तेजश्रीले देखाएको प्रकाश

तेजश्री थापा

प्रिय छोरी तेजश्रीले यस संसारबाट बिदा लिएको एक वर्ष पूरा भएको छ। यो घडीमा हामी, नातिनी माया र सम्पूर्ण परिवारका तर्फबाट तेजश्रीप्रति दर्शाउनुभएको अपार स्नेह र श्रद्धाका लागि सबैमा आभार व्यक्त गर्दछौँ।

विश्वकै सर्वाधिक अशक्तहरुका न्यायको वकालत गर्ने एक निर्भीक मानवअधिकार वकिल थिइन् तेजश्री थापा। प्रतिभाशाली सोच र मर्मस्पर्शी हृदयकी धनी तेजश्री थापालाई सहकर्मी र परिवार त्यसरी नै सम्झिन्छन्।

उनले युद्धग्रस्त बाल्कान क्षेत्र र दक्षिण एशियामा भएका आम बलात्कारका घटनालाई उदांगो पार्दै तिनलाई मानवता विरूद्धको अपराध अन्तर्गत कार्वाही चलाउन कानुनी आधार तयार गर्ने कार्य गर्थिन्।

युद्धबाट आक्रान्त वालकान्स र दक्षिण एसियामा आम बलात्कारका घटनालाई बाहिर ल्याउन, ती घटनालाई मानवताविरुद्धको अपराधका रुपमा मुद्दा चलाउन कानूनी बहसका आधार निर्माण गर्नमा उनले महत्वपूर्ण योगदान दिइन्।

‘वालकान्स का जल्लाद’ का रुपमा चिनिएका पूर्व युगोस्लाभियाका र पछि सर्बियाका राष्ट्रपति स्लोवोडान मिलोसेभिचविरुद्ध मुद्दा चलाउने क्रममा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। मानवीयता विरुद्ध नरसंहारको अपराधसँगै अन्य अत्याचारका लागि स्लोवोडानविरुद्ध चलाइएको मुद्दामा तेजश्रीको अहम्‌ योगदान थियो।

तेजश्रीका कामहरु वालकान्स, बंगलादेश, श्रीलंका र नेपालका संकट र द्वन्द्वग्रस्त मुद्धामा संलग्न थिए। अगस्ट २०१७ मा तेजश्री बंगलादेश–म्यानमार सीमातर्फ लागिन्। रोहिंग्या मुसलमानहरुको जातीय सफायामा म्यानमार सेनाको अभियानलाई लिपिवद्ध गर्ने पहिलो मानवअधिकार अनुसन्धानकर्तामध्ये थिइन् तेजश्री।

तेजश्री नेपालमा मानवअधिकार उल्लंघनका मामिलालाई लिपिवद्ध गर्ने अभियानमा पनि संलग्न थिइन्। उनी द्वन्द्वोत्तर संक्रमणकालीन न्याय प्रक्रियालाई नजिकबाटै नियालिरहेकी थिइन्। नेपालमा मौलिक अधिकार तथा स्वतन्त्रता र सामाजिक अधिकारको पक्षधर राष्ट्रका रुपमा दक्षिण एसियामा अनुकरणीय बनोस् भन्ने उनको तीब्र चाहना थियो। अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको सर्वोच्च अदालतको निर्णय अनुरुप संक्रमणकालीन न्याय प्रक्रिया छिट्टै टुंगियोस् भन्ने उनको चाहना अझै अधुरो छ ।

लिपिवद्ध त्यस्ता दस्तावेज बाहिर आएपछि सर्बपक्षीय असफलता सार्वजनिक भएको थियो, जसका कारण संयुक्त राष्ट्रसंघले आन्तरिक छानबिन कार्य गर्‍यो।  त्यसैको प्रतिवेदनका आधारमा राष्ट्रसंघका महासचिवले ‘ह्युमन राइट्स अपफ्रन्ट’ अभियानको थालनी गरे, नरसंहार रोक्न मानव अधिकार उल्लंघनका मुद्दामा तत्काल जवाफदेहीताको महत्वमाथि प्रकाश पार्दै।

नेपालकी यी अद्वितीय छोरीका असल कार्यहरुले मुलुकभित्र मात्रै हैन, टाढा-टाढा पनि धेरैको जीवनमा परिवर्तन ल्याएको छ। हाम्री छोरीको न्यायको सपना पूरा गर्न भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले निम्न कार्यहरूको थालनीको जानकारी गराउछौँ।

प्रतिष्ठानले परम्परागत रुपमा पछि परेका नेपाली समुदायका विद्यार्थीहरुलाई ‘तेजश्री मानव अधिकार’ छात्रवृत्ति प्रदान गर्ने छ। कानुनमा स्नातक तहको अध्ययनका लागि छानिएका एक जना ‘नेपाल ल क्याम्पस’ र अर्काे ‘नेसनल ल कलेज’ (काठमाडौँ)लाई सम्पूर्ण ‘ट्यूसन फी’ उक्त छात्रवृत्ति अन्तर्गत व्यहोरिने छ।

प्रतिष्ठानले विद्यालयहरुमा लैंगिक हिंसा रोकथाम तथा यौनजन्य दुर्ब्यबहार विरुद्ध ‘तेजश्री प्रयास’ नामक अभियान (एड्भोकेसी) थालनी गर्ने छ।

यसका अतिरिक्त, तेजश्रीका साथीहरुद्वारा हामीलाई पठाइएको रकम ‘अर्ली चाइल्डहुड डेभेलपमेन्ट सेन्टर’ काठमाडौँमा पठाइनुका साथै कारागारस्थित पुस्तकालयहरुमा पुस्तक उपहार र कारागारमा भएका आमाहरुका बालबालिकाका लागि दुईवटा ‘वटरफ्लाई नर्सरी कीटहरु’ उपहार गरिने छ।

तेजश्रीले देखाएको प्रकाश हामीभित्र प्रेरणा स्वरूप निरन्तर रहिरहन्छ। अशक्तहरुको न्यायका लागि उनको गहिरो चाहनालाई सधैं सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ।

हाम्रा समस्त सहरथीहरुसँग तेजश्रीलाई सदाझैं आफ्नो हृदयमा निरन्तर स्थान दिन आग्रह गदै उनीप्रति दर्शाउनुभएको सद्भाव र मायाका लागि अविरल आभार व्यक्त गर्दैछौँ।

-डा. भेषबहादुर थापा
-डा. रीता थापा

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्