ज्ञान मित्र।

कोरोना संक्रमण प्रसारित हुनुमा पहिलो-दोस्रो-तेस्रो चरणका  कुरा आइरहेका छन्। स्टेप-स्टेपका यी चरण के हुन्, अलिकति नाटकीयताका साथ लेख्ने प्रयास गर्दैछु। यसले तपाईँहरुलाई सरकारले गरेको ‘लकडाउन’ को अर्थ र आशय स्पष्ट हुनेछ भन्ने विश्वास लिएको छु।

के हुन कोरोना संक्रमणका विभिन्न चरण?

पहिलो चरण-
चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस संक्रमण विश्वका  झन्डै अधिकांश  देशमा पुगिकेपछि विदेशमा रहेका नेपालीले स्वदेश फर्किने मानसिकता राखे। यसरी विदेशबाट नेपाल फर्किनेहरुलाइ सरकारले एयरपोर्टमा ‘थर्मल स्क्रिनिङ’ गरेर मात्रै बाहिरिने व्यवस्था गर्‍यो। एयरपोर्टमा संक्रमण भए-नभएको जाँच गर्ने उपाय विश्वका कुनै पनि एयरपोर्टमा उपलब्ध छैन। एयरपोर्टमा ‘थर्मल स्क्रिनिङ’ गरेर शरीरको तापमान मात्रै जाँच्न  सकिन्छ।

कोरोना संक्रमणको यावत लक्षणहरुमा ज्वरो हुनु पनि प्रमुख हो। ‘थर्मल स्क्रिनिङ’ गरेर ज्वरो भएको थाहा पाउन सकिन्छ। ज्वरो भएको मानिसलाई एयरपोर्टबाट घर जान नदिई सोझै अस्पतालको ‘आइसोलेसन वार्ड’मा पठाउने व्यवस्था जुनसुकै मुलुकमा गरिएको छ। तर ज्वरो नदेखिएको मानिसलाई रोक्ने कुरा भएन। उसलाई १४ दिनसम्म घरमै  ‘आइसोलेसन’मा बस्ने अनुरोध गरेर घर पठाइन्छ। साथै निर्देशन दिइन्छ- यदि यस अवधिमा तपाईँलाई  ज्वरो-रुघा- मर्कीको लक्षण देखियो भने डाक्टरसँग सम्पर्क गर्नु होला। सरकारले ओइरो लागेर  नेपाल फर्किरहेका मानिसलाई योभन्दा बढ़ी केही गर्ने उपाय थिएन।

अब एउटा कथा सुनौँ-

कमल भन्ने एकजना नेपाली स्वदेश फर्किन्छन्। एयरपोर्टको  ‘थर्मल स्क्रिनिङ टेस्ट’मा उनलाई ज्वरो देखिँदैन। उनलाई १४ दिन सम्म ‘सेल्फ आइसोलेसन’मा बस्ने अनुरोध गरी घर जान दिइन्छ।कमलले एयरपोर्टमा दिएका निर्देशको पालना गर्छन्। घरमा पुगेर आमा- बुआ- भाइ-बहिनी कोहीसँग सम्पर्क नगरी आफूलाई कोठामा थुन्छन्। आमा  लामो समयपछि छोरा घर आएकोमा ख़ुशी हुन्छिन् तर छोराले आफूलाई कोठामा थुनी कोहीसँग भेट नगरेकोमा उनी दुखी पनि हुन्छिन्। आमाले छोराको एकान्तवास भंग गर्ने अनेक प्रयास गरे पनि कमलले कठोरताका साथ आफूलाई सबैदेखि पृथक राख्छन्।

घर आएको ५ दिनपछि कमललाई ज्वरो आउँछ। उनी आफूलाई पुरै  ‘प्रोटेक्ट’ गरी सोझै टेकु अस्पताल पुग्छन्, भर्ना  हुन्छन्। क्लिनिकल रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको देखिन्छ। अब त डाक्टरले उनको पूरै परिवारको संक्रमण परीक्षण गर्छन्। कमलले अपनाएको सावधानी र जागरूकताले परिवारका अन्य सदस्यहरुलाइ संक्रमण सर्न पाउँदैन। केही पहिलासम्म कमलले विदेशबाट फर्किनासाथ गरेको व्यवहारदेखि रिसाएका  सबैजना कमलको व्यवहारप्रति मनमनै  ख़ुशी हुन्छन्। कमलले सावधानी नअपनाएको भए परिवारका अन्य सदस्यलाइ संक्रमण सर्ने ठूलो जोखिम हुन सक्थ्यो। डाक्टरले कमलको उपचार गर्छन्, प्रारम्भिक स्टेजमै भएकोले केही दिनकै उपचारले उनी  संक्रमणमुक्त भएर घर फर्किन्छन्। अब उनीबाट उनको परिवार तथा अन्य कसैलाई संक्रमणको जोखिम रहँदैन। यो नै कोरोनाको पहिलो चरण हो। विदेशबाट संक्रमित भएर आएको पहिलो व्यक्तिबाट अन्य कसैलाइ संक्रमण सर्न पाएन। पहिलो चरणमै संक्रमणको निदान भयो।

दोस्रो चरण
एक जना स्थानीय युवक रमेश जुन कहिले पनि विदेश गएका थिएनन्, उनको कुनै विदेशी व्यक्तिसँग चिनापर्ची अथवा भेटघाट पनि रहेको थिएन। जाँचमा उनलाई कोरोना संक्रमण रहेको पाइयो। बिचरा रमेशलाई यो संक्रमण कसरी भयो? रमेशसँग उनले विगत १५ दिनमा गरेका सबै गतिविधिबारे सोधियो। रमेशका एकजना पुस्तक पसले मित्र विदेश यात्रा गरेर फर्किएको पाइयो। ती पसले ८ दिन पहिला विदेश भ्रमणबाट आएका रहेछन्। एयरपोर्टमा  उनको पनि  ‘थर्मल स्क्रिनिङ’ गरियो। पहिलो चरणका नायक कमलझैँ यी पुस्तक पसलेलाइ पनि ज्वरो थिएन। यिनलाई पनि १४ दिन ‘सेल्फ आइसोलेसन’मा बस्ने तथा केही समस्या देखिएमा तुरुन्तै डाक्टरसँग स‍म्पर्क गर्ने सुझाव तथा निर्देशन दिएर घर पठाइयो। तर यी ठहरे व्यापारी, यिनले पैसा र व्यापारका सामु कसैको सुझाव किन मान्थे?  घर पुगेर सबै कुरा हतारमा गर्दै पसल पुगिहाले उनी। छैटौँ दिन उनलाई ज्वरो आयो, परीक्षण गर्दा कोरोना पोजिटिभ। घरका सबै सदस्यको रिपोर्ट पनि पोजिटिभ आयो। सेल्फ आइसोलेसनमा नबसेर उनले घरका सबै सदस्यका साथै आफ्नो पुस्तक पसलमा आउने सयौँ जनालाई संक्रमण सारिदिए। रमेशलाई यी पुस्तक पसलेबाटै संक्रमण सरेको पुष्टि भयो। घरका सदस्यलाई पनि यिनैबाट संक्रमण सरेको भनी राख्नु परेन। सरकारले विभिन्न सूचना माध्यमबाट यस अवधिमा उनको पसलमा आई किनमेल- भेटघाट गर्ने मानिसको खोजी कार्य थाल्यो। यस्ता सबै जना व्यक्तिले अविलम्ब संक्रमण परीक्षण गराउनुहोस् भन्ने सूचना अनेकौँ माध्यमबाट प्रसारित गर्‍यो।

कमलझैँ पुस्तक पसले संक्रमणको पहिलो चरणकै  उदाहरण हुन्। पुस्तक पसलेबाट संक्रमित भएका घरका सबै सदस्य दोस्रो चरणका उदहारण हुन्। यसैगरी उनको पुस्तक पसलमा पुग्ने सयौँजनामध्ये कसैलाई यदि संक्रमण सरेको छ भने ती सबैजना संक्रमणको दोस्रो चरणकै पीडित हुन्।

जीवनमा यस्तो अवसर बारम्बार आउँदैन, घरमै बसेर समयको अभावले  गर्दा पूरा गर्न नसकेका आफ्ना सबै  रहर पूरा गर्नुस्। जिम्मेवार नागरिकको परिचय दिनुस्। एक महिनाभित्र स्थिति सामान्य हुन्छ। जीवन आफ्नै पुरानो लयमा फर्किन्छ। सबै साथीहरुसँग भेट हुन्छ।

तर के उनको पुस्तक पसलमा आउने सबै व्यक्तिको खोजी गर्नु सम्भव छ? के ती सयौँ जनाले अन्य हजारौँलाई संक्रमण सार्ने सम्भावना छैन र? पहिलो चरणको  एकजना संक्रमित व्यक्तिबाट ( विदेशबाट आएको व्यक्तिबाट) सयौँ जनालाई संक्रमण सर्छ। यी सयौँ जना व्यक्ति पहिलो चरणको संक्रमित व्यक्तिबाट  पीडित भएका दोस्रो चरणका संक्रमित व्यक्ति समूह हुन्।

तेस्रो चरण

के तपाईँ अब तेस्रो चरणको संक्रमणबारे  कल्पना गर्न सक्नुहुन्छ? ती सयौँ व्यक्तिले हजारौँ व्यक्तिलाई संक्रमण सार्न सक्छन्। ती  सयौँ व्यक्तिबाट संक्रमित भएका हज़ाौँ संख्या समूहका व्यक्ति तेस्रो चरणका संक्रमित हुन्। यो ‘चेन रिएक्शन’ बन्दै जान्छ। एकबाट सय, सयबाट हजार, हजारबाट १० हज़ार र यसै तरिकाले यो तीव्र गतिले अगाडि बढ्छ।  पहिलो चरण र दोस्रो चरणको संक्रमण स्रोतबारे त थाहा हुन्छ तर तेस्रो  चरणको संक्रमण स्रोतबारे थाहा पाउन गाह्रो हुन्छ।

‘लकडाउन’ किन?

नेपालकै कुरा गरौँ। एक जना कोरोना संक्रमित फेला परेका छन्। उनीबाट यो संक्रमण कतिजनामा फैलियो, केही ज्ञात हुन सकेको छैन। भनौँ दोस्रो चरणका पीडित संख्याबारे सरकारलाई केही थाहा छैन। झन् दोस्रो चरणका पीड़ितबाट कोको र कहाँ कहाँसम्म यो संक्रमण पुगिसक्यो भन्ने थाहा हुने कुरै आएन। यस्तो परिस्थितिमा संक्रमण जहाँ पुगेको छ,जति जनामा पुगेको छ त्यहीँको त्यहीँ रोक्न ‘लकडाउन’ गर्ने बाहेक कुनै अर्को उपाय छैन। सबै नेपालीलाई हेक्का रहोस्, ‘लक डाउन’ हुनुभन्दा पूर्व जो जसलाई संक्रमणले भेटिसकेको छ, तिनको सुरक्षाका लागि होइन, बरु तिनीहरुबाट अन्य नेपालीलाई संक्रमण नसरोस् भन्ने उपायका लागि ‘लकडाउन’ गरिएको हो।

तपाईँ यदि सरकारको आग्रह बमोजिम ( म यसलाई निर्देशन वा उर्दी भन्दिन। यो समस्त नेपालीजनलाई सरकारले गरेको निवेदन हो, आग्रह हो, बिन्ती हो) तपाईँ हामी आफ्नो घरमै रहेर आफ्नो सुरक्षा आफैँ गर्छौँ भने हामी दोस्रो अथवा तेस्रो चरणका संक्रमित व्यक्तिबाट जोगिन्छौँ। प्रत्येक मित्रले याद गर्नुस्, यो मात्र तपाईँको सुरक्षाका लागि होइन, बरु तपाईँका घर-परिवार-आफन्त-मित्र-छिमेकी – गाउँले -नगर – देश – र सम्पूर्ण विश्वका मानवको सुरक्षार्थ  ‘लकडाउन’ गरिएको हो।

यस अवधिमा  पहिलोबाट  दोस्रो, दोस्रोबाट तेस्रो अथवा तेस्रोबाट चौथो चरणमा पुग्न ‘ब्रेक’ लाग्छ। संक्रमणको ‘चेन प्रक्रिया’ खण्डित हुन्छ। संक्रमित भइसकेका व्यक्ति ‘लकडाउन’को अवधिमा अस्पताल पुग्छन्। दुई सातापछि हाम्रो छेउछाउ-नजिक-गाउँठाउँमा संक्रमित व्यक्ति हुने छैनन्।

यो विश्वास गर्नुस्- सरकारमा बसेका (विभिन्न देशका ) व्यक्ति न त तपाईँका दुश्मन हुन्, न मुर्ख।

उनलाई पनि ‘लकडाउन’को दुष्प्रभावबारे तपाईँ र मभन्दा बढ़ी नै थाहा छ। पछिका दिनमा मच्चिने हाहाकारको सामना सरकारले नै गर्नु पर्ने हुन्छ। तपाईँ र मलाई आफ्नो परिवारको मात्रै फिक्री हुन्छ भने सरकारले लाखौँ परिवारको उत्तरदायित्व बोक्नुपर्ने हुन्छ। अत्यावश्यक आवश्यकता बाहेक चिया- दूध- तरकारी -नून -चिनीको पछि लागेर अवज्ञा नगर्नुस्। जीवनमा यस्तो अवसर बारम्बार आउँदैन, घरमै बसेर समयको अभावले  गर्दा पूरा गर्न नसकेका आफ्ना सबै  रहर पूरा गर्नुस्। जिम्मेवार नागरिकको परिचय दिनुस्। एक महिनाभित्र स्थिति सामान्य हुन्छ। जीवन आफ्नै पुरानो लयमा फर्किन्छ। सबै साथीहरुसँग भेट हुन्छ। विश्वास गर्नुस्, त्यस बेलाको जीवन र भेटघाट झनै मधुर हुन्छन्। बरु अहिलेदेखि नै सोच्न थाल्नुस्, स्थिति सामान्य भएपछि तपाईँ सबैभन्दा पहिला कसलाइ भेट्न चाहनु हुन्छ?

म सबैभन्दा पहिला राम थपलियालाई भेट्छु, क्रमशः मनोज दाहाल, लक्ष्मी बस्नेत, सुस्मिता थापा, बारबरा माइज्यू , छत्र कार्की, जीवेन्द्र सिम्खडा, मनोज गजुरेल, सरोज ज्ञवाली,आशीष पौडेललगायतका मित्रहरुलाई भेटेर घर बसाइको अनुभव साझा गर्छु।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्