लकडाउनमा करिश्मा मानन्धर घरमै बसेर के-के गर्दैछिन्?

काठमाडौँ– चैत १२ गते, बुधबार

कोरोना भाइरस संक्रमणको त्रासको कारणले नेपाल लकडाउन भएको आज दोस्रो दिन हो। सरकारले अतिआवश्यक काम बाहेक अन्य काममा बाहिर ननिस्कनू भनेर आग्रह गरेको छ। अभिनेत्री करिश्मा मानन्धर सरकारको अनुरोध मानेर बसेकी छन्। उनी गोदावरीको टौखेलस्थित आफ्नै घरमा बसिरहेकी छन्।

उनीमात्र हैन, घरमा अहिले उनी ८६ वर्षकी सासूआमा पनि छिन्, अनि करिश्माका श्रीमान् बिनोद मानन्धर पनि घरमै बसिरहेका छन्।

देशसञ्चारसँगको फोन संवादमा करिश्माले भनिन्, ‘हामी धेरै अगाडिबाट सेल्फ क्वारेनटाइनमा छौँ। मैले यो वर्ष फागुपूर्णिमाको कार्यक्रम पनि मनाइन।’

करिश्मा कोभिड १९ को विषयमा पहिलादेखि नै सचेत रहेको बताउँछिन्। त्यसैले जनवरी तेस्रो सातातिर चीनमा कोरोना भाइरस संक्रमण देखिएसँगै उनले सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिति पातलो बनाउन थालेको बताइन्।

अहिले सरकारले लक डाउन गर्नुभन्दा केही दिन अगाडिबाट नै करिश्मा आफ्नो घरमा बसेकी थिइन्। उनकी ८६ वर्षकी सासूआमा अहिले उनीसँगै भएकाले उनी अझै चनाखो भएकी छिन्। सासूआमा बेलायतबाट आएकी हुन्। सासूआमा नेपाल आएपछि उनको बेलायतका परिवारसँग धेरै छलफल भएको छ। यसले उनलाई रोगका बारेमा बुझ्न र सामाजिक दूरीको आवश्यकता महशुस गराएको थियो।

कोरोना भाइरसको जोखिममा वृद्ध अवस्थामा भएका व्यक्तिहरु हुने भएकाले पनि करिश्मा बढी सचेत छिन्।

कसरी बित्दैछ त करिश्माको लकडाउनको समय

अभिनेत्री करिश्माले लकडाउनको समय सकेसम्म उपलब्धिमूलक बनाउन प्रयास गरेको बताइन्। ‘मैले घरमा पछि गरौँला भनेर राखेको धेरै कामहरु अहिले सहयोगीको सहयोगमा गरिरहेका छौँ,’ करिश्माले भनिन्, ‘म त दिनको एउटा एउटा काम सकिरहेको छु।’

करिश्माले घरका सामानहरु मिलाउने, नयाँ पुराना कपडा छुट्टाउने र सरसफाइको काम सहयोगीलाई साथ लिएर गरिरहेकी छन्। मंगलबार उनले बगैँचामा फूलहरुको झार निकाल्ने र साँझमा फूल सार्ने योजना सुनाइन्।

करिश्मालाई आफ्ना श्रीमान् बिनोद घरै बसेको देखेर पनि अचम्म लागिरहेको छ। उनले भनिन्, ‘बिनोद अहिले आमासँग समय बिताइरहेका छन्। अरु बेला आमा आएको बेलामा बिनोद कामको लागि बाहिर गइरहेका हुन्थे।’ केही दिन अगाडि उनले सासूआमासँग बिनोद मानन्धर घाम तापेर निदाइरहेको स्टोरी फेसबुकमा सार्वजनिक गरेकी थिइन् ।


करिश्मा मानन्धरकी छोरी भने अहिले बुढानिलकण्ठस्थित घरमा छिन्। उनी आफ्नो साथीसँग बसिरहेको र सुरक्षित भएको जानकारी करिश्माले दिइन्।

उनले सरकारले लकडाउन गरेपछि निषेध गरेका क्रियाकलाप नगर्न आग्रह पनि गरिन्। सरकारले केही नसोची निर्णय लिँदैन। महामारी भयो भने र स्थिति नियन्त्रणभन्दा बाहिर गयो भने यो आफ्नै क्षतिको कारण हुन सक्ने भएकोले पनि सरकार भनेको मान्नुपर्ने उनले बताएकी छन्।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्