इरानमा १३ वर्षदेखि बेपत्ता अमेरिकी एजेन्टको जेलमै मृत्यु

अमेरिकाको फेड्रल ब्यूरो अफ इनभेस्टिगेशन (एफबिआई) का एक पूर्व एजेन्टको इरानमा जेलमै निधन भएको उनको परिवारका सदस्यले बताएका छन् ।

१३ वर्षअघि इरानको एक आइल्याण्डको भ्रमणको क्रममा बेपत्ता भएका उजेन्ट रोबर्ट लेविन्सनको इरानकै जेलमा निधन भएको उनको परिवारका सदस्यले बताएका हुन् ।

अमेरिकी अधिकारीबाट प्राप्त जानकारी अनुसार लेविन्सनको निधन भएको उनको परिवारले बताएको हो । उनको परिवारले भनेको छ, ‘हामीलाई परेको पीडा परिभाषित गर्न असम्भव छ ।’

लेविन्सनको निधन कोरोना भाइरसको विश्वव्यापी महामारी भन्दा पहिले नै भएको जनाइएको छ । अमेरिकाको इतिहासमा आफ्ना कुनै पनि अधिकारी विदेशी भूमिमा सबैभन्दा लामो समय बन्धक बन्नेमा पर्छन् लेविन्सन ।

उनी सन् २००७ मा इरानको किश आइल्याण्ड भ्रमणमा गएका बेला बन्धक बनाइएका थिए । उनी अमेरिकाको गुप्तचर निकाय सिआइएको मिसनका लागि काम गर्न इरान गएको परिवारका सदस्यले बताएका छन् ।

लेविन्सन सन् १९९८ मा एफबिआईबाट अवकास प्राप्त गरेका थिए । तर शिकमा व्यक्तिगत अनुसन्धानकर्ताका रुपमा कार्यरत थिए ।

उनलाई इरानका गुप्तचर अधिकारीले अपहरण गरेको र वासिङ्गटनलाई दबाबमा राख्ने माध्यमका रुपमा प्रयोग गर्न चाहेको अमेरिकी अधिकारीले बताउने गरेका थिए ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्