमण देखिएको समाचार आइसकेको छ। यसको सोझो अर्थ नेपालले  कोरोना संक्रमणको पहिलो चरणमा प्रवेश गरिसकेको छ। ओली सरकारले यसलाई रोकथाम गर्न अझै कठोर निर्णय गर्नुपर्ने चुनौती थपिएको छ। युवतीको परिचय गोप्य राखेर हुन्न नेपाल सरकार!  ती कसरी आइन्, कहिले आइन्, नेपालमा प्रवेश गरेपछि कुन माध्यमले कहाँ गइन्, कहाँ बसिन्, परिवारबाहेक तिनको कोकोसँग सम्पर्क भयो? यी सबैको विस्तृत जानकारी अविलम्ब सार्वजनिक गर्नुपर्‍यो। तिनका सम्पर्कमा आएका सबै जनालाई तुरुन्तै सिनाख्त गरी अस्पताल भर्ना गर्नुपर्‍यो। यति मात्रैले पुग्दैन, उनका सम्पर्कमा आएका व्यक्तिहरुले कोकोसंँ संपर्क गरे, सबैको पहिचान गरी ‘इमिडिएट’ नेपाललाई संक्रमणको दोस्रो चरणमा पुग्नुभन्दा पहिला नै  संक्रमण नियन्त्रित गर्नुपर्‍यो। यसमा कुनै व्यक्ति -शक्तिले अवरोध गरेको खण्डमा प्रधानमन्त्रीज्यू,  तानाशाह नै  बन्नुस्। प्रधानमन्त्रीज्यू, दोस्रो चरणको संक्रमण तत्काल प्रभावले रोक्न सकिएन भने (कोरोना विषयक अन्य देशको दुर्गति अध्ययन अनुसार) विश्वास गर्नुस्, नेपालले स्थिति कन्ट्रोल गर्न सक्दैन।

प्रधानमन्त्रीज्यू हाम्रो देश विचित्रकै देश हो। हामी नेपालीले विरोध गर्न गर्भबाटै सिकेर आएका हुन्छौँ। वर्तमानको परिस्थितिमा तपाईँले जे गर्दा पनि कालान्तरमा त्यसको दुष्परिणाम देशले भोग्नैपर्छ। मानिलिउँ, कोरोना नियन्त्रण गर्न तपाईँ पूरै देशलाई ‘लकडाउन’ गरेर स्थिति नियन्त्रणमा लिन सफल बन्नुहुन्छ। त्यसको प्रतिकूल प्रभाव स्वदेशी अर्थतन्त्रमा पर्छ। २-३ महिनापछि देशमा हाहाकारको स्थिति सिर्जना हुन्छ। विडम्बना हाम्रो देशमा १० जना कार्यकर्ता र अलिकति  पनि जनाधार नभएको व्यक्ति पनि चर्चित र राष्ट्रिय स्तरको नेता छ। पाठकभन्दा मिडिया बढी छन्।कोरोना संक्रमणलाई नियन्त्रित गर्न सके पनि देशभित्रका संक्रमित बुद्धिजीवीलाइ सकिन्न।

अविलम्ब सर्वदलीय बैठक ढाकेर  सरकारको ‘प्लानिङ’ बारे अवगत गराउनुस्, उनीहरुसँग सलाह पनि लिनुस्।  एउटा ‘टास्क फ़ोर्स’ नै गठन गर्नुस संक्रमण नियंत्रणका लागि ।जुन बाटो गए पनि त्यसको उत्तरदायित्व सारा नेतृत्व पंक्तिले बोक्ने स्परिट हुनु परयो मुलुकमा ।  मुलुक भरी नै भारतसंग खुल्ला सीमाना रहेको अवस्थामा प्रवेश द्वार बंद गरेर के हुन्छ ? बरु सबै सीमानामा क्वारेन्टाइनको व्यस्था गर्नु उचित हुन्छ कि ?

थाहा छ प्रधानमन्त्रीज्यू? विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरलले  सबै किसिमका चिनीयुक्त झोल पदार्थ सेवन नगर्ने सुझाव दिनु भएको छ। ट्राफिककर्मीले मास्क लाएर हिँड्नुस् भन्ने अनुरोधात्मक सूचनापट्ट देखाउनुको कुनै अर्थ छैन। कृपया गरी एकपटक नेपालका स्वास्थ्यकर्मी र विज्ञहरुसँग सुझाव संकलन गरी त्यस अनुसारको सन्देश प्रवाहित गर्नु उपयुक्त हुन्थ्यो कि! जथाभावी मास्क र स्यानिटाइज़रको दुष्प्रचार गर्नु उपयुक्त होइन।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्