औषधि तथा खाद्यवस्तु उद्योगलाई पूर्ण क्षमतामा चलाउन सरकारको निर्देशन

काठमाडौँ-नेपाल सरकारले औषधि तथा खाद्यवस्तु उद्योगलाई पूर्ण क्षमतामा चलाउन निर्देशन दिएको छ।

सरकारले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयललाई औषधि र स्वास्थ्य उपकरण वा सामाग्री, खाद्यन्‍न, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्‍चालनमा ल्याउन निर्देशन दिएको हो।

उल्लेखित उद्योग संचालनगर्दा संक्रमण जोखिमलाई मध्यनजरगरी कर्मचारी र कामदारका लागि स्यानिटाइजर, मास्क लगाउने, भिडभाड नगर्ने, २५ जनाभन्दा बढी एक स्थानमा नरहने, कोही शंकास्पद बिरामी देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था गर्ने पनि सरकारले निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

यस्तै त्यस्ता उद्योगले उत्पादन गरेका सामाग्री नियमित रुपमा बजारमा पठाउने विज्ञप्तीमा उल्लेख छ।

उत्पादनलाई निरन्तरता दिन आवश्यक कच्चा पदार्थको अधिकतम मौज्दातको व्यवस्था गर्ने, आवश्यक वस्तु उतपादन गर्ने बाहेक सरकारी तथा निजी क्षेत्रबाट संचालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने कर्मचारीहरुलाई ती उद्योगहरुले बिदा दिनुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार अति आवश्यक वस्तु उतपादन गर्ने उद्योगहरु संचालन राख्न उद्योग वार्णिज्य महासंग, नेपाल उद्योगा परिसंघ र नेपाल चेम्बर अफ कमर्श लगायत उद्योग क्षेत्रका छाता संगठनहरुले आ–आफ्ना सदस्यहरुलाई आव्हान एवं आवश्यक सहजीकरण गर्नेछ।

चैत ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्