‘लकडाउन’ अवज्ञा गर्ने तीनसय बढी सवारी प्रहरी नियन्त्रणमा

जनकपुरधाम-सरकारले गरिएको लकडाउनको पहिलो दिन धनुषा र महोत्तरीमा तीन सय भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

मंगलबार विहान ६ बजेदेखि चैत १८ गतेसम्म गरिएको ‘लकडाउन’मा धनुषा र महोत्तरीमा अवज्ञा गरेपछि तीनसय बढी सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न सरकारले आज देखि लकडाउन गर्ने निर्णय गरेको थियो तर सर्वसाधारणले त्यसको अवज्ञा गरेपछि प्रहरी कडाइका साथ कारवाही गरेका छन्।

धनुषामा लकडाउनको निर्णयको अवज्ञा गर्दै सडकमा सवारी साधन चलाउने २६१ जना कारवाहीमा परेको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले जानकारी दिए।

त्यस्तै महोत्तरीमा ५० जना कारवाहीमा परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

महोत्तरीमा विभिन्न ठाउँबाट चलाउँदै आएका नेपाली तथा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरु नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए।

महोत्तरीमा लकडाउनको आदेशलाई नमान्दै सडकमा गाडी चलाउनेहरु कारवाहीमा परेको उनले बताए।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू