डेरी उद्योगीः दूध वितरणका लागि सहज वातावरण चाहियो

‘दूध फाट्ला भन्ने डर भयो’

काठमाडौँ – कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेसँगै अत्यावश्यक सेवामा पर्ने दुग्ध वितरण प्रभावित भएको छ ।

डेरी उद्योगसँग पर्याप्त मात्रामा दूध भए पनि बजारमा लैजान समस्या भएका कारण वितरण प्रभावित भएको नेपाल डेरी उद्योग संघले जनाएको छ ।

संघका अध्यक्ष राजकुमार दाहालले भने, ‘औपचारिक रुपमा उद्योग बन्द गर्ने निर्णय भएको छैन । हामी अन्तिम समयसम्म पनि सेवा दिने पक्षमा छौँ । तर कामदार उद्योगसम्म पुग्ने र त्यहाँबाट वितरणका लागि बजार जाने सहज अवस्था छैन ।’

दाहालले अघि भने, ‘कामदारहरु पनि डराएका छन् । उनीहरुले हाम्रो स्वास्थ्यमा जोखिम हुन सक्छ भनेपछि काममा आउन बाध्य बनाउन सक्ने अवस्था हुँदैन । आउन चाहनेहरुलाई पनि प्रशासनले रोकिदिँदा काठमाडौँ उपत्यकासहित देशभर दूध वितरण प्रभावित भएको छ ।’

डेरी उद्योगहरुले अहिले ७० प्रतिशत कामदार कटौती गरेको छ । अर्थात प्रशोधन तथा वितरणका लागि नभइ नहुने कामदारलाई मात्रै बोलाइएको छ । तर उनीहरुको आवतजावत सहज नहुँदा डेरी उद्योग सञ्चालनमा छन् भन्ने मात्रै भएको संघका अध्यक्ष दाहालले बताए । काममा आएकाहरुलाई माक्स तथा ग्लोभ्ससहितका सुरक्षात्मक सामग्री प्रदान गरिएको उनले बताए ।

डेरी उद्योग सञ्चालकले भने लकडाउन सम्बन्धी सरकारी निर्णयबारे स्पष्ट जानकारी तल्लो तहसम्म नहुँदा आफूहरु मर्कामा परेको र उपभोक्तालाई सेवा प्रदान गर्न पनि समस्या भएको बताएका छन् ।

नेपाल डेरीका सञ्चालक तथा डेरी उद्योग संघका पूर्व अध्यक्ष अरनिको राजभण्डारीले आफूहरुसँग पर्याप्त दूध रहेको तर वितरणमा भने समस्या भएको बताए ।

उनले भने, ‘हामीसँग पर्याप्त दूध छ । मंगलबार बेलुकासम्म किसानबाट दूध संकलन गरेका छौँ । उद्योगमा प्रशोधन पनि भएको छ । तर बजारमा लैजान पाएका छैनौँ ।’

उनले अघि भने, ‘सरकारले दूधसहितका कृषि उपजलाई अत्यावश्यक सामग्रीको सूचिमा राखेको छ र आवतजावतमा रोक नलाउने भनेको छ । तर वितरणमा गएका गाडी तथा कामदारलाई रोकिएको छ । काममा आउन चाहने कामदारहरुलाई पनि रोकिएको छ । यसले गर्दा हामीले चाहेर पनि दूध वितरण चुस्त बनाउन सकेका छैनौँ ।’

दूध भएर पनि बजारमा अभावको अवस्था आउन थालेको बताउँदै उनले भने, ‘हाम्रै उद्योग नेपाल डेरीमा उद्योगमा ७० हजार लिटर तथा ट्यांकरमा २० हजार लिटर दूध छ । तर कर्मचारी आउन नसक्दा वितरण गर्न सकेका छैनौँ । स्टोरहरु पनि बन्द भएका छन् । समन्वयमा कमजोरी भएको देखियो ।’ उनले भने, ‘हामीलाई त दूध फाट्ला भन्ने डर भएको छ ।’

काठमाडौँ उपत्यकामा दैनिक ६ लाख लिटरको हाराहारीमा दूध खपत हुने गरेको छ । हाल काठमाडौँमा झण्डै ४० वटा ठूला डेरी उद्योग सक्रिय छन् । यी सबै उद्योगमा गरेर कम्तिमा ११ लाख लिटर दूध स्टक रहेको उद्योगीले बताएका छन् ।

नेपाल डेरीका सञ्चालक राजभण्डारीले भने, ‘समन्वय गरेर हामीलाई सहज रुपमा दूध वितरण गर्ने अवस्था सिर्जना भयो हामी दूधको अभाव हुन दिँदैनौँ र मूल्य पनि बढ्दैन बरु संकटबा बेला घटाउन तयार छौँ ।’

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू