खान पाउनु भएन? मलाई फोन गर्नुस्, सहयोग गर्छु

कल्याण बुढाथोकी क्षेत्री।

काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण विश्वका महाशक्ति राष्ट्रहरु पनि हल्लिरहेका छन्। युरोप र अमेरिकामा संक्रमणदर उच्च छ। कोरोना छिर्न नदिने अनेकौँ प्रयासबीच नेपालमा पनि तीन जना विरामी भेटिएका छन्।

एक जना निको भएका छन् भने दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबारदेखि ‘लकडाउन’ लागू गरेको छ। जनतालाई घरभन्दा बाहिर निस्किन दिइएको छैन। होटल, रेस्टुरेन्टदेखि सामान्य पसलहरु पनि खुलेका छैनन्।

एउटा समुदायलाई कोरोना लाग्ला कि भन्ने डर छ भने अर्कोलाई त्यति मात्र होइन, भोकभोकै मरिएला कि भन्ने पनि छ। ‘हुँदा खाने’ समुदाय कोरोनाको दोहोरो चपेटामा परेको हो। ज्यालादारी गरेर दैनिक छाक टार्ने यो समुदाय यतिबेला घरबाट बाहिर निस्कनै नमिल्ने यो परिस्थितिमा सबैको बेवास्तामा परेको छ, सरकारीदेखि निजी क्षेत्रसम्मको।

यहीबीच मंगलबार काठमाडौँको नयाँ बजारका युवा कल्याण बुढाथोकी क्षेत्रीले सामाजिक सञ्जालमार्फत घोषणा गरे,  काठमाडौँ महानगरपालिकाको वडा-१६ मा बस्ने दैनिक छाक टार्न मुस्किल परिरहेकालाई खाद्यान्न सहयोग गर्छु भन्दै। उनले आफ्नो फेसबुकमा आफूलाई सम्पर्क गर्न सकिने मोबाइल नम्बर पनि छाडेका छन्।

‘यो वर्गलाई हामीले नहेरे कसले गर्छ। कोही पनि भोकभोकै मर्नु त भएन नि’, बुधबार देशसञ्चारको सम्पर्कमा आएका कल्याणले सुरुमै भने। उनले आफ्नै वडाबासीलाई मात्र सहयोग गर्न खोज्नु पछाडिको कारण पनि छ। नजिकैको मान्छे हुने भएकाले साच्ची नै गरिब हो की होइन भनेर चिन्न पनि सजिलो हुने बताउँछन्।

‘यस्तो बेलामा गरिब नै हो भनेर प्रमाणित नै गरेपछि सहयोग नगर्ने भन्ने कुरा त आउँदैन। तर वास्तविक गरिब नै सम्पर्कमा आइदियोस् भन्ने अपेक्षा हुन्छ’, घर जग्गाका व्यवसायी कल्याण भन्छन्। पुर्ख्यौली घर गोर्खा भएका कल्याण नयाँबजारमै जन्मेहुर्केका हुन्। यस क्षेत्रमा रिक्सा चालक र ठेलागाढाका धेरै परिवार बस्ने उनी बताउँछन्।

गरिब परिवारले फेसबुकमा लेखेको कुरा थाहा नपाउन पनि सक्छ भनेर कल्याणले आग्रह गरेका छन्, यदि तपाईको सम्पर्कमा त्यस्ता कोही गरिब छन् भने मेरो सम्पर्क नम्बर दिएर भेट्न पठाई दिनु होला।

कस्तो सहयोग गर्नेछन् त कल्याणले? भन्छन्, ‘परिवारअनुसार कम्तिमा एक हप्ताका लागि चाहिने दाल, चामलसहितका अत्यावश्यक सामग्री सहयोग गर्छु।’ लकडाउन एक साताका लागि भएकाले त्यसपछि परिस्थिति सहज हुने उनको अपेक्षा छ। घरनजिकै किराना पसल भएकाले त्यहीँबाट चालम, दाललगायत सामग्री दिने उनको तयारी छ।

‘अहिले सरकारले घरबाट ननिस्क भनेको छ। यस्तो अवस्थामा दिनको कुनै समय पारेर मैले घर नजिकैबाट सामान दिने तयारी गरेको छु’, कल्याणले भने। उनले मंगलबार फेसबुकमा उक्त घोषणा गरेलगत्तै धन्यवाद दिनेको ओइरो लागेको थियो।

उनले आफ्नो घरमा बस्ने पाँच परिवारका लागि एक महिनाको भाडा पनि मिनाहा गरिदिएका छन्। ‘पैसो आउने बाटो केही छैन अनि उनीहरुले कसरी घर भाडा दिउन्?’ कल्याणले भन्छन्। आफूले घोषणा गरेपछि साथीहरुले पनि आ-आफ्नो क्षेत्रमा गरिबहरुका लागि यस्ता सहयोगको घोषणा गर्न थालेको उनले बताए। सानो-सानो क्षेत्र बनाएर गर्ने सबैले आफ्नो क्षमताअनुसार गर्ने हो भने समस्याहरु नदेखिने बताउछन्।

‘आखिर मरेर के लानु छ र। सक्ने जति सबैले गरौँ’, कल्याणको आग्रह छ।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्