बेलहिया नाका हुँदै भारतबाट नेपाल भित्रिए ८० मालवाहक गाडी

फाइल तस्बिर

लुम्बिनी– भारतबाट बेलहिया नाका हुँदै मंगलबार ८० मालवाहक गाडी नेपाल भित्रिएका छन्। बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार मंगलबार मात्रै एलपी ग्यास ७ बुलेट तथा डिजलका नौ र पेट्रोलका १० गाडीको भन्सार पास भएको हो।

यसैगरि फलफूल, तरकारी र आलु प्याजको गरी ५४ गाडीको पनि भन्सार पास भएको छ। सूचना अधिकारी लम्सालले भने, ‘एजेन्टले फर्म भरेर पठाएको कुनै पनि मालवाहक गाडी रोकिँदैन। सबै भन्सार हुन्छ।’

कोरोना भाइरसको सङ्क्रमणका कारण मान्छेहरुको आवतजावतमा रोक लगाइएको भए तापनि अत्यावश्यक वस्तु र सामानको आयातमा भने कुनै रोक नलगाइकाले मालवाहक सवारीसाधन आएको सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व गस्ती डन्डाका प्रमुख मानबहादुर शाहीले बताए।

अन्तरदेशीय पारवाहनमा कुनै समस्या नभए तापनि शनिबार सांँझसम्म करीब तीन सय गाडी भारतमै रोकिएका छन्। ट्रान्स नेपाल भैरहवाका प्रमुख रवि पारिखका अनुसार सवारी चालक कोरोनाको डरको कारण नेपालतर्फ आउन नखोज्दा गाडी रोकिएको हो।

उनले भने, ‘आएका मालवाहक गाडीमा एक जना चालक र सहचालक मात्रै आएका छन्। केही चालकहरु नेपाल गएपछि उतै फसिन्छ, खान बस्न समस्या हुन्छ भन्दै आएका छैनन्।’

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले अन्तरदेशीय पारवहनमा समेत कडाइ गरेको छ।

सामान्य अवस्थामा बेलहिया नाकाबाट दैनिक २० हजारभन्दा बढी भारतीय र नेपाली सीमा वारपार गर्छन्। मंगलबार भने स्थलमार्ग हुँदै कसैले पनि सीमा वारपार गरेका छैनन्।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्