नियमित डायलासिस गर्नु पर्ने बिरामीलाई लकडाउनले समस्या

दाङ – लकडाउनका कारण मिर्गौलाको नियमित डायलासिस गर्नुपर्ने बिरामी एम्बुलेन्स रिजर्भ गरेर अस्पताल पुग्नु पर्ने बाध्यता सिर्जना भएको छ ।

लकडाउनको समयमा मिर्गौलाका बिरामी सार्वजनिक गाडीमा ३० रुपैयाँ भाडा लाग्ने दूरीमा सात सय रुपैयाँ एम्बुलेन्स भाडा तिरेर अस्पताल पुग्ने गरेका छन् ।

‘मोटरसाइकलमा जाउँला भनेको थिएँ । पुलिसले हिजो खोसिदिए । पैसा नभएको बेलामा ऋण काढेर एम्बुलेन्स भाडा जुटाएँ ।’ दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ निवासी दिलमाया पुनले भनिन्, ‘हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ ।’

लमहीमा सामुदायिक डायलासिस सेन्टर छ । यहाँ डायलासिस गर्न बिरामीलाई पुग्न अहिले गाह्रो भएको छ।

‘घोराहीबाट २४ किलोमिटर दूरी पार गरेर लमही आएँ । मोटरसाइकलमा आउँदा प्रहरीले रोके । डायलासिस गर्न जान थालेको भनेपछि छाडिदिए ।’ गोपीलाल चौधरीले भने, ‘कोरोना भाइरसको संक्रमणबाट बच्न हरेक व्यक्तिले सावधानी अपनाउनु पर्छ । तर हामीलाई बाध्यता छ निस्कनु पर्ने ।’

लकडाउनले गर्दा डायलासिस गर्ने बिरामीको संख्या घटेको छैन । ‘जसरी–तसरी बिरामी आउनु भएको छ ।’ सामुदायिक डायलासिस सेन्टर लमहीका डाक्टर गणेश चापागाईले भने, ‘डायलासिस बाहेक अरु सेवा दिएका छैनौँ । डायलासिस गर्न आउने बिरामीको संख्या घटेको भने छैन ।’

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्