अमेरिकामा कोरोना भाइरस महामारी: संक्रमण तीव्र, मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार अहिलेसम्मकै उच्च भएको छ।

अमेरिकाका विभिन्न राज्यमा गरेर बुधबार एकै दिन दुई सयजना भन्दा बढीको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा २४७ जनाको ज्यान गएसँगै अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।

हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण एक हजार २७ जनाको मृत्यु भएको छ । अहिले संक्रमण दर पनि अरु देशमा भन्दा अमेरिकामा बढी छ । पछिल्लो २४ घण्टामा थप १३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६८ हजार २०३ पुगेको छ ।

स्पेन र इटालीमा पनि कोरोना भाइरसका कारण ज्यान गुमाउने र संक्रमित हुनेको संख्या धेरै रहेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६८३ जनाको मृत्यु भएको छ भने पाँच हजार २१० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै स्पेनमा थप ६५६ जनाको मृत्यु भएको छ भने सात हजार ४५७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

इटालीमा कुल संक्रमितको संख्या ७४ हजार ३८६ तथा मृत्यु हुनेको कुल संख्या सात हजार ५०३ पुगेको छ । यसैगरी स्पेनमा कुल संक्रमितको संख्या ४९ हजार ५१५ तथा मृत्यु हुनेको संख्या तीन हजार ६४७ पुगेको छ ।

विश्वभर अहिलेसम्म चार लाख ७१ हजार ६० जनामा संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या २१ हजार २८३ पुगेको छ । यस्तै एक लाख १४ हजार २१८ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा कुल तीनजनामा संक्रमण पुष्टि भएकोमा दुईजना अहिले टेकू अस्पतालको आइसोलेसनमा छन् । एकजना भने यसअघि नै निको भएर घर फर्किएका छन् ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू