स्पेनमा एकै दिन ७ सय ३८ को मृत्यु, कुल ज्यान गुमाउने चीनभन्दा बढी

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या चीनमा भन्दा धेरै भएको छ। बुधबार एकै दिन स्पेनमा थप ७ सय ३८ जनाको मृत्यु भएपछि स्पेनमा कोभिड १९ का कारण ज्यान गुमाएको संख्या यो भाइरसको सुरुवात भएको चीनमा भन्दा धेरै भएको हो।

स्पेनमा हालसम्म ३४ सय ३४ जनाको कोभिड १९ का कारण ज्यान गएको छ। चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ सय ८१ रहेको छ। चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तथा यसका कारण हुने मृत्यु लगभग नियन्त्रणमा आएको छ।

तर युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ। इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ।

कोभिड १९ ले सबैभन्दा धेरैको ज्यान लिएको इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८२० रहेको छ। कोरोना भाइरसका कारण इरानमा २ हजार ७७, फ्रान्समा ११ सय तथा अमेरिकामा ७ सय ८५ जनाको मृत्यु भइसकेको छ।

संक्रमित हुनेको कुल संख्याअझै पनि चीनमा धेरै छ। चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर कुलचार लाख ३८ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै विश्वभर ज्यान गुमाउनेको संख्या १९ हजार ६५६ रहेको छ। एक लाख ११ हजार ९२३ जना निको भएर घर फर्किएका छन्।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्