ट्रम्पले सुझाएको कोभिड–१९ को ‘अचुक औषधि’ खाँदा अमेरिकामा एकजनाको मृत्यु

कोरोना भाइरसविरुद्ध काम गर्ने भनिएको क्लोरोक्वीन औषधि खाएका अमेरिकाको एरिजोनाका एक व्यक्तिको मृत्यु भएको छ । सो औषधि खाएकी उनकी श्रीमती गम्भीर अवस्थामा अस्पतालमा छिन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि क्लोरोक्वीन उपयुक्त हुने भन्दै बारम्बार सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए र उनले सो औषधिका प्रयोगका लागि सुझाव दिएका थिए ।

सोही औषधि खाएका एरिजोनाका व्यक्तिको निधन भएको हो ।

क्लोरोक्वीनलाई माछा राखिने ट्यांक सफा गर्नका लागि पनि प्रयोग गरिन्छ।

क्लोरोक्वीन खाएको केही समयपछि नै एरिजोनाका ती दम्पती बिरामी भएको एरिजोनाको अस्पताल प्रणाली बानर हेल्थले बताएको छ ।
औषधि खाएका दुवैजना ६० वर्षमाथिका हुन् ।

औषधिका कारण गम्भीर बिरामी परेकी महिलाले अमेरिकी टेलिभिजन नेटवर्क एनबिसीसँग आफूले टेलिभिजनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्रिफिङ्ग हेरेको र त्यसमा ट्रम्पले कोभिड–१९ को उपचारमा क्लोरोक्वीनको सम्भावित फाइदाहरुको कुरा गरेको सुनेको बताएकी छन् ।

सो औषधि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले मलेरिया, लुपस र आर्ग्राइटिसको उपाधिका लागि स्वीकृत गरेको छ । तर कोरोना भाइरसविरुद्ध यसले सकारात्मक काम गर्छ भन्ने कुरा प्रमाणित भएको छैन । यसमा अनुसन्धान भने जारी छ ।

औषधिका कारण बिरामी परेकी महिलाले भनेकी छन्, ‘हामीले उनको (ट्रम्प) को पत्रकार सम्मेलन हेरेका थियौँ । ट्रम्पले बारम्बार यो औषधिले कोभिड–१९ को उपचार गर्ने बताइरहेका थिए । हामी संक्रमित हुने भयमा थियौँ । त्यसैले खायौँ ।’

कोई माछाका लागि ल्याएको क्लोरोक्वीन उनीहरुको घरमा बाँकी थियो र सोही बाँकी रहेको क्लोरोक्वीन उनीहरुले खाएका हुन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा ५९२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४६ हजार पाँच सय भन्दा बढी पुगेको छ ।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्