कोरोना भाइरस: जोखिममा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी

धनगढी -बेलौरी नगरपालिका लक्ष्मीपुर स्वास्थ्य चौकीका एम्बुलेन्स चालक सुवास चौधरी सोमबार विरामी बोकेर आए। रुघाखोकी, ज्वरो लगायतको लक्षण देखिएका ती विरामीलाई बोकेर धनगढी ल्याउनुपर्दा उनी त्रसित भए।

उनले भने –‘अहिले विश्वभरीनै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को लक्षण विरामी देखिएपछि आफैलाई असुरक्षित जस्तै लाग्यो।’ उनले विरामीलाई कञ्चनपुरको बेलौरीदेखि धनगढी स्थित माया मेट्रो अस्पतालसम्म पुर्याएका थिए।

‘विरामीले स्वास्थ्य संस्थामा छिटो छरितो पुग्न एम्बुलेन्स प्रयोग गर्छन्। तर, हामी चालक भने असुरक्षित भएका छौं’ उनले भने–‘सरकारले एम्बुलेन्स चालकका लागि आवश्यक मास्क, स्यानिटराइजर जस्ता वस्तुको व्यवस्था गर्न सकेको छैन।’

अहिले विश्वभरीनै कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि उच्च सर्तकता अपनाइएको छ। नेपालमा पनि लामो दुरीका गाडि चल्न छाडेका छन। तर, एम्बुलेन्स चालकहरु भने जोखिम मोलेर सेवा गर्नुपर्ने बा“ध्यता रहेको गुनासो गरिरहेका छन्।

कैलाली अस्पतालका एम्बुलेन्स चालक प्रकाशसिंह धामीले कोरोना भाइरसका लक्षण देखिएका विरामीलाई नबोक्ने बताए। ‘अहिले मैले दुर्घटना लगायतका अन्य विरामी बोक्ने गरेको छु’ उनले भने –‘अस्पतालले हामीलाई सुरक्षित नबनाएसम्म कोरोनाका लक्षणका विरामीलाई बोक्ने छैनौ।’ उनले अस्पतालले कोरोनाको संक्रमणबाट बच्न कुनै पनि उपकरण तथा वस्तुको व्यवस्था नगरेको बताए।

नेपाल एम्बुलेन्स चालक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले एम्बुलेन्स चालक असुरक्षित भएको बताए।‘विरामीलाई अस्पताल पुर्‍याउने हामी नै सुरक्षित छैनौं’ उनले भने –‘पुरै शरिर ढाक्ने सुरक्षित कपडा (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ‘पिपिई’) नै छैन्।’ उनका अनुसार पिपिइले बाह्य संक्रमण हुनबाट जोगाउ“छ। उनले एम्बुलेन्स र चालकलाई सुरक्षित गर्ने योजना यथाशिघ्र बनाइनुपर्ने बताए।

सुदूरपश्चिममा अहिले एक सय ५० बढी एम्बुलेन्स चालकहरु रहेका छन्। संघका प्रदेश अध्यक्ष लक्ष्मणले एम्बुलेन्स पनि ‘क्याविन’ वाला नभई सामान्य रहेकाले कोरोनाको संक्रमण चालकमा सहजै सर्न सक्ने बताए।एम्बुलेन्स चालकमात्र होइन स्वास्थ्यकर्मीहरु पनि कोरोनाको संक्रमणको जोखिममा रहेका छन्।

सेती प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख डाक्टर जगदीश जोशीले भने– ‘आइसोलेसन वार्डमा राखिएका बिरामीको निगरानी गर्ने चिकित्सकलाई आवश्यक सामग्री अभाव छ।’ उनले बिरामीको सम्पर्कमा जा“दा लगाउने लुगा, मास्क जस्ता सामग्री अभाव रहेको बताए।

सेती प्रादेशिक अस्पतालमा सात शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ। सात जनाभन्दा बढी बिरामी भएमा निगरानीमा राख्न गाह्रो हुने चिकित्सकहरू बताउ“छन्। ‘अहिले प्रादेशिक अस्पतालमा सात शैयाको आइसोलेसन कक्ष छ’ डाक्टर जोशीले भने– ‘योभन्दा बढी भएमा बेड थप्नुपर्ने अवस्था आउँछ।’

उनले उपचारका लागि चाहिने आवश्यक सामग्री अभाव भइरहेका बेला अस्पतालबाट प्रदेश सरकारलाई आपूर्ति गरिदिन भन्दै पत्राचार गरिएको बताए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले विभागबाट ‘पिपिइ’ सामाग्रीहरु माग गरिसकिएको बताए। उनले सामाग्री पुग्ने वित्तिकै वितरण गरिने बताए।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू