कोरोना भाइरसको संकटमा के गर्दैछन् नेताहरु?

काठमाडौँ – देश यति बेला कोरोना भाइरसको संक्रमणको डरले आक्रान्त छ।

सरकार र नागरिक एक भएर कोभिड १९ महामारीविरुद्ध लडिरहेका छन्। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समन्वय समितिले कोरोना नियन्त्रणका लागि गर्नुपर्ने सबै नीति निर्णय लिरहेको छ।

समितिले मंगलबारदेखि चैत १८ गतेसम्मका लागि देशैभर लकडाउन घोषणा गरेको छ। समितिको बैठक दैनिक जसो बसेर महत्वपूर्ण निर्णयहरु लिँदै आएको छ। समितिअन्तर्गतका कार्यदल पनि उत्तिकै सक्रिय भइरहेका छन्।

तर देशको प्रमुख कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली कारोनाविरुद्धको लडाईंमा पर्दा पछाडि छन्। कोरोना नियन्त्रणका लागि सरकारले लिनुपर्ने सबै निर्णयको जिम्मेवारी प्रधानमन्त्री ओली संयोजक पोखरेललाई सुम्पेको प्रेस सल्लाहाकार सूर्य थापा बताउँछन्।

तर पनि ओली अरु शीर्ष नेताहरु जसरी सेल्फ क्वारेन्टाइन भनेर भेटघाट र अरु कामलाई पूर्ण रुपमा नियन्त्रण गरेर बसेका छैनन्। शीर्ष नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायका नेताहरु एक हप्तादेखि पूर्ण रुपमा सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

लक डाउनपछि भेटघाटलाई केही नियन्त्रण गरे पनि उनले अत्याआवश्यक भेटघाटलाई निरन्तरता दिइरहेको थापाले बताए।

पोखरेलले महत्वपूर्ण निर्णय लिनुअघि परामर्श गर्न र निर्णयपछि ब्रिफिङका लागि बालुवाटार पुग्छन्। ‘लक डाउन घोषणापछि भेटघाटलाई नियन्त्रित बनाएका छौं। अरु समय उहाँ आराम, व्यायाम र अध्ययन गरिरहनुभएको छ।उहाँको दैनिकीमा ठूलो अन्तर छैन, थापाले भने।

यो अवधिमा राज्य सञ्चालनका विषयमा छलफल भेटघाट भए पनि पार्टी सञ्चालनका विषयमा भने कुनै कुराकानी र भेटघाट नभएको सचिवालयका अरु सदस्य पनि बताउँछन्।

भर्खर दोस्रोपटक मिर्गौला प्रत्यारोप गरेर फर्र्किएका ओलीलाई पर्याप्त आराम गर्न र संक्रमणको जोखिम भएका त्यसबाट बच्न चिकित्सकहरुले सुझाव दिएका छन्। स्वास्थ्य अवस्थाका कारण पनि प्रधानमन्त्री ओलीलाई धपेडी गराउन नहुने कुरामा पार्टी र सचिवालयका सदस्यहरु एक मत छन्।

गएको आइतबार बालुवटारमा मन्त्रिरिषद्को बैठक राखेर ओलीले चैत १० बिहान १० देखि १६ गतेसम्म भारत र चीन दुवैतर्फका सीमा बन्द गर्ने, कोभिड १९ विरुद्ध लड्न, ५० करोडको केन्द्रीय कोष खडा गर्न र सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि विकास गर्ने निर्णय गराए। त्यसपछि ओली कुनै पनि औपचारिक भेटघाट वा कार्यक्रममा देखिएका छैनन्।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्