कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द

परासी – पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।

मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको अवस्थामा पाइएको हो । गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिए । बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उनले बताए ।

“कोरोनाका बिरामी आउने डरले उहाँहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौँ, यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन्, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौँ”, अधिकृत केसीले भने ।

सरोज मेडिकलका सञ्चालक चिकित्सक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताए। “कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौँ, त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु”, उनले भने ।

यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताए ।

प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उनले पनि औषधि पसल सञ्चालन गरेको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए ।

अनुगमन टोलीले जिल्लाको परासी, भूमही, बासा, भूताहा, बर्दघाट, जिमिरेभार, गोपीगञ्ज, सूर्यपुरा, भुजहवा, महेशपुर, बेलाशपुर, उज्जैनीलगायतमा सञ्चालित ग्यास डिलर, खाद्यान्नलगायतका अतिआवश्यक वस्तु बिक्री गरिरहेका पसलमा कालोबजारी र कृत्रिम अभाव भए÷नभएको अनुगमन गरेको थियो । ग्यासको अभाव नदेखिएको तर केही किराना पसलमा कालोबजारी भएको पाइएपछि सचेत गराइएको भुसालले बताए ।

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित मिठाइ पसल, चिया पसल तथा चोकचौराहामा भीडभाड गरी बसेकालाई पनि सम्झाइबुझाइ भीडभाड नगर्न, मास्क प्रयोग गर्न, सरसफाइमा जोड दिन आग्रह गरेको थियो ।

लकडाउन उल्लङघन गर्ने ११ नियन्त्रणमा, छ क्वारेन्टाइनमा

पश्चिम नवलपरासीमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट, सुनवल, बासालगायत जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गरी सवारी चलाएको पाइएपछि मोटरसाइकलसहित उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सरकारले घोषणा गरेको लकडाउन सफल पार्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बुधबार दोस्रो दिन निषेधाज्ञा अवज्ञा गरी प्रहरीलाई अवरोध पु¥याउन खोजेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनीहरुलाई सम्झाएर छाडिने उनले जानकारी दिए । लकडाउनको पहिलो दिन मङ्गलबार पनि जिल्लाका विभिन्न स्थानबाट २२ मोटरसाइकल, एक ट्रक र दुई टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मङ्गलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको हो । दोस्रो दिन बुधबार पश्चिम नवलपरासी सुनसान बनेको छ ।

यसैबीच भारतबाट लुकिछिपी नेपाल आएका तीन जनालाई बुधबार नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको तोनवानाकाबाट पैदल आउँदै गरेको अवस्थामा पश्चिम नवलपरासीको सुनवल, पाल्पा र चितवनका गरी तीन जनालाई सुनवलस्थित जर्गाहा क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

उनीहरु भारतको मुम्बइमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।

यसैगरी विभिन्न तेस्रो मुलुकबाट आएका अन्य तीन जनालाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ । तेस्रो मुलुकबाट आउने व्यक्तिको खोजी गर्दै उनीहरुको स्वास्थ्य अवस्थाअनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो, रुघाखोकी लागेमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको आचार्यले बताए ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्