तीन तहका सरकारबीच समन्वय अभाव

सिमकोट – जिल्लामा स्थापना भएका तीन तहका सरकारका संरचनाबिच समन्वयको अभाव देखिएको छ । विकासमा मिलेर समन्वय गरि अगाडी बढ्नु भन्दा त भन्दा को भन्दा को कम भन्ने भावनाबाट अभिप्रेरित हुँदा विकासे कामहरु प्रभावित बनेका छन् ।

प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले कुनै पनि काम गर्न समन्वयको आवश्यकता पर्ने तर हुम्लामा समन्वय अभाव रहेको बताइन् ।
आफूले भ्याएसम्म तीनै तहबिच समन्वय गर्ने गरि काम गरि रहेको बताउदै उनले सोचे अनुसार समन्वय नभएको गुनासो गरिन् ।

संघीय, प्रदेश र स्थानीय सरकारद्वारा सञ्चालन हुने विकासे गतिविधिहरुको अख्तियारमा उजुरी परेपछि मात्रै आफूलाई जानकारी हुने गरेको उनको भनाई छ ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले प्रदेश सरकारबाट जिल्लामा आएका योजनाहरु मनोगत रुपमा अगाडि बढेको बताउँदै कार्यान्वयन गर्नु पर्नेे स्थानीय तहलाई समन्वय तथा जानकारी गराउनु आवश्यक पर्ने वा नपर्ने कुराको हेक्का राख्नु आग्रह गरे ।

उनले प्रदेश सरकारले गाउँपालिकाबाट खाली अहिले सिफारिस लिने काम भन्दा अन्य कुनै कामको समन्वय नगरेको बताए ।

संविधानको मर्म र भावना अनुसार प्रदेश सरकार चल्न नसकेको आरोप उनको थियो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलका अनुसार संघीय सरकारले आफूले उपलब्ध गराउनु पर्ने बजेट र कार्यक्रम नियमित उपलब्ध गराउने गरेको भएपनि प्रदेश सरकारले भने केही लागत साझेदारी गर्ने कार्यक्रम बाहेक अन्य कुनै पनि समन्वय गर्न आवश्यक नठानेको बताए ।

अदानचुली गाउँपालिकाका अध्यक्ष दल बहादुर फडेराले प्रदेश सरकारले आफ्ना संरचनाहरु जिल्ला जिल्लामा स्थापना गर्ने कार्यले स्थानीय तह प्रति प्रदेश सरकारका विश्वास नभएको प्रमाणित गरेको बताए ।

संघीयता कार्यान्वयनका प्रारम्भिक चरणमा भएकोले पनि समन्वयको कमी भएको हुन सक्ने बताउदै उनले यसलाई सुधार गर्नु आवश्यक रहेको बताए ।

डिभिजन वन कार्यालयका प्रमुख निजर कुमार झाले गाउँपालिकासँग समन्वय हुन नसकेको स्वीकार गर्दै नीति नबनेको कारणले पनि समन्वय गर्न कठिन भएको बताए ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्