प्रदेश १ मा १० जना आइसोलेसनमा, स्वाब परीक्षणका लागि नमूना काठमाडौँ पठाइयो

विराटनगर – प्रदेश १ मा हालसम्म कोरोना भाइरस संक्रमणको शंकामा १० जनालाई आइसोलेसन वार्डमा राखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ।

मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रदेश १ का फोकलपर्सन डा. सुरेश मेहताले विराटनरको कोशी अस्पतालमा दुईजना, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७ जना र मेचीनगर अस्पतालमा एकजना राखिएको बताए।

त्यसैगरी, शंकास्पद मानिएका मानिसको स्वाब परीक्षणका लागि नमूना काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदै आएको उनले बताए। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहीदिनमै परीक्षण कार्य सुरु हुने जानकारी दिएका डा. मेहताले अस्पतालमा परीक्षणका लागि आवश्यक सरसामान, औषधि, तथा मेसिन जोडिएको बताए।

उनले भने, ‘लकडाउन भएदेखि संकलित स्वाब परीक्षणका लागि एम्बुलेन्सबाट काठमाडौँ पठाउँदै आएकाछौँ। तर बिहीबार नमूना परीक्षण सुरु गर्ने र संभवत शुक्रबारदेखि स्वाब परीक्षण सुचारु गरिनेछ।’

त्यसैगरि, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म २० जना शंकास्पदको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौँ पठाएको जनाएको छ। वीपीका सहप्रवक्ता डा. अशोक ऐरका अनुसार यहाँबाट १६ जना र अन्यस्थानबाट चारजनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको हो। यहिँ स्वाब परीक्षणको व्यवस्था गर्नका लागि काठमाडौँबाट केही सामग्री आउन बाँकी रहेको बताएका ऐरले भने, ‘त्यसका लागि इटहरीस्थित नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्न सकिनेबारे छलफल गर्दै छौँ ।’

वीपी अस्पतालमा हालसम्म ७ जना शंकास्पदलाई आइसोलेसनमा राखिएको छ। त्यसैगरि, वीपीकै अनुमतिमा ५ जनालाई शंकास्पदलाई होम क्वारेन्टाइन र दुईजनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ।

लकडाउनसँगै हवाई सेवा ठप्प हुदाँ स्वाब परीक्षणका लागि काठमाडौँ पठाउन एम्बुलेन्स प्रयोग गरिएको छ।

विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाका अनुसार लकडाउन भएयता विमानस्थल खुला भएपनि, अहिलेसम्म मेडिकल फ्लाइट, रेस्क्यु फ्लाइट चलेको छैन । तर अत्यावश्यक उडानका लागि विमानस्थल तयार अवस्थामा रहेको उनले बताए ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू