रिपोर्टर्स डायरी

लकडाउनः नागरिक सहयोगको खाँचो

दाङ – सरकारले देशका ७७ जिल्ला जब ‘लकडाउन’ गरेको समाचार बाहिरियो, त्यसपछि फोनको घण्टी बज्न थाल्यो । नगर प्रमुख कुलबहादुर केसीको पहिलो फोन आयो, ‘केन्द्र सरकारले देश लकडाउन गरेको समाचार आयो, नगरपालिकाको तर्फबाट पनि सूचना जारी गरेको भनेर रेडियोमा फुकाउनु पर्‍यो, अनलाइनमा छपाउनुपर्‍यो । अनावश्यक रुपमा घरबाट ननिस्कन भनेर जानकारी गराउनुपर्‍यो ।’

त्यसपछि फेसबुकमा एउटा स्टाटस र त्यसपछि सूचना आदान प्रदान अघि बढ्यो । फेरि घण्टी बज्यो । सुमन कालाथोकीको फोन रहेछ । ‘दाइ भोलि दूध बेच्न बजार जान पाइन्छ कि नाइ ? अनुपको बाजे दूध बेच्न बजार जानुपर्ने छ ।’

मैले भने सरकारले दूधलाइ अत्यावश्यकमा उल्लेख गरेकाले पाइन्छ होला । लकडाउनमा के गर्ने के नगर्ने स्पष्ट थिएन । सायद बिहान दूध लगेर बजार पुग्नु भयो होला । म सधैँ बिहान पाँच बजे मर्निङ वाकमा निस्कन्थे । मेरो मर्निङ वाक रोकियो । आगनमा सामान्य व्यायाम गरे । योगा गरे । त्यसपछि प्रदेशसभा सदस्य रेवतीरमण शर्माको फोन आयो ।

अघिल्लो दिन ओमप्रसाद सुवेदी (सागर)को आमाको १३ औँ दिनको शुद्धशान्तिमा जाने योजना बनेको थियो । हामी बिहान त्यहाँ पुग्यौँ । श्रद्धाञ्जली सभा गर्ने योजना क्यान्सिल भयो । छरछिमेकी, आफन्तहरु केही जम्मा भएका थिए । सबैको मुख र नाक माक्सले छोपिएको थियो । सधैं भेट हुदा हात मिलाउने चलन थियो ।

तर, यहाँ कसैले कसैसँग हात मिलाएनन् । बरु दूरी कायम गरेर बसे । नमस्कार गरे । श्रद्धाञ्जली सभा भएन । फोटोमा पालैपालो फूल र अविर चढाएर श्रद्धाञ्जली दिइयो । खिर पाकिसकेको थियो । थोरै खाएर निस्कियौं । राजमार्ग सुनसान थियो । केही मोटरसाइकल र साइकलमा मानिस देखिए । लमही बजार पुग्दा सडकमा प्रहरी तैनाथ थिए ।

बिहान मानिसहरु तरकारी किन्न सडकमा थिए । तर, दिउँसोबाट बजार सुनसान बनेको छ । प्रहरीले बिना कारण सडकमा आउनेलाइ नियन्त्रणमा समेत लियो । ‘धेरै अटेरी गर्नेहरुलाइ एक छिन नियन्त्रणमा लियौं, पछि सम्झाइ बुझाइ छाड्यौं’, वडा प्रहरी कार्यालयका प्रमुख प्रज्जवल थपलियाले भने । त्यसपछि लाग्यो मानिसहरुलाई कडा नगर्दा सम्म, न छोप्दा सम्म नमान्ने रहेछन्।

सधैँ समाचार खोज्न निस्कने मलाई हतार छैन । घरमा छु । परिवारसँग छु । छोराले म घरमा खेल्छु लुडो चाहियो, फुटबल चाहियो भनेपछि किनिदिए । मोबाइल खोज्ने छोरा लुडोमा रमाउँछ । कोरोना भाइरसको नाम सुन्न थालेको महिना दिन बढी भैसकेको छ । घर परिवारमा पनि छलफल हुन्छ ।

आमाले भन्ने गर्नुहुन्छ, ‘ज्वरो, रुघाखोकी त सामान्य हो । हामी बिरामी पर्दा त सधैं यहीँ हुन्छ । केही हुदैन । आत्तिनु पर्दैन । यस्तो लक्षण गरेको रोग त पचाइएको छ’, तर, कोरोनाको त्रास एक प्रकारले मन भित्र गडेको छ । यो त्रास आम मानिसमा छ । कोरोनाको त्रास कम गर्न र सावधानी अपनाउन घर भित्र पनि व्यस्त बनाउनु पर्छ ।

पहिलो काम त परिवारका सदस्य बिच खुलेर संवाद गर्ने, हाँस्ने, रमाउने गर्नुपर्छ । घर भित्रका सरसफाइ सँगै मन मर्ने परिकारहरु बनाउने, खाने गर्नुपर्छ । यी र यस्तै थुप्रै कार्यहरु घर भित्रै योजना बनाएर गर्न सकिन्छ । कोरोनालाइ आत्मबलसँगै सावधानी अपनाएर मात्रै हराउन सकिन्छ । सरकारले एक हप्ता घर भित्रै बस्न भनेको छ ।

यस्तो बेलामा सरकारको आलोचना गर्नु भन्दा सहयोग गर्न जरुरी छ । तपाईं जहाँ हुनुहुन्छ ढुक्कसँग सावधानी पूर्वक रहनुहोस्, कोरोनाले छुन सक्दैन । नेपालले २०७२ सालको भूकम्पमा धेरै जनधनको क्षति व्यहोरिसकेको छ ।

अहिले कोरोनाको त्रासले भूकम्प भुलाउन सक्छ । झन धेरै चोट सहनु पर्ने अवस्था आउन सक्छ । त्यहीँ भएर यो बेलामा गैर जिम्मेवार भन्दा पनि जिम्मेवार नागरिकको परिचय दिने बेला आएको छ ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्