काेराेना: टेकुमा अहिलेसम्म सात सय जनाको नमूना परीक्षण

काठमाडौँ – कोरोना भाइरसको संक्रमणको शंका लागेकाहरुको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा आउने क्रम बढ्दै गएको छ। पछिल्ला दिनमा दैनिक ५०–६० जनाको नमूना आउने गरेको प्रयोगशालाले जनाएको छ ।

अहिलेसम्म झण्डै सात सयजनाको नमूना परीक्षण भएकोमा एकजनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो चार–पाँच दिनयता देशभरबाट प्रयोगशालमा नमूना आउने क्रम बढेको हो ।

संक्रमण पुष्टि भएकी युवती सवार फ्रान्सबाट कतार हुँदै आएको विमानमा रहेका यात्रुहरुको नमूना पनि आउने क्रम जारी रहेको छ । उनको परिवारका पाँच सदस्यको नमूनाको परीक्षण जारी रहेको र बुधबार बेलुकासम्म रिपोर्ट आउने जनाइएको छ ।

देशभर कोरोना भाइरसको संक्रमण शंका लागेका बिरामी राखिने अस्पतालबाट पनि केन्द्रमा नै नमूना ल्याइने गरेको छ । मंगलबारदेखि लकडाउन भएसँगै विमान मार्फत ल्याइने गरेको नमूना उपत्यका बाहिरका अस्पतालले गाडी मार्फत पठाउन थालेका छन् । यस्तै कुरिअर मार्फत पनि नमूना पठाउने व्यवस्था रहेको जनाइएको छ ।

यस्तै परीक्षणको रिपोर्ट लिन प्रयोगशालानै धाउनु पर्ने बाध्यता अन्त्यका लागि सम्बन्धित व्यक्तिलाई मोबाइलमा म्यासेज गरेर रिपोर्ट प्रिन्टका लागि अनुमति दिइने व्यवस्था मिलाइएको प्रयोगशालाले जनाएको छ ।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू