कोरोना भाइरस महामारीः इटाली र स्पेनमा मृत्यु धेरै, अमेरिकामा संक्रमणदर अधिक

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको नयाँ इपिसेन्टर बन्ने जोखिम रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको अमेरिकामा संक्रमण दर अति तीव्र गतिमा बिस्तार भइरहेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ११ हजार ७४ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ हजार ८ सय भन्दा बढी पुगेको छ । इटालीमा ६९ हजार १७६ तथा चीनमा ८१ हजार १७१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्यामा अमेरिका विश्वमै तेस्रो स्थानमा छ । अमेरिकापछि स्पेनमा ४२ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै जर्मनीमा ३२ हजार ९९१, इरानमा २४ हजार ८११ तथा फ्रान्समा २२ हजार ३०४ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या इटालीमा तीव्र रुपमा थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ७४३ जनाको मृत्यु भएसँगै इटालीमा मृत्यु हुनेको कुल संख्या ६ हजार ८२० पुगेको छ ।

इटालीपछि स्पेनमा मृत्युदर अधिक छ । स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६८० जनाका मृत्यु भएको छ । योसँगै स्पेनमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या दुई हजार ९९१ पुगेको छ ।

यस्तै अमेरिकामा थप २२२ जनाको मृत्यु भएपछि कुल संख्या ७७५ पुगेको छ । फ्रान्समा पनि मृत्यु हुनेको संख्या २४० ले थपिएपछि ११ सय पुगेको छ ।

इरानमा थप १२२ जनाको मृत्युभएपछि कुल संख्या १९ सय ३४ पुगेको छ । पछिल्लो केही दिन यता थप मृत्यु नभएको चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२ सय ७७ रहेको छ ।

विश्वभर अहिलेसम्म कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या १८ हजार ८८७ रहेको छ । संक्रमितको कुल संख्या विश्वभर गरेर चार लाख २२ हजार ५६६ पुगेको छ । यस्तै अहिलेसम्म एक लाख ८ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्