नाकामा फसेकालाई राति नै घरतर्फ पठाइयो

नेपालगञ्ज – नेपालगञ्ज नाकामा फसेका मानिसलाई घरतर्फ पठाइएको छ । स्थानीय प्रशासनले कर्फ्यू लगाइरहँदा भारतबाट नेपाल आउँदै गरेका नेपाली नाकामा फसेका थिए । उनीहरुलाई जमुनाहा नाकाबाट बसमा ल्याई घरतर्फ पठाइएको छ ।

जनता कर्फ्यूका कारण सवारी सञ्चालन नभएकाले उनीहरुलाई नेपालगञ्ज बसपार्कबाट सवारी साधनको व्यवस्था गरेर पठाइएको छ ।
नाकामा ८७ जना फसेका थिए । त्यसमा ३५ जना बाँकेका थिए । अरु विभिन्न जिल्लाका थिए ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका व्यक्तिलाई एउटै बसमा राखेर पठाइएको छ । नाकाबाट भित्रिएका सबै मानिसको लगत लिइएको छ । नाम, ठेगाना टिपिएको छ । यी सबै मानिसको बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अवगत गराइएको छ ।
दिनभरी जमुनाहा नाकामा बसेका उनीहरुलाई लिन दुई वटा बस पुगेको थियो ।

बाँकेका एसपी वीरबहादुर ओलीले दुईवटा बसमा अटेपछि उनीहरुलाई बसपार्क लगेर त्यहाँका सम्बन्धित जिल्लातिर लैजाने व्यवस्था मिलाइएको बताए ।

देशैभरी लकडाउन र बाँकेमा कर्फ्यू भएपनि सरकारले मंगलबार एक दिनलाई नाकामा फसेका व्यक्तिलाई उद्धार गर्ने निर्णय गरेपछि नेपालगञ्ज नाकामा रहेकालाई भित्र्याइएको हो ।

बसपार्कबाट दाङतर्फ हाइस र कर्णाली प्रदेशमा बसमा पठाइएको छ । जिल्लामा दिनभरी कर्फ्यूका कारण ननिस्किएका व्यक्तिहरु साँझ परेपछि सडकमा निस्केका थिए ।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्