इटालीमा यसकारण भयावह बन्यो कोरोना भाइरसको संक्रमण

कोरोना भाइरसको संक्रमण इटालीमा डेढ महिना जति पहिचान नै नभएको खुलेको छ।

कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा जनवरीको सुरुमै कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । तर फेब्रुअरी २० मा आएर मात्रै संक्रमितको पहिलो पटक पहिचान भएको थियो सो क्षेत्रमा ।

पूरै जनवरी र फेब्रुअरीको सुरुका तीन हप्ता कोरोना भाइरसको पहिचान हुन नसकेका कारण धेरैमा संक्रमण फैलिएको पछिल्लो अध्ययनमा उल्लेख छ ।

लोम्बार्दी क्षेत्रको महामारीको विश्लेषणमा कोभिड–१९ को लक्षण पहिलो संक्रमण पुष्टि हुनुभन्दा हप्तौँ पहिले देखिएको खुलेको हो ।

इटालीमा कोभिड–१९ संक्रमणको इपिसेन्टरमा रहेको लोम्बार्दीमा कसरी महामारी फैलियो भन्ने बारे गरिएको अध्ययनमा परीक्षणबाट संक्रमण पुष्टि भएका झण्डै ६ हजार केसको अध्ययन भएको हो ।

इटालीको तुरिनमा रहेको इन्स्टिच्युड अफ इन्टरचेन्ज (आइएसआइ) फाउन्डेशनका सरुवारोग विरुद्धको रणनीतिकर्ता मिकेले तिज्जोनीले भनेका छन्, ‘जनवरीमै फैलिएको संक्रमण पहिचान नहुनु अति जोखिमपूर्ण हो । त्यो बेलामा शायद हामीले वुहानका बारेमा कुरामा मात्रै गरिरहेका थियौँ।’

पहिलो संक्रमण पुष्टि हुने बेलासम्म लोम्बार्दीको दक्षिणी क्षेत्रका अधिकांश बजार तथा शहरमा संक्रमण फैलिसकेको थियो । सो क्षेत्रका संक्रमित मध्ये आधालाई अस्पताल भर्ना गर्नु परेको छ । त्यसमध्येका २० प्रतिशतलाई आइसियूमा राख्नु परेको छ ।

अहिले लोम्बार्दीमा देखिएको संक्रमणको अवस्थाबाट मुक्त हुनका लागि आक्रामक र प्रभावकारी रणनीति आवश्यक रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्