‘लक डाउन’को दोस्रो दिन हुम्लामा जे देखियो

जिल्ला विपद व्यवस्थापन समितिकाे बैठक।सबै तस्बिर: राजन रावत/देश सञ्चार।

सिमकोट– ‘लक डाउन’को दोस्रो दिन हुम्लामा आंशिक प्रभाव परेको छ। लकडाउनकाे सदरमुकाम सिमकोटमा आंशिक रुपमा पालना भएपनि सिमकोट बाहिर भने स्थानीयले थाहा पाएर पनि त्यसको कुनै प्रवाह गरेका छैनन्।

बिहानैबाट सदरमुकाम सिमकोटमा कुनै पनि पसलहरु खुलेनन् भने जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार दिउँसो १ बजेबाट ३ बजेसम्म दुई घण्टाका लागि पसलहरु खुल्ला गर्नु पर्ने भएपनि पसलहरु पनि खासै खुलेनन्।

अरुबेलाकाे जस्ताे नभएपनि बजारमा मानिसहरुकाे उपस्थिति देखिन्थ्याे। स्थानीय प्रशासनले ठाउँठाउँमा प्रहरी परिचालन गरेर सर्वसाधारणलाई सचेत गराउँदै आएको छ। प्रहरीले लकडाउनको समयमा घर बाहिर ननिस्कन माइकिङ पनि गरिरहेको छ। पहिलो दिनभन्दा दोस्रो दिनमा लकडाउन सफल भएको प्रहरीले जनाएको छ।

मानिसहरु पनि मुख्य बजारमा काम विशेष बाहेक घर बाहिर कमै निस्केका देखिन्थ्ये। सबैमा कोरोना भाइरसकाे त्रास देखिएकाे स्थानीय ध्वज बहादुर सिंहले बताए। कामले बाहिर निस्केका अधिकांश मानिसहरुले मास्कको प्रयोग गरेका छन्। बालबालिकाहरु बाहिर निस्केका छैनन्।

त्रासका बीच मानिसहरु घरको सरसफाई गर्ने, कोठा मिलाउने, खानेपानीको धारा निर्माण गर्ने, कपडा धुने, कपडा मिलाउने, टिभि हेर्ने काम गरिरहेका छन्।

किसानहरु भने खेतबारीमा काम गरिरहेका छन्। सदरमुकाम सिमकोटकै भित्री भागमा भने मानिसहरु आफ्नो काम गर्न व्यस्त देखिन्थे। सिमकोट आउने तीन वटा नाकाबाट प्रहरीले कसैलाई पनि छिर्न दिएको छैन।

लकडाउनको प्रभाव गाउँगाउँमा भने खासै देखिएकाे छैन। खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ छिप्राका दिनेश हमालले कोरोना भाइरसको कारण सुरु भएको लकडाउन बारे जानकारी भएपनि गाउँमा मानिसहरु बाहिर निस्किरहेकाे बताए।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्