दाङमा लकडाउन अवज्ञा गर्ने तीन सयबढी सवारी प्रहरी नियन्त्रणमा

दाङ- लकडाउनको अवज्ञा गरेको भन्दै दाङमा प्रहरीले तीन सय ५० सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सबैभन्दा धेरै मोटरसाइकल २ सय ७३ थान, ट्रक ३६ थान, सानो गाडी १३ थान, टिप्पर १०, अटो १०, टेक्टर ७ र बस एउटा गरी ३ सय ५० थान सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।

सवैभन्दा धेरै लक डाउनको अवज्ञा तुलसीपुरमा भएको छ। प्रहरीले तुलसीपुरबाट १ सय ७८ थान सवारी साधन नियन्त्रणमा लिएको छ ।

त्यसपछि घोराहीमा लकडाउनको उल्लंघन भएको छ । घोराहीमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, इप्रका नारायणपुर र प्रहरी चौकी दुइखोलीबाट गरि एकसय वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

त्यसैगरी लमहीमा ४८ वटा, भालुवाङमा १२ वटा र इप्रका कमीरेचौर ३ वटा साधन नियन्त्रणमा लिइएको छ ।

पहिलो दिन भएकाले सवारी साधनमात्रै नियन्त्रणमा लिइएको तर आगामी दिनमा पनि यस्तै भए व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर कारवाही गरिने प्रहरीले जनाएको छ ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्