कोरोनाविरुद्ध लड्न प्रदेश-२ मा २५० वटा आइसोलेशन वार्ड

जनकपुरधाम-विश्वभरी फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न प्रदेश सरकारले २५० आइसोलेशन बेड तयारी अवस्थामा राखेको छ।

मुख्यमन्त्री लालबाबु राउतका अनुसार कोरोनाको संक्रमणसँग लडन प्रदेश सरकारले गत सातादेखि नै आफ्ना पूर्व तैयारीहरु शुरु गरिसकेको हुँदा यस महाविपतको घडिमा कसैलाई नआत्तिन आग्रह गरेका छन्।

मंगलवार प्रदेशबासीसँग अपिल गर्दै उनले महामारीविरुद्धको पूर्वतयारीको लागि प्रदेशमा थप आइसोलेशन बेडको लागि गृह कार्य भइरहेको बताएका छन्।

उनका अनुसार प्रदेश सरकारले कोरोनाको संक्रमणबाट बँच्न पूर्व तैयारीको लागि विपद व्यवपस्थापन कोष मार्फत प्रत्येक जिल्लाको विपद व्यस्थापन कोषलाई ५०-५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई ५ लाख उपलब्ध गराएको छ।

यस्तै महामारीविरुद्धको लडाईलाई थप प्रभावकारी बनाउन समाजिक विकास मन्त्रालय मार्फत कोरोना सम्बन्धि क्रिटिकल केयरका लागि प्रादेशिक अस्पताललाई १२ लाख, जिल्ला अस्पतालहरुलाई ५-५ लाख, प्रादेशिक स्वास्थ्य आपूर्तिकेन्द्रलाई औषधी र पर्सनल केयर इक्युपमेन्टको लागि १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख, जनचेतना मुलक प्रचार प्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई ५ लाख, मन्त्रालय मार्फत नितिगत खर्चका लागि १० लाख उपलब्ध गराइएको छ।

सरोकारवालालाई सचेतना मुलक अभियानका लागि १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि १० लाख, एकीकृत अनुगमनको लागि ५ लाख, रेफरल एम्बुलेन्स सेवाकोलागि ३ लाख छुट्याइएको छ।

आवश्यकता अनुसार अगाडी पनि यस महामारी नियन्त्रणका लागि प्रदेश सरकार तैयारी अवस्थामा रहेको जानकारी समेत गराएको हो। मुख्यमन्त्री राउतले विश्वलाई नै त्राहिमाम बनाएको कोरोना विरुद्धको लडाईका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको जनाएको छ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू