कोभिड–१९ का सिकिस्त बिरामीको उपचारमा चुनौती

सरकारको दाबी र ठूला अस्पतालका आईसीयु बेडको यथार्थ

काठमाडौँ- कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा आफ्नो तयारी तीब्र पारेको दाबी गर्ने सरकारको त्यसबाट हुन सक्ने सिकिस्त बिरामीका लागि अत्यावश्यक आईसीयु र भेन्टिलेटर सेवा भने निकै कमजोर पाइएको छ। यस्तै हालै कोभिड–१९को उपचारलाई लक्षित गर्दै २० बेडको आईसीयु थप्न सरकारले अस्पतालहरुलाई दिएको निर्देशन कार्यान्वयन पनि तत्कालै सम्भव देखिन्न।

पटकपटक मुलुकमा विपद् या असहज परिस्थिति आइपरेपनि आईसीयु जस्तो गम्भीर तथा संवेदनशील सेवा विस्तारमा सरकारले चासो नदेखाउँदा त्यसको नकारात्मक परिणाम झेल्नु पर्ने अवस्था सिर्जना भएको हो ।

आईसीयु सेवा विस्तार गर्ने या भेन्टिलेटर किन्ने पटकपटक निर्णय गरेको सरकारले त्यो ‘ह्यान्डल’ गर्ने दक्ष जनशक्तिको ‘टिम’ को विकास र त्यसको सही नेतृत्व छनौट गर्न नसक्दा अहिले कोभिड–१९ जस्तो विश्वभरी आतंक मच्चाइरहेको संक्रमण रोक्न र त्यसका सम्भावित सिकिस्त बिरामीको उपचार कसरी गर्ने भन्ने विषय खासगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई टाउको दुखाई बनेको छ। सरकारी र विश्वविद्यालयद्धारा सञ्चालित अस्पतालमा आइसीयु र भेन्टिलेटरसहितका आइसीयु कति छन् भन्ने यकिन तथ्याङ्क समेत छैन। हालै क्रिटिकल कियर सोसाइटीले गरेको टेलिफोन सर्भे अनुसार उपत्यकाका सरकारी तथा निजी अस्पताल गरी २५० वटा आईसीयु बेड छन्।

त्यसमाथि कोभिड–१९ जस्तो संक्रमणको उपचारका लागि चाहिने दक्ष जनशक्तिसहितको आइसीयु बेड १२० मात्रै छन्। उपत्यकाका खासगरी कोभिड–१९को उपचार गर्न तयार भएका भनिएका ठूला अस्पतालको आइसीयुको अवस्था कस्तो छ? त्यसलाई यहाँ संक्षिप्तमा केलाउने प्रयास गरिएको छ।

३ बेडको आईसीयुको भरमा छ टेकु अस्पताल


कोभिड–१९ को आशंकामा कलंकीस्थित नेशनल हस्पिटलले हालै एक महिलालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ‘रेफर’ गर्‍यो। सिकिस्त उनलाई तत्कालै आईसीयुको आवश्यकता थियो। उनको जाँचपछि अस्पतालका चिकित्सकहरु सोचमग्न भए।

एकअर्कासँग आँखाको इशारामा कुरा गरे। अस्पतालमा ३ बेडको मात्रै आईसीयु छ। खाली बेड एउटा मात्रै थियो। कोभिड–१९को संक्रमणबाट गम्भीर अरु कोही बिरामी आए के गर्ने ? ज्यान बचाउन अन्ततः ती महिलालाई आइसीयुमा राखियो। तर चिन्ता हटेन चिकित्सकको।

अस्पतालको ‘आइसोलेसन वार्ड’मा भर्ना गरिएका बिरामीमा कोभिड–१९ पुष्टि हुने क्रम बढ्दैछ। बुधबार थप एक जनामा संक्रमण देखियो। यी बिरामीलाई कुनै पनि बेला आइसीयु चाहिन सक्छ।

‘आईसीयु बेड’ र ‘भेन्टिलेटर’को अभावमा कोभिड–१९का सिकिस्त बिरामीलाई कसरी बचाउने भन्ने पिरलोमा छन् अस्पतालका चिकित्सक। कोभिड–१९ को रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकको निर्णय कार्यान्वयका क्रममा अस्पतालमा २० वटा आईसीयु बेड थप्ने प्रक्रिया सुरु भएको छ तर त्यसले तत्काल पूर्णता पाउने सम्भावना छैन।

अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी भन्छन्, ‘आइसीयु थप्ने काम आफैँमा जटिल हो। यसले समय लिन्छ। तत्कालै आईसीयुका लागि उपकरण लगायत अन्य सामाग्री पाउन मुस्किल छ। तर पनि हाम्रो कोशिश जारी छ।’ सरकारले तत्काललाई कोभिड–१९ को मात्रै उपचार गर्न निर्देशन दिएपछि अस्पतालका चिकित्सकमाथि चार ठूला चुनौती थपिएका छन्।

कोभिड–१९ संक्रमित बिरामीलाई बचाउने उनीहरुको पहिलो चुनौती बनेको छ। कोभिड–१९ को आशंकामा उपत्यकासँगै बाहिरका अस्पतालहरुले ‘रेफर’ गरेका बिरामीलाई ‘आइसोलेशन वार्ड’ मा राखेर उनीहरुको ‘थ्रोट स्वाब’ संकलन गरी जाँच लागि पठाउने अर्को चुनौती छ। गम्भीर बिरामीलाई आइसीयुमा ब्यवस्थापन र उपचार झनै जटिल छ।

‘एन९५ मास्क’ समेत पाउन मुस्किल परेका बेला संक्रमितको उपचारका क्रममा आफूहरु कसरी जोगिने भन्ने अर्को चुनौती छ उनीहरुसामु। आईसीयुको व्यवस्थापनलाई लिएर निर्देशक राजभण्डारी लगायत वरिष्ठ चिकित्सक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धाइरहेका छन्। तर मन्त्रालयलका अधिकारीहरुलाई त्यो सुन्ने फुर्सद छैन।

पूर्वतयारीका लागि आफूहरुका कुरा माथिल्लो निकायले नसुनेकोमा अस्पतालको प्रवक्ताको जिम्मेवारी सम्हालेका प्रमुख कन्सलट्यान्ट ट्रपिकल मेडिसिन डा.अनुप बास्तोला निराश छन्।

डा. बास्तोला भन्छन्, ‘हाम्रा कुरा सुनिदिने कोही छैन। अब जे जे चुनौती आउँछ, सामना गर्नुको विकल्प छैन।’ जबकि टेकु अस्पतालमा आईसीयु बेड थप्ने योजना आज भन्दा १० वर्ष अघिको हो।

तर त्यसमा स्वास्थ्य मन्त्रालयले कानमा तेला हालेर बस्यो। खासगरी राजनीतिक संक्रमण लम्बिदा पटकपटक फेरिने स्वास्थ्य मन्त्रीहरुको प्राथमिकतामा आईसीयु सेवा विस्तार परेन। कोभिड–१९ को त्रासमा हाल आएर फेरि २० बेड बढाउने निर्णय गरिएको छ । चिकित्सकहरु मन्त्रालयलाई लक्षित गर्दै उखान हाल्छन्, ‘जब पर्‍यो राती तब बुढी ताती।’

पाटन भन्छन्: आवश्यकता परे २१ वटै बेड दिन सक्छु


उच्चस्तरीय समितिले टेकुसँगै अन्य चार अस्पताललाई कोभिड–१९ को उपचारका लागि तोकेको छ। कोभिड–१९ का आशंकामा हाल ६ जनालाई ‘आइसोलेसन’ वार्डमा राखेर उपचार गरिरहेको अस्पतालले त्यससँग सम्बन्धित गम्भीर बिरामी आए तत्काल आईसीयुको एक मात्रै बेड दिन सक्छ। एकै पटक धेरै सिकिस्त संक्रमित बिरामी आए के गर्ने भन्ने विषय पाटनका लागि पनि टाउको दुखाई बनेको छ।

तर अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मा भन्छन्, ‘हामीसँग २१ वटा आईसीयु बेड छन्। हाल सबै खाली नभएपनि हामी कोभिड–१९ का बिरामीलाई आवश्यक परे व्यवस्थापन गछौँ। भेन्टिलेटर १४ वटा छन्।’

तर अस्पतालमा कोभिड–१९ का मात्रै बिरामी जाँदैनन्। अन्य रोगले सिकिस्त भएर जानेलाई कोभिड–१९का लागि मात्रै छुट्याइएको हो भन्दै आईसीयुबाट बञ्चित गराउन मिल्छ त ? यो प्रश्न स्वास्थ्य मन्त्रालयकै उच्चस्तरीय बैठकहरुमा पटकपटक उठिरहेको छ।

सरकारको निर्णय अनुसार २० वटा आईसीयु थप्ने काम तत्काल सम्भव छ ? भन्ने प्रश्नमा डा. शर्माले आफूहरुसँग थप आईसीयु निर्माणका लागि ठाउँ नै नभएको जबाफ दिए।

उनी थप्छन्, ‘चीनमा कोभिड–१९ देखिएपछि हामीले आफैले पूर्वयोजना अनुसार हतारहतार आईसीयु थपेको हो। तर सरकारले पछिल्लो समय गरेको निर्णय कार्यान्वयन हुन समय लाग्छ। टेन्डर देखि सबै काम गर्नु पर्ने हुन्छ। सप्लार्यसले कहिले सामान ल्याउला?’

आईसीयुको ‘सेटअप’ विस्तार अहिले मात्रै देखिएको चुनौती होइन। त्यसलाई उचित ‘ह्यान्डल’ गर्ने जनशक्ति पनि निकै कम भएको त्यसमा काम गर्दै आएका सिनियर चिकित्सकहरु बताउँछन्। पाटनको आईसीयु हेरिदिन त्रिवि शिक्षण अस्पतालको आईसीयु टिमलाई आग्रह गरिएको छ।

तर आफैँमा उपचारको दबाबमा परेको शिक्षण अस्पतालले त्यसमा सहयोग नगर्ने बताएपछि पाटन तनावमा छ। डा. शर्मा भन्छन्, ‘आईसीयुमा काम गर्ने जम्माजम्मी ४० जनाको टिम छ। त्यो सूची हामीले मन्त्रालयमा पनि बुझाएका छौँ। तर आवश्यकता अनुसार जनशक्ति अहिले पनि कम भएको म स्वीकार गर्छु।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयु। तस्बिर: अस्पताल स्रोत

वीरले तत्काललाई १ र केहीदिनपछि १० बेड छुट्टाउने


सरकारको निर्देशन अनुसार वीरले पनि आफूलाई कोभिड–१९ का बिरामीलाई उपचारका लागि तयार पार्दै छ। तर जब सिकिस्त बिरामीका लागि आईसीयु आवश्यक पर्छ त्यतिबेला वीरले पनि चुनौती नै सामना गर्नु पर्ने स्थिति छ। पाटन अस्पतालको तुलनामा वीरमा आईसीयु बेड धेरै छन्। वीरको आईसीयुमा २६ वटा बेड छन्।

तर, ती बेडमा अन्य रोगका बिरामीलाई पनि राख्नु पर्ने अस्पतालको स्वाभाविक बाध्यता बन्न आउँछ। त्यस्ता बिरामी भर्ना हुने क्रम जारी छ। तर, तुरुन्तै कोभिड–१९को गम्भीर बिरामी अस्पतालमा आएमा वीरले ‘भेन्टिलेटर’ सहितको एउटा आईसीयु बेड मात्रै दिन सक्छ। सरकारको आदेश अनुसार वीरले केही दिनमा १० वटा आईसीयु बेड भने गरिसकेको छ कोभिड–१९ का बिरामीका लागि।

तर, नयाँ १० बेडसहितको आईसीयुको ‘सेटअप’मा वीरले पनि टेकु र पाटनले जस्तै समस्या झेल्दैछ। अस्पतालका निर्देशक डा. केदार सेञ्चुरी भन्छन्, ‘खरिद प्रक्रियामा समय लाग्छ। उपकरण पाउन मुस्किल पर्छ। स्थानीय एजेन्टसँग त्यस्ता उपकरणको कमी छ। बाहिरबाट आउन पनि त्यति सजिलो छैन अहिलेको अवस्थामा।’

यसका अतिरिक्त आईसीयुमा बिरामीको उपचार गर्दा चिकित्सक, नर्स या अन्य स्वास्थ्यकर्मीले प्रयोग गर्नै पर्ने व्यक्तिगत सुरक्षा कवच पनि निकै कम भएको त्यहाँका चिकित्सक बताउँछन्। आईसीयु विभागका प्रमुख डा. रविराम श्रेष्ठ भन्छन, ‘व्यक्तिगत सुरक्षाकवच अति नै जरुरी छ। हामी पूर्ण सुरक्षित रहन सकेनौ भने हामी नै क्वारेन्टाइनमा जानु पर्ने अवस्था आउँछ । अनि कसले गर्ने सिकिस्त बिरामीको उपचार?’

जनशक्तिको अभाव पनि उत्तिकै ठूलो समस्याका रुपमा देखिएको छ । वीरमा आईसीयुमा उपचारका लागि खटिने नर्सहरुको सबैभन्दा धेरै कमी छ। डा. श्रेष्ठ भन्छन्, ‘एउटा बिरामीलाई उपचार गर्न दिनमा चार जना नर्सहरु खटिनु पर्छ। बेड बढ्दै जाँदा नर्सिङ स्टाफको कमी हुनेछ । त्यसको व्यवस्थापन अहिलेको चुनौति हो। उनी थप्छन्, ‘केही साता हामी अहोरात्र नै खटिएर उपचार दिन सकौंला तर लगातार उपचार गर्दा हामी पनि थकित हुने छौँ। त्यस्तो बेला पालो दिनलाई पर्याप्त जनशक्ति हुनुपर्छ।’

सैनिक अस्पतालसँग छैन बेड कोभिड–१९का बिरामीका लागि


छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई पनि कोभिड–१९ को उपचारका लागि २० वटा आईसीयु बेड थप्न सरकारले आग्रह गरेको छ। हाल १० वटा आईसीयु बेडमा काम चलाइरहेको अस्पतालसँग कोभिड–१९का बिरामीका लागि आइसीयु छुट्याइएको छैन।

नेपाली सेनाले छाउनीबाहेक पोखरा, इटहरी र नेपालगञ्जका अस्पतालमा पनि २/२ वटा आइसीयु बेड निर्माण गरेको छ। तर उपत्यका बाहिर भेन्टिलेटरसहितको आइसीयु नेपालगञ्जमा मात्रै छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, ‘सरकारले अस्पतालमा थप २० वटा आइसीयु बेड निर्माणको लागि आग्रह गरेको छ। भोली त्यसको टेन्डर हुँदै छ। कुनै समस्या आएन भने १० दिनभित्र क्रिटिकल केयर युनिट सहित आईसीयु बेड तयार हुने हाम्रो अपेक्षा छ।’

शिक्षण अस्पतालका १९ वटै बेडमा पुराना बिरामी


शिक्षण अस्पताललाई सरकारले कोभिडि–१९ को उपचार गर भनेर सिधै निर्देशन दिन सक्दैन। तर एउटा ठूलो विश्वविद्यालयको अस्पतालका नाताले यो अस्पतालले हाल ‘फिबर क्लिनिक’ चलाइरहेको छ। र कोभिडि–१९को आशंका लागेमा उ पनि बिरामी ‘रेफर’ गर्न बाध्य छ।

आइसोलेसन वार्डका लागि ठाउँ अभाव भएको अस्पतालका निर्देशक डा. प्रेम खड्गा बताउँछन्। यस्तै खड्गाका अनुसार अस्पतालमा भएको ११ बेडको जेनेरल आईसीयुमा बिरामी भरीभराउ छन्। एमआइसीयुमामा रहेका ८ बेडमा पनि बिरामी छन्।

विकल्पमा तयार गर्न लागिएको सशस्त्र प्रहरीको यो अस्पताल


बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताललाई कोभिड–१९ को उपचारका लागि मात्रै तयार पार्ने सरकारले केही दिन अघि मात्रै घोषणा गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यो तयारीको जिम्मेवारी लिएको छ।

कोभिड–१९ को आशंकित र संक्रमित दुवै बिरामीको उपचार यो अस्पतालमा गर्ने भनिएको छ। आफूहरुले त्यसमा समन्वय गरिरहेको सशस्त्र प्रहरीको भनाई छ। ६ वटा आइसीयु बेड रहेको अस्पतालमा अब २० वटा नै आइसीयु बेड सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रविनकुमार श्रेष्ठ भन्छन्, ‘उपचारका लागि अस्पताल तयार पार्ने काम सुरु भइसकेको छ। उपचारका लागि हाम्रा केही युनिटलाई खाली गर्दै छौँ। आवश्यक सामाग्रीका लागि टेन्डर आव्हान पनि भएको छ।’

श्रेष्ठले जतिसक्दो छिटो अस्पताललाई तयार पार्ने काममा आफूहरु जुटेको बताए। सशस्त्र प्रहरीको एउटा इटहरी र एउटा बाँकेमा पनि अस्पताल सञ्चालनमा छन्।

तर बलम्बुका सामु कोभिड–१९ को उपचारका लागि उपकरण लगायत सामग्री खरिद १० दिन भित्र सकेपनि जनशक्ति जुटाउन  भने सहज छैन।

 

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू