रिपाेर्टर डायरी

‘लक डाउन’लाई नटेर्ने ‘जनता’

तस्बिरहरु: बर्षा शाह।

अरु दिनभन्दा मंगलबार बिहानैबाट अफिसको ‘फेसबुक ग्रुप’ सक्रिय भइरहेको थियो। केहीबेरको छलफलपछि कसले के–के काम गर्ने भनेर विभाजन भयो। सहकर्मी बर्षा शाह र मेरो काम ‘ग्रुप’मै छुट्टिएपछि करिब ११ बजेतिर म बर्षालाई लिन मैतिदेवी पुगेँ।

शान्तिनगरबाट मैतिदेवीसम्म पुगुन्जेल बाटोमा धेरै पटक चेकिङमा परेँ। घरबाट बाहिर निस्किनु हुन्न भन्ने थाहा हुँदाहुँदै पनि पेशागत जिम्मेवारीले बाहिर निस्किनु पर्ने बाध्यता थियो। प्रेस पास देखाउँदै मैतिदेवी पुगेँ।

वर्षा र मेरो भेट भइसकेपछि त्यहीबाटै हाम्रो काम सुरु भयो। लाइभ गर्दै, फोटो र भिडियो खिच्दै हामी सबैभन्दा पहिला मैतिदेवीबाट सिधै बानेश्वरतिर हानियौँ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबारदेखि देशभर एक हप्ता ‘लक डाउन’ घोषणा गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले सर्वसाधारणलाई एक हप्ता घर बाहिर ननिस्कन आग्रह गरेको छ।

तर ‘लक डाउन’ घोषणा गरेको पहिलो दिन सरकारको आग्रहलाई बेवास्ता गर्दै सर्वसाधारणहरु बाटोमा हिँडिरहेका थिए। बाटोमा हिँडिरहेका कतिपय व्यक्ति अत्यावश्यक कामका लागि हिँडरहेका थिए भने कतिपय रमाइलोका लागि घर बाहिर निस्केका थिए। घर बाहिर जम्मा भएर गफ हानिरहेका थिए।

अन्य दिन जस्तो भिडभाड नभए पनि मंगलबार उपत्यकाका सडकमा सवारीसाधनको आवतजावत भने देखिन्थ्यो। बाटोमा हिँडिरहेका व्यक्ति रमाउँदै फोटो खिचिरहेका थिए।

बानेश्वर पुग्दा त हामी अझ  अचम्ममा पर्‍यौँ।

मैतिदेवीबाट बानेश्वरसम्म पुगुन्जेल देखिएका सवारीसाधन र सर्वसाधारणभन्दा त्यहाँ दोब्बर देखिए। चोकमा प्रहरीले एक–एकलाई रोक्दै सोधपुछ गरिरहेका थिए। कतिपयले अनेक बहाना बनाई प्रहरीबाट उम्किन खोजे। र उम्किए पनि।

बानेश्वरमा भएको भिडभाड देख्दा हामीलाई उपत्यकाका अझै केही मुख्य चोकहरुको अवस्था बुझ्न मन लाग्यो। र बानेश्वरको केही क्रियाकलाप, फाटो र भिडियो क्यामेरामा कदै गर्दै हामी कोटेश्वरतर्फ लाग्यौँ।

जहाँ बानेश्वरको तुलनामा प्रहरीले चेकजाँचमा कडाई गरिरहेको थियो। ‘लक डाउन’का बेला खाली हुनुपर्ने सडकमा सवारी साधनको लाम लागेको थियो। तर यहाँ न त सवारी साधन उम्किन पाए न त कुनै पैदल यात्री नै। अनावश्यक काममा निस्केका सबैलाई जताबाट उनीहरु आएका थिए प्रहरीले उनीहरुलाई उतै फकाईरहेको थियो।

प्रहरीले घर फर्काउने मात्र होइन, उनीहरुलाई मास्क लाउनु पर्छ, एक अर्कासँग हिँडिरहँदा दूरी कायम गर्नुपर्छ भनेरसमेत सम्झाई बुझाई गरेको देखियाे।

उपत्यकामा भिडभाड कम हुनुको साटो जतिजति दिन ढल्दै थियो त्यति नै मानिसहरुको जमघट बढिरहेको देखिन्थ्यो।

दिउँसो घरबाट बाहिर कतिपय कामले निस्के होलान् भने कतिपय रमाइलाे हेर्न। तर अरुबेलाकाे जस्ताे नभए पनि मानिसहरुकाे आवतजावत भने बाक्लै थियाे।

बाटोको छेउमा ठेलामा सामान बेच्न राखिएका थिए। दिउँसो बन्द भएका पसलहरु खाेलिरहेका थिए। बढ्दो चहलपहललाई प्रहरीले नियन्त्रण गर्ने कोशिस गरिरहेको थियो।

तर मानिसहरु भने प्रहरीको कुरालाई बेवास्ता गरिरहेका थिए।

यसरी मनपरी बाहिर निस्किएका काेही संक्रमित भएको खण्डमा अन्य व्यक्ति पनि संक्रमित हुने सम्भावना धेरै हुने भएका करण सरकारले देश ‘लक डाउन’ गरेका हो।

‘सरकारले रहरले ‘लक डाउन’ गरेकाे हाेइन, हाम्रै लागि हाे’ भन्ने पनि हामीले बुझ्न सकेनाैँ। हाम्राे सानाे असावधानीले देशमा भयावहस्थिति सिर्जना हुन सक्छ।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्