म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवलाले दिए कोरोना भाइरसविरुद्धको अभियानका लागि १० लाख युरो

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले स्पेनमा कोरोना भाइरस विरुद्धको अभियानका लागि १० लाख युरो सहयोग गरेका छन् । स्पेनिस गार्डिवला अहिले बार्सिलोनास्थित घरमा छन् ।

उनले विगत केही दिनदेखि सहयोग रकम उपयुक्त तरिकाले प्रयोग गर्ने उपायहरुबारे वकिलहरुसँग सल्लाह गरिरहेका थिए ।

बार्सिलोना मेडिकल कलेज र एन्जल सोलेर डानिएल फाउन्डेसनले सुरु गरेको कोरोना भाइरस विरुद्धको अभियानका लागि गार्डिवलाले सहयोग गरेका हुन् ।

कोरोना भाइरसका कारण युरोपका बढी प्रभावित देश मध्येमा पर्छ स्पेन । स्पेनमा मंगलबारसम्म कोरोना भाइरसका कारण २६ सय ९६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या झण्डै ४० हजार छ ।

गार्डिवलाले प्रदान गरेको रकम चिकित्सा सामग्री तथा स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामग्री (पिपिई) किन्नका लागि खर्च गरिने छ ।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्